+
+
Shares

बाँझो जमिनमा फूल खेतीले दिएको खुसी

गाउँमा प्रशस्त बाँझो जग्गा र कृषि सम्भावना रहेकाले विदेश जानुभन्दा स्वदेशमै मेहनत गर्न सके आत्मनिर्भर बन्न सकिने महत्राको विश्वास छ ।

रासस रासस
२०८३ कात्तिक २२ गते २०:२७

२२ कात्तिक, गुल्मी । बढ्दो बसाइँसराइका कारण पछिल्लो समयमा गाउँघरमा खेतबारी बाँझिँदै गएका छन् । रोजगारी र अवसरको खोजीमा युवा पुस्ता विदेशिने क्रम बढ्दो छ ।

तर, छत्रकोट गाउँपालिका–२ ग्वाघाकी ५२ वर्षीया लक्ष्मी महत्राले भने अरूले छाडेका बाँझो जग्गामा व्यावसायीक रुपमा फूलखेती गरेर आम्दानी हुँदा खुसी छन् ।

महत्राले विगत पाँच वर्षदेखि बाँझो जग्गामा व्यावसायिक रुपमा सयपत्री फूल खेती गरेर पर्याप्त आम्दानी लिन थालेकी हुन् । गाउँमा बसाइँसराइका कारण प्रयोगविहीन बनेका जग्गालाई सदुपयोग गर्ने उद्देश्यले उनले स्थानीयको सहमतिमा पाँच हजार रुपैयाँमा तीन रोपनी जग्गा भाडामा लिएर हाइब्रिड जातको सयपत्री फूल खेती गरिरहेकी छन् ।

भारतको गोरखपुरबाट ८० हजार रुपैयाँको बीउ ल्याएर सुरु गरेको उनको व्यवसाय अहिले आम्दानीसँगै गाउँमा कृषि उद्यमको गतिलो उदाहरणसमेत बनेको छ ।

महत्राले उत्पादन गरेका फूलको बजार व्यवस्थापनमा कुनै समस्या छैन । स्थानीय बलेटक्सारस्थित पैंचो पसलले उनले उत्पादन गरेका सबै फूल खरिद गर्दै आएको छ । पैंचो पसलले उनले उत्पादन गरेको फूल थोकमा प्रतिकिलो २२० रुपैयाँका दरले १५ क्वीन्टल फूल खरिद गरेर लगिसेको छ ।

महत्राले थोकमा प्रतिकिलो २२० रुपैयाँ र खुद्रामा २५० रुपैयाँका दरले फूल बिक्री गर्दै आएकी छन् । गत वर्ष मात्रै उनल तीन लाख ५० हजार रुपैयाँको फूल बिक्री गरेकी थिइन् । यस वर्ष उत्पादन राम्रो भएकाले आम्दानीसमेत थप बढ्ने महत्राको भनाइ छ ।

सयपत्री फूलको खेती सुरु गरेको करिब ९० दिनमा उत्पादन लिन सकिने महत्रा बताउँछिन् ।

एक महिना जति मल्चिङ गरेर राख्ने र त्यसपछि ब्याडमा बिरुवा तयार गरेपछि रोप्ने गरिन्छ । बिरुवालाई आवश्यक मल, पानी र नियमित स्याहार गर्न सके पर्याप्त उत्पादन लिन सकिने उनी बताउँछिन् ।

अन्य कृषि उपजको तुलनामा फूल खेतीमा कम जोखिम र मनग्य आम्दानी हुने महत्राको अनुभव छ । बाँदरले पनि हानीनोक्सानी नगर्ने र चाँडै कुहिएर खेर नजाने भएका कारण फूल खेतीप्रति आकर्षण बढेको उनले बताइन् ।

फूलमा डढेलो लाग्ने, मुन्टा मर्ने तथा किरा र पुतलीको प्रकोप देखिने समस्या भए पनि समयमै मलजल, भिटामिन र आवश्यक औषधि प्रयोग गरेर नियन्त्रण गर्न सकिने महत्राको भनाइ छ ।

महत्राको बारीमा ढकमक्क फुलेका सयपत्री फूलले उत्पादन र आम्दानी मात्रै बढाएका छैनन्, गाउँको आकर्षणसमेत बढाएका छन् । फूलबारीमा तस्बिर खिच्न र टिकटक बनाउन आउनेको समेत घुइँचो लाग्ने गरेको छ ।

महत्राको व्यवसायमा उनको परिवारजनको पनि साथ रहेको छ । उनको व्यवसायलाई श्रीमान र छोराबुहारीले पनि सघाउँदै आएका छन् ।

गाउँमा प्रशस्त बाँझो जग्गा र कृषि सम्भावना रहेकाले विदेश जानुभन्दा स्वदेशमै मेहनत गर्न सके आत्मनिर्भर बन्न सकिने महत्राको विश्वास छ । मनमा इच्छाशक्ति, परिश्रम र उद्यमशीलता भए गाउँमै बसेर मनग्य आम्दानी गर्न सकिने उनले बताइन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?