News Summary
Generated by OK AI. Editorially reviewed.- काभ्रेपलाञ्चोक कटुञ्जेका सागर धितालले अभावबीच अध्ययन गर्दै जर्मनीको म्युनिखस्थित एलएमयू अस्पतालमा आकस्मिक चिकित्सकका रूपमा काम गरिरहेका छन्।
- सागरले नेपालमा अध्ययन र धुलिखेल अस्पतालको कामपछि जर्मनी गएर ८ हजार यूरो जुटाई चिकित्सा अध्ययन पूरा गरे।
- उनी बिरामीको उपचारसँगै अध्यापन, अनुसन्धान र युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीलाई जोड्ने काममा पनि संलग्न छन्।
बार्सिलोना। काभ्रेपलाञ्चोक कटुञ्जेका सागर धिताल (३९) को बाल्यकाल अभावै अभावमा बित्यो। गाउँमा बिजुली र सडक थिएनन्। विद्यालय पुग्न घण्टौँ हिँड्नुपर्थ्यो। साँझ टुकीको उज्यालोमा पढ्नुपर्ने बाध्यता थियो।
परिवारको आर्थिक अवस्था कमजोर भएकाले कापी-कलम किन्नसमेत आमाले घरमा पालेका कुखुराका अण्डा बेच्नुपर्थ्यो। कहिलेकाहीँ बेच्न लैजाँदै गरेका अण्डा बाटोमै फुट्थे।
त्यही परिवेशमा हुर्किएका सागरले पढाइलाई निरन्तरता दिए। छात्रवृत्तिको सहारामा उच्च शिक्षा हासिल गरे। नेपालमा अध्ययन र अस्पतालमा काम गरेपछि चिकित्सक बन्ने लक्ष्यसहित उनी जर्मनी पुगे। त्यहाँको भाषा सिके, खर्च जुटाउन काम गरे र अन्ततः चिकित्सा अध्ययन पूरा गरे।
डा. सागर अहिले जर्मनीको म्युनिखस्थित लुडविग म्याक्सिमिलियन्स विश्वविद्यालय (एलएमयू) अस्पतालको आकस्मिक चिकित्सा विभागमा कार्यरत छन्। बिरामीको उपचारसँगै उनी चिकित्सा विद्यार्थीलाई पढाउँछन् र अनुसन्धानमा पनि संलग्न छन्।
करिब २ हजार ५०० शय्या, झन्डै २ हजार चिकित्सक र १२ हजार कर्मचारी रहेको यस अस्पतालमा आफू सम्भवतः एक्लो नेपाली चिकित्सक भएको सागर बताउँछन्।
अभावबीच हुर्किएको पढ्ने सपना
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-७, कटुञ्जेमा जन्मिएका सागरको परिवार खेतीपातीमा निर्भर थियो। घरको आम्दानी सीमित थियो। परिवारका सात सन्तानमध्ये पहिलो तीन सन्तान सानैमा बितेपछि उनकी आमाले सन्तान गुमाउनुको पीडा भोग्नुपर्यो। त्यसमाथि समाजमा व्याप्त अन्धविश्वासका कारण उनले बोक्सीको आरोपसमेत खेप्नुपर्यो। केही मानिसले गाउँबाटै निकाल्ने प्रयाससमेत गरे।
‘आमाले सन्तान गुमाउनुपरेको पीडा मात्र होइन, समाजको अन्याय पनि सहनुभयो,’ सागर सम्झिन्छन्।
घरको आर्थिक अवस्था कमजोर भएकाले पढाइका लागि चाहिने कापी र कलम किन्नसमेत पैसा हुँदैनथ्यो। त्यस्तो बेला आमाले घरका कुखुराले पारेका अण्डा दिन्थिन्। सागर ती अण्डा बेचेर कापी-कलम किन्थे। कहिलेकाहीँ त बेच्न लैजाँदै गरेका अण्डा बाटोमै फुट्थे। अनि, त्यस दिन कापी-कलम किन्ने आशा बाटोमै टुट्थ्यो।
आमाले अण्डाको पहेँलो भाग देखाउँदै छोरालाई सम्झाउने गर्थिन्, ‘बाबु, राम्रोसँग पढ्यौ भने तिम्रो भविष्य पनि यो अण्डाको पहेँलो भाग जस्तै सुन्दर र उज्यालो हुनेछ।’

आज फर्केर हेर्दा आमाले अण्डासँगै भविष्यप्रतिको विश्वास पनि दिएको सागरलाई लाग्छ। आर्थिक अभावबीच छोराको पढाइका लागि गरिएको आमाको त्यो प्रयास उनको बाल्यकालको अविस्मरणीय सम्झनामध्ये एक हो।
सागरका बुवा विष्णुबहादुर धिताल किसान हुन्। परिवार पाल्न जीवनभर भारी बोकेर श्रम गरेका विष्णुको ढाड बाङ्गिएको छ। उनी गाउँमा धामीझाँक्रीको काम पनि गर्छन् र अहिले पनि त्यसलाई निरन्तरता दिइरहेका छन्। गाउँका बिरामी र दुःखी मानिसलाई सहयोग गर्ने बुबाको स्वभावले सागरलाई सानैदेखि प्रभाव पारेको थियो।
‘आज म आधुनिक चिकित्सा विज्ञानको अभ्यास गर्छु। तर मानिसको सेवा गर्नुपर्छ भन्ने पहिलो प्रेरणा मैले आफ्नै बुवाबाट पाएको हुँ,’ उनी भन्छन्।
सागरलाई परिवारका लागि बुवाले गरेको संघर्ष याद आउँछ। ‘बुबाले जीवनभर भारी बोकेर आफ्नो ढाड बाङ्गो बनाउनुभयो, ताकि हामी छोराछोरीले जीवनमा शीर ठाडो पारेर अगाडि बढ्न सकौँ,’ उनी भन्छन्।
कटुञ्जेबाट पनौतीसम्म
गाउँमै बसेर पढाइलाई अघि बढाउन सहज थिएन। थप अध्ययनको अवसर दिन उनका काका पर्ने भरत रावलले सागरलाई कटुञ्जेबाट पनौतीको सुन्थान ल्याए। भरतकी पत्नी सङ्गीताले पनि उनलाई आफ्नै छोरासरह माया गरिन् र पढाइमा साथ दिइन्।
घरबाट टाढा बसेर नयाँ ठाउँमा पढ्न थालेका सागरका लागि यो जीवनको अर्को मोड थियो। परिवारको आर्थिक अवस्था कमजोर भए पनि उनले पढाइलाई प्राथमिकता दिए। मिहिनेतकै बलमा एसएलसीमा पनौतीका ९ वटा सरकारी विद्यालयमध्ये उत्कृष्ट नतिजा हासिल गरे।
त्यसपछि काठमाडौं विश्वविद्यालयमा विज्ञान विषय पढ्न नगरपालिकाबाट छात्रवृत्ति पाए। उच्च शिक्षाको ढोका खुले पनि चुनौती सकिएका थिएनन्। अंग्रेजी माध्यममा पढ्न सुरुमा गाह्रो भयो। खर्चको अभावले दैनिक जीवन चलाउनसमेत कठिन हुन्थ्यो। कहिलेकाहीँ खाजा खाने पैसासमेत हुँदैनथ्यो।
आर्थिक अभाव र भाषाको कठिनाइका बीच उनले विज्ञान विषयको अध्ययन अघि बढाए। कटुञ्जेबाट पनौती आएर सुरु भएको उनको शैक्षिक यात्रा अब उच्च शिक्षातर्फ अघि बढिरहेको थियो।
छात्रवृत्तिका लागि गरेको संघर्ष
काठमाडौं विश्वविद्यालयमा बीएस्सी पढ्दै गर्दा सागरलाई आर्थिक अभावले निरन्तर पछ्याइरह्यो। पढाइ अघि बढाउन छात्रवृत्ति आवश्यक थियो, तर त्यसका लागि कहाँ जाने र कसलाई भेट्ने भन्नेबारे मार्गदर्शन गर्ने कोही थिएन।
उनी आफैँ विश्वविद्यालयका डिन तथा सम्बन्धित अधिकारीका कार्यालय धाउँथे। छात्रवृत्तिका लागि आफ्नो अवस्था बताउँथे र सहयोगको सम्भावना खोज्थे। यस क्रममा उनले अपमानजनक व्यवहारसमेत सहनुपर्यो। तर प्रयास गर्न छाडेनन्।
अन्ततः सागरले चार वर्षका लागि छात्रवृत्ति पाए। आर्थिक अभावका कारण पढाइ बीचमै रोकिने हो कि भन्ने चिन्तामा रहेका उनका लागि यो ठूलो राहत थियो। छात्रवृत्तिले उच्च शिक्षा पूरा गर्ने बाटो खुल्यो।

धुलिखेल अस्पतालमा बदलिएको लक्ष्य
बीएस्सी पूरा गरेपछि सागरले धुलिखेल अस्पतालमा करिब ३० महिना काम गरे। त्यहाँ नर्सिङका विद्यार्थीलाई एनाटोमी र फिजियोलोजी पढाउँथे। यस क्रममा विदेशबाट आउने चिकित्सक तथा विद्यार्थीसँग भेटघाट गर्ने र उनीहरूबाट नयाँ ज्ञान तथा अनुभव हासिल गर्ने अवसर पनि पाए।
धुलिखेल अस्पतालमा काम गर्दा अस्पतालका संस्थापक डा. रामकण्ठ माकजुसँग उनको निकटता बढ्यो। डा. माकाजुको काम गर्ने शैली, नेतृत्व र दृष्टिकोणबाट सागर प्रभावित भए। सीमित आर्थिक अवस्था र ग्रामीण परिवेशबाट आएका उनलाई आफ्नो क्षमताअनुसार अझै अघि बढ्न सकिन्छ भन्ने विश्वास दिलाउन डा. माकाजुको प्रेरणाले भूमिका खेल्यो।
‘डा. माकाजुले मलाई ठूलो सपना देख्न मात्र होइन, त्यो सपना पूरा गर्न सकिन्छ भन्ने विश्वास र साहस पनि दिनुभयो,’ डा. सागर सम्झिन्छन्, ‘उहाँ मेरो जीवनमा भगवान जस्तै प्रकट हुनुभयो। उहाँको प्रेरणा र मार्गदर्शन नभएको भए म आज यो स्थानसम्म आइपुग्ने थिइनँ।’
उपचारका लागि धुलिखेल अस्पताल पुग्ने कटुञ्जेका बिरामीहरू उनलाई चिकित्सक ठान्थे। उनीहरूलाई आफ्नो परिचय दिँदा आफू चिकित्सक नभई नर्सिङका विद्यार्थीलाई पढाउने व्यक्ति भएको बताउनुपर्थ्यो।
गाउँलेहरूले आफूलाई चिकित्सक ठानेको त्यही अनुभवले उनको मनमा एउटा प्रश्न उठाउँथ्यो, ‘म किन साँच्चिकै डाक्टर बन्न सक्दिनँ?,’ उनी सम्झिन्छन्।
त्यसपछि चिकित्सा अध्ययन गर्ने सागरको चाहना झन् बलियो हुँदै गयो। तर नेपालमा चिकित्सा शिक्षा हासिल गर्न आवश्यक खर्च जुटाउनु पारिवारिक अवस्थाका कारण सहज थिएन। त्यसैले उनले विदेशमा चिकित्सा अध्ययन गर्ने सम्भावना खोज्न थाले।
जर्मनीमा पढ्ने बाटो रोजेपछि त्यसका लागि आवश्यक भाषा सिक्नु पहिलो चुनौती थियो। धुलिखेल अस्पतालमा काम गर्दै उनले करिब ८ महिनासम्म काठमाडौं आउजाउ गरेर जर्मन भाषा पढे।
८ हजार यूरो जुटाएर जर्मनी
सन् २०१३ को सेप्टेम्बरमा सागर जर्मनी पुगे। चिकित्सा अध्ययन गर्ने लक्ष्य बोकेर निस्किएका उनका लागि विदेश यात्रा खर्च जुटाउनु नै पहिलो ठूलो चुनौती थियो।
धुलिखेल अस्पतालमा काम गरेर उनले करिब दुई हजार यूरो बचाएका थिए। परिवारको सहयोगमा बैंकबाट ४ हजार यूरो ऋण लिइयो। बाँकी २ हजार यूरो उनका बुबा र हजुरबुबाले गाउँका मानिसहरूबाट जुटाए। यसरी जर्मनी जाने तयारीका लागि करिब ८ हजार युरो व्यवस्था भयो।
जर्मनी पुगेपछि पढाइ र काम दुवैलाई अघि बढाउनुपर्ने थियो। उनले जर्मन भाषा सिक्न थाले र करिब ४ महिनामै सी-वान तह पूरा गरे। चिकित्सा अध्ययनका लागि आवश्यक भाषा दक्षता हासिल गर्न उनले ठूलो मिहिनेत गरे।
पढाइको तयारीसँगै जीवन चलाउन पनि काम गर्नुपर्थ्यो। उनले रेस्टुरेन्ट, म्याकडोनाल्ड्स र रङ्गशालामा काम गरे। कामबाट आएको आम्दानीले दैनिक खर्च धान्न र जर्मनी आउनका लागि लिएको ऋण तिर्न सघायो।
जर्मनी पुगेको पहिलो वर्षमै डा. सागरले करिब ८ हजार यूरो ऋण चुक्ता गरे। त्यसपछि चिकित्सा अध्ययनमा ध्यान केन्द्रित गर्ने बाटो केही सहज भयो। परिवार र गाउँलेले जुटाइदिएको रकम तिर्ने जिम्मेवारी पूरा गर्दै आफ्नो लक्ष्यतर्फ अघि बढे।
म्युनिखमा चिकित्सा अध्ययन
सन् २०१४ को अक्टोबरमा सागरले म्युनिखस्थित लुडविग म्याक्सिमिलियन्स विश्वविद्यालय (एलएमयू) मा चिकित्सा अध्ययन सुरु गरे। जर्मनी पुगेर चिकित्सक बन्ने लक्ष्य राखेका उनका लागि विश्वविद्यालयमा भर्ना हुनु लामो प्रयासपछिको महत्त्वपूर्ण उपलब्धि थियो।

पढाइका क्रममा पनि उनले छात्रवृत्तिको सहारा लिनुपर्यो। पहिलो दुई वर्ष डोइचल्यान्डस्टिपेन्डियम छात्रवृत्ति पाए। त्यसपछि फ्रेडरिक एबर्ट फाउन्डेसनको छात्रवृत्तिले अध्ययनलाई निरन्तरता दिन सहयोग गर्यो।
सागरले करिब ६ वर्ष ३ महिनामा चिकित्सा अध्ययन पूरा गरे। सन् २०२० को नोभेम्बरमा अध्ययन सकिँदासम्म उनले कुनै पनि परीक्षा दोहोर्याएर दिनुपरेन।
चिकित्सा अध्ययनकै क्रममा सन् २०१७ देखि उनी अनुसन्धानमा पनि संलग्न हुन थालेका थिए। उपचारसम्बन्धी ज्ञानसँगै अनुसन्धानमा रुचि बढाउँदै लगेका सागरले सन् २०२२ मा ‘डा. मेड.’ उपाधि प्राप्त गरे।
उपचारसँगै अध्यापन र अनुसन्धान
सन् २०२१ को मेदेखि डा. सागर म्युनिखस्थित एलएमयू अस्पतालमा कार्यरत छन्। आकस्मिक चिकित्सा विभागमा काम गर्ने उनी बिरामीको उपचारसँगै चिकित्सा विद्यार्थीलाई पढाउँछन् र अनुसन्धानमा पनि संलग्न छन्।
आकस्मिक विभागमा आउने बिरामीको अवस्था बुझेर तत्काल उपचारको निर्णय लिनुपर्ने हुन्छ। त्यहाँ काम गर्दा चिकित्सकीय ज्ञानसँगै व्यावहारिक अनुभव र अन्य स्वास्थ्यकर्मीसँगको सहकार्य पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
उनले आन्तरिक चिकित्सा विषयको विशेषज्ञता तालिम पूरा गरेका छन्। आकस्मिक चिकित्सासम्बन्धी तालिम पनि लिएका छन्। अब उनको योजना म्युनिखमा एम्बुलेन्समार्फत अस्पतालबाहिरै बिरामीलाई आकस्मिक सेवा प्रदान गर्ने क्षेत्रमा काम गर्नेछ।
जीवनका अप्ठ्यारा मोड
डा. सागरको यात्रा उपलब्धिले मात्र भरिएको छैन। सन् २०१५ को विनाशकारी भूकम्पले उनका परिवारका दुवै घर भत्किए। सन् २०१६ मा आमालाई क्यान्सर भएपछि उपचारका लागि भारतको नयाँदिल्ली लैजानुपर्यो। त्यसपछि जेठो दाइको असामयिक निधनले परिवारमा अर्को पीडा थप्यो। पढाइ, काम र पारिवारिक जिम्मेवारी एकैसाथ सम्हाल्नु उनका लागि सहज थिएन।
यस्तो समयमा उनकी जीवनसाथी बिबिना श्रेष्ठको साथ महत्त्वपूर्ण बन्यो। बिबिनाले पनि आफ्नो शिक्षा र व्यावसायिक जीवनका लागि उत्तिकै मिहिनेत गरेकी छिन्। हाल उनी स्विट्जरल्यान्डको स्विस ट्रपिकल एन्ड पब्लिक हेल्थ इन्स्टिच्युट तथा बासेल विश्वविद्यालयसँग सम्बन्धित महामारी विज्ञान विषयमा स्नातकोत्तर अध्ययन गर्दैछिन्।
सागर दम्पतीले छात्रवृत्ति र सार्वजनिक शिक्षाका अवसरको सदुपयोग गर्दै आफ्नो भविष्य निर्माण गरेका छन्।
‘हामीसँग धेरै पैसा थिएन। तर पढ्ने अवसर पायौँ,’ सागर भन्छन्, ‘त्यसैले शिक्षामा समान अवसर उपलब्ध गराउनु कति महत्त्वपूर्ण छ भन्ने कुरा हामीले आफ्नै जीवनबाट बुझेका छौँ।’
विदेशमा अध्ययन र काम गर्दै आएका दुवैको साझा चाहना आफूले सिकेको ज्ञान र अनुभव नेपालको हितमा उपयोग गर्नु हो।

नेपालसँग जोडिइरहेको सम्बन्ध
जर्मनीमा चिकित्सकका रूपमा काम गरिरहेका सागरले नेपालसँगको सम्बन्धलाई पनि निरन्तरता दिएका छन्। विदेशमा सिकेको ज्ञान र अनुभव नेपाली स्वास्थ्य क्षेत्रमा उपयोगी बनाउन सकिन्छ भन्ने सोचका साथ उनी यस क्षेत्रमा हुने सहकार्यमा जोडिएका छन्।
सन् २०२६ मा जर्मन सहयोगसम्बन्धी संस्था जीआईजेडको ‘डायस्पोरा २०३०’ कार्यक्रमअन्तर्गत उनी तीन साताका लागि धुलिखेल अस्पताल पुगे। त्यहाँ आकस्मिक चिकित्सा, पुनर्जीवन प्रक्रिया (रिससिटेसन), अल्ट्रासाउन्ड र गम्भीर अवस्थाका बिरामीको उपचारसम्बन्धी ज्ञान तथा अनुभव आदानप्रदान गरे।
जर्मनीमा काम गर्दा सिकेका कुरा नेपाली स्वास्थ्यकर्मीसँग बाँड्ने अवसर पाएका उनले नेपालका चिकित्सकबाट पनि व्यावहारिक अनुभव सिके।

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीलाई एकअर्कासँग जोड्ने प्रयासमा पनि सागर संलग्न छन्। सन् २०२४ को अगस्टमा स्थापना भएको सोसाइटी अफ नेपालीज हेल्थकेयर प्रोफेसनल्स इन युरोपका उनी सहअध्यक्ष हुन्।
उनका अनुसार, संस्थाले युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीबीच व्यावसायिक सम्बन्ध विस्तार गर्ने, निरन्तर चिकित्सकीय शिक्षाका अवसर बढाउने र वैज्ञानिक जर्नल प्रकाशन गर्ने लक्ष्य राखेको छ। विदेशमा काम गरिरहेका नेपाली स्वास्थ्यकर्मीको ज्ञान र अनुभवलाई संस्थागत रूपमा उपयोग गर्ने प्रयास पनि यसको उद्देश्यमा पर्छ।
डा. सागरले आफ्नो जन्मथलो कटुञ्जेसँगको सम्बन्ध पनि कायम राखेका छन्। गाउँका बालबालिकाको शिक्षामा सहयोग गर्ने, सडक तथा खानेपानीसम्बन्धी पहलमा योगदान दिने र सामूहिक प्रयासबाट स्थानीय विद्यालयलाई कक्षा पाँचसम्म सञ्चालन गर्न सहयोग गर्ने काममा उनी संलग्न छन्। बाल्यकालमा आफैँले भोगेको शैक्षिक कठिनाइले गाउँका बालबालिकाले पढ्ने अवसर पाउनुको महत्त्व उनलाई राम्ररी बुझाएको छ।
कटुञ्जेको अभावपूर्ण बाल्यकालदेखि म्युनिखको अस्पतालसम्म आइपुग्दा सागरको जीवनमा धेरै कुरा बदलिएका छन्। कुनै बेला आमाले अण्डा बेचेर जुटाइदिएको कापी-कलमबाट सुरु भएको उनको पढाइ अहिले बिरामीको उपचार, अध्यापन र अनुसन्धानसम्म पुगेको छ। तर आफ्नो गाउँका बालबालिकाले पढ्ने अवसर पाऊन् र नेपालको स्वास्थ्य क्षेत्रमा पनि आफूले सिकेको ज्ञान उपयोग होस् भन्ने चाहना उनीसँगै छ। म्युनिखमा चिकित्सकका रूपमा काम गरिरहेका डा. सागरका लागि कटुञ्जेसँगको सम्बन्ध अझै उत्तिकै महत्त्वपूर्ण छ।
प्रतिक्रिया 4