+
+
Shares
विचार :

नेपालमा सामाजिक सञ्जाल विकारक हो कि उद्धारक ?

बदलिएको सूचनाको भूगोलमा उठेका सार्वजनिक सवाल

पहिले एजेन्डा निर्धारण गर्ने काम सम्पादक र समाचार कक्षबाट हुने गर्दथ्यो । अब यो प्रक्रिया एल्गोरिदमको अंकगणितबाट पनि प्रभावित हुने गरेको छ । कुन विषय भाइरल हुन्छ भन्ने निर्णय त्यसको सार्वजनिक महत्वले होइन, त्यसले जगाउने क्रोध, हाँसो, आश्चर्य, घृणा, पीडा वा उत्तेजनाले गर्छ ।

डा. देवराज अर्याल डा. देवराज अर्याल
२०८३ मंसिर ८ गते ११:४७

आजको विश्वमा डिजिटल प्लाटफर्महरूको प्रभाव शक्तिशाली हुन्छ भन्ने सैद्धान्तिक तथ्य हामी सबैले बुझेको विषय हो । नेपालको सन्दर्भमा २०८२ साल भदौ २३ र २४ को आन्दोलनले प्रत्यक्ष रूपमा अनुभूति दिलाएको छ– डिजिटल प्लाटफर्मको शक्ति कति निर्णायक हुन सक्दोरहेछ भनेर । तत्कालीन सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि शुरु भएको युवाको आक्रोश केही दिनमै सडकमा पुग्यो र नेपालको राजनीतिक इतिहासमा तत्कालै सत्ता परिवर्तन हुने परिस्थिति निर्माण गर्‍यो ।

यसले एउटा तथ्यलाई बलियो रूपमा स्थापित गरेको छ– सामाजिक सञ्जालहरू अब नेपालको लागि पनि सम्पर्क र मनोरञ्जनको साधन मात्र होइन, राजनीतिक शक्तिको नयाँ खेल मैदान पनि हो । तथापि, त्यही घटनाले अर्को प्रश्न पनि पनि टड्कारो रूपमा उठाएको छ । के स्क्रिनमा देखिने आवाज र मतपेटिकामा प्रकट हुने जनमत सधैँ एउटै हुन्छ ?

बदलियो सूचनाको भूगोल

नेपालमा इन्टरनेट र मोबाइलको विस्तारले विद्यमान सूचनाको भूगोललाई बदलिदिएको छ । नेपालको सन्दर्भमा २०७० को दशकभन्दा अघिसम्म काठमाडौँमा छापिएका दैनिक पत्रिकाहरू तराईका गाउँ र कर्णालीका पहाडी बस्तीमा पुग्न दुई दिनभन्दा बढी लाग्ने गर्दथ्यो । अहिले जुम्ला, पर्सा र ताप्लेजुङका युवाले पनि त्यही बेला उही भिडिओ हेर्न सक्छन्, जुन समयमा काठमाडौँका मानिसहरूले हेरिरहेका हुन्छन् । साउदी अरब, कतार, दुबई, मलेसिया, कोरिया, अस्ट्रेलिया, डेनमार्क, अमेरिकामा रहेका लाखौँ नेपाली फेसबुक र टिकटकजस्ता सामाजिक सञ्जालमार्फत आफ्ना गाउँ–घरको राजनीतिमा सहभागी हुन्छन् । विदेशमा बसेर पनि उनीहरूले आफ्ना जनप्रतिनिधि, दलका नेता, बजेट र वडाको विवादमा टिप्पणी गर्छन् । अनि उम्मेदवारहरूको पक्षमा अभियान चलाउँछन् ।

डिजिटल बहसको शुरुवात र स्वर निर्धारण गर्ने समूह प्राय: अर्ली एडप्टर अर्थात नयाँ प्रविधि आउनासाथ शुरुमै अँगाल्ने पुस्ता हो । जबकि अर्ली मेजोरिटी र लेट मेजोरिटी वर्ग अनलाइन बहसमा प्रवेश गर्दासम्म नियम, भाषा र एजेन्डा तय भइसकेको हुन्छ ।

वास्तवमा विभिन्न भूगोलमा रहेर पनि यसरी सहभागिता जनाउनु लोकतान्त्रिक व्यवस्थाको अभूतपूर्व विस्तार हो । तर, यही तर्कका आधारमा विश्लेषणात्मक प्रश्न उठाउन सकिन्छ । के इन्टरनेटमा सक्रिय जनसंख्या र समग्र नेपाली समाज ठ्याक्कै मिल्दो छ त ? सुदूरपश्चिमका पहाडी जिल्ला र कर्णालीका दुर्गम गाउँमा आज पनि नेटवर्क अस्थिर छ । बिजुली र डिजिटल उपकरणको पहुँच निश्चित रूपमा समान छैन । जेष्ठ नागरिक, निरक्षर, दलित र महिलाको ठूलो हिस्सा अनलाइनको बहसमा आउन सकेका छैनन् । त्यसैले ट्रेन्ड भइरहेको विषयले शहरी क्षेत्रका बासिन्दा, युवा, पुरुष र प्रविधिमा अभ्यस्त वर्गको चासोलाई बढी प्रतिबिम्बित गर्छ । साँचो अर्थमा भन्दा उल्लिखित तथ्य नेपालको सम्पूर्ण सामाजिक मनोविज्ञान भने होइन । तर, बदलिएको सूचनाको भूगोलले सिर्जना गरेको एउटा जटिल सामाजिक दरार हो । त्यसकारण यसलाई गहन तरिकाले  सैद्धान्तिक रूपमा बहसमा ल्याउन आवश्यक छ ।

हाबरमासको अवधारणामा डिजिटल बहस

योर्गेन हाबरमास जर्मन दार्शनिक हुन् । उनले सार्वजनिक क्षेत्रको अवधारणा अघि सारेका थिए। उनले आमजनताले हैसियत र पदलाई एकछिन किनारा लगाएर साझा सरोकारका मुद्दाहरूमा तर्कसहित खुला रूपमा बहस र विवेचना गर्ने स्थानलाई लोकतन्त्रको आधार मानेका थिए । नेपाली समाजमा यसको मिल्दोजुल्दो दृष्टान्त विगतमा चौतारी, चिया पसल, कफीसप र टोल–सभा हुन्, जहाँ गाउँले भेला भएर निर्णय र असहमति दुवै साटासाट गर्दर्थे । अहिले जिडिटल संसारको उदयसँगै फेसबुकका ग्रुप र टिकटकका लाइभहरू आजको डिजिटल चौतारी यानेकि पब्लिक स्फेयर्सको स्वरूपमा आएका छन् । यद्यपि, हाबरमासको कसीमा राखेर हेर्दा बन्दै गरेको यो सार्वजनिक चौतारी अलि अधुरो देखिन्छ ।

हाबरमासले पूर्णताका लागि तीनवटा शर्त राखेका थिए: सबैका लागि खुला पहुँच, तर्कको आधारमा बहस, र व्यावसायिक तथा राजनीतिक स्वार्थबाट स्वतन्त्रता । नेपालको डिजिटल चौतारोमा पहुँच असमान प्रकृतिको छ, बहसहरू प्राय: तर्कमा भन्दा आरोप र आक्षेपमा केन्द्रित देखिन्छन् ।  यस्ता मञ्चहरू विज्ञापन–आम्दानी र एल्गोरिदमजस्ता व्यावसायिक बहावहरूबाट बढ्ता प्रभावित छन् । वास्तवमा बजार र प्रचारले गर्दा सार्वजनिक क्षेत्रलाई उपनिवेश बनाउने चेतावनी हाबरमासले त्यतिबेला नै दिएका थिए । आज नेपालका राजनीतिक दल र प्रभावकारी अनलाइन खाताहरूले चलाउने संगठित ट्रोलले त्यो चेतावनीलाई सान्दर्भिक बनाएको छ ।

एजेन्डा सेटिङको प्रभाव

म्याक्सवेल र डोनाल्ड शको एजेन्डा सेटिङ सिद्धान्तले सञ्चारमाध्यमले मानिसलाई के सोच्ने भनेर निर्देशन नदिए पनि कुन विषयलाई सोच्न लायक ठान्ने भन्ने कुरामा बलियो ढंगले प्रभाव पार्छ परेको हुन्छ । स्वाभाविक रूपमा पहिले एजेन्डा निर्धारण गर्ने काम सम्पादक र समाचार कक्षबाट हुने गर्दथ्यो । अब यो प्रक्रिया एल्गोरिदमको अंकगणितबाट पनि प्रभावित हुने गरेको छ । कुन विषय भाइरल हुन्छ भन्ने निर्णय त्यसको सार्वजनिक महत्वले होइन, त्यसले जगाउने क्रोध, हाँसो, आश्चर्य, घृणा, पीडा वा उत्तेजनाले गर्छ ।

कुनै राजनीतिक दलका नेता वा सार्वजनिक अधिकारीको विवादास्पद अभिव्यक्ति, कुनै कलाकारको निजी प्रसंग वा कुनै मिम दिनभरि छायो भने सोही दिन घट्ने अन्य घटनाहरू मुल्तवीमा पर्दछन् । चाहे, धान रोप्ने बेला मलको अभावले पीडित मधेशको किसान बिलखबन्दमा परेका सन्दर्भ हुन्, चाहे सुदूरपश्चिमका स्वास्थ्यचौकीमा औषधिको अभाव होस्– त्यसतर्फ कसैको चासो देखिँदैन । राज्यले सर्वाधिक रूपमा चासो दिनुपर्ने शिक्षाको गुणस्तर, स्वास्थ्य सेवाको असमानता, रोजगारीका लागि पलायनजस्ता संरचनागत समस्याहरू डिजिटल संसारको प्राथमिक एजेन्डाका विषय विरलै बन्ने गर्दछन् ।

नवीन प्रविधिको फैलावटमा रोजर्सको दृष्टिकोण

एभर्ट रोजर्सको नवप्रवर्तनको प्रसार सिद्धान्तले कुनै नयाँ प्रविधि समाजमा एकैपटक होइन, चरणबद्ध रूपमा फैलिन्छ भन्ने मान्यता राख्दछ । यसमा क्रमगत रूपमा पाँच प्रकृतिका प्रयोगकर्ता इनोभेटर, अर्ली एडप्टर, अर्ली मजोरेटी, लेट मेजोरेटी र लेगार्ड हुन्छ । लेगार्ड भनेको नयाँ प्रविधिलाई सबैभन्दा ढिलो अँगाल्नेहरू हुन् । नेपालमा फेसबुक र टिकटकको फैलावटले यही क्रम पछ्याएको छ । काठमाडौँ, पोखरा र विराटनगरका शिक्षित युवाले पहिले अपनाए, त्यसपछि जिल्ला सदरमुकाम र अन्त्यमा गाउँका बासिन्दासम्म पुग्यो । विप्रेषणले किनिएका स्मार्टफोनले यो फैलावटलाई थप गति दियो ।

यसको राजनीतिक अर्थ निकै गहन र रोचक छ । डिजिटल बहसको शुरुवात र स्वर निर्धारण गर्ने समूह प्राय: यही अर्ली एडप्टर अर्थात नयाँ प्रविधि आउनासाथ शुरुमै अँगाल्ने पुस्ता हो । जबकि अर्ली मेजोरिटी र लेट मेजोरिटी वर्ग अनलाइन बहसमा प्रवेश गर्दासम्म नियम, भाषा र एजेन्डा तय भइसकेको हुन्छ ।  नेपालका सन्दर्भमा यो समूह भनेको जेष्ठ नागरिक, ग्रामीण क्षेत्रमा बसोबास गर्ने र कम शिक्षित जनसमुदाय पर्दछ । नयाँ प्रविधि फैलावटको यो असमान गतिले गर्दा डिजिटल मञ्चमा पनि नयाँ किसिमको अग्रगामी वर्ग र पछाडि पारिएको वर्ग निर्माण गरेको छ ।

गलत सूचनाको खतरा

नेपालमा मिडिया साक्षता कमजोर भएको हुनाले गलत सूचनाको चिन्ता बढनु स्वाभाविक हो । विशेषत: नेपालमा पुराना तस्बिरलाई नयाँ घटनाको रूपमा प्रस्तुत गर्ने, भिडिओ काटछाँट गर्ने र भ्रामक क्याप्सन जोड्ने प्रवृत्ति बढी देखिने गरेको छ । सेन्टर फर मिडिया रिसर्चबाट भएका अनुसन्धानहरूले यस्ता गतिविधिबाट गलत सूचनाहरू जाने गरेको विवरण औँल्याएको छ । यस्तो समस्या सबैभन्दा फेसबुकमा देखिने गरेको छ । यो किन पनि हो भने नेपालमा फेसबुक प्रयोगकर्ता बढी छन् । नेपालका धेरै प्रयोगकर्ताका लागि फेसबुक नै इन्टरनेट हो भन्ने लाग्दछ ।  समाचार, बजार, सरकारी सूचना र पारिवारिक सम्पर्क सबै फेसबुकमै भेटिन्छन् ।

एउटै सामाजिक सञ्जालमा विश्वसनीय सूचना र भ्रामक सामग्री एकै ढाँचामा आउने भएपछि सामान्य प्रयोगकर्तालाई फरक छुट्याउन कठिन हुनु स्वाभाविक हो । नेपाली भाषाका फ्याक्ट–चेक संयन्त्र अझै सीमित छन् । अर्को कुरा ती सबै गाउँसम्म पुगेका छैनन् । मातृभाषामा आउने सामग्री जाँच्नसक्ने क्षमता अझ कमजोर छ । एआईले यो जोखिम अझ जटिल बनाउँदै लगेको छ ।

एल्गोरिदमको प्रभाव

नेपाली समाजमा राजनीतिक पक्षधरताको आधारमा सिर्जना गरिएका विभिन्न ग्रुप र पेजहरूले एउटै प्रकृतिको विचार दोहोर्‍याउने वातावरण बनाएका छन् । एल्गोरिदमले प्रयोगकर्ताले जे हेर्छ, त्यसैलाई थप देखाउँछ । फलस्वरूप प्रत्येक समूहले आफूलाई बहुमत ठान्न थाल्छ । जस्तै रास्वपा समर्थकले रास्वपा मात्र, एमालेको समर्थकले एमाले मात्र, कांग्रेसको समर्थकले कांग्रेस मात्र देख्ने हुन्छ ।

नेपालको हकमा लोकतन्त्रको दृष्टिकोणबाट हेर्दा सामाजिक सञ्जाल पूर्ण रूपमा विकारक पनि होइन र उद्धारक पनि होइन । यो केवल समाजलाई हेर्ने एउटा ऐना हो, जसमा समाजका आशा र आक्रोश देखिन्छन् ।

यस्तो स्थितिमा सबैलाई आफूमात्र जनताको आवाज हुँ भन्ने भ्रम पर्न सक्छ । यस्तो इको च्याम्बरमा असहमति सुनिँदैन, गाली सुनिन्छ । जसको नतिजा टिप्पणी खण्डमा देखिन्छ । फरक विचार राख्ने व्यक्ति तर्कको सट्टा चरित्र हत्याको शिकार हुन्छ । यसले बहसमा सहभागी हुने साहस नै घटाउँछ । अन्तत: बोल्नेहरूको संख्या घट्दै जान्छ र जो बोल्छन्, तिनीहरू चर्का हुँदैजान्छन् ।

पत्रकारिताको अपरिहार्यता

अहिले एउटा प्रश्न जल्दोबल्दो रूपमा आएको छ– पत्रकारिताको भूमिका के भन्नेमा । वास्तविक रूपमा हेर्दा आजको परिवेशमा पत्रकारिताको भूमिका घटेको छैन । पत्रकारिताको भूमिका अझ बढेको छ । भाइरल भिडिओ सार्वजनिक गर्ने होड होइन, त्यसको स्रोत, मिति, स्थान र सन्दर्भ प्रमाणित गर्ने जिम्मेवारी नै अब पत्रकारिताको मूल्य हो । एजेन्डा सेटिङको भाषामा भन्दा, एल्गोरिदमले तय गरेको एजेन्डालाई पत्रकारिताले अनुकरण होइन, सुधार गर्नुपर्छ । हाबमारसको भाषामा भन्दा, सार्वजनिक क्षेत्रको गुणस्तर जोगाउने रक्षकको भूमिका पत्रकारिताले खेल्नुपर्छ ।

साथै, पत्रकारिता भाइरल नहुने कथा खोज्ने काम पनि हो । सामुदायिक रेडियो, जिल्लास्तरका पत्रकार र स्थानीय मिडियाले दुर्गम क्षेत्रका अनुभव जोगाएका छन् । डोल्पाको कुनै विद्यालयमा शिक्षकको अभाव, रौतहटको कुनै स्वास्थ्य चौकी निर्माणमा अनियमितता वा कैलालीका किसानको बजारको समस्या जस्ता सवालले  सामाजिक सञ्जालमा लाखौँ ‘भ्यु’ नपाउन सक्छन् । तर, तिनीहरू नीतिनिर्माणका लागि सबैभन्दा आवश्यक तथ्य हुन् । यसर्थमा पत्रकारिताको अपरिहार्यता छ । अझ बढी जिम्मेवार पत्रकारिताको आवश्यकता छ ।

अबको बाटो

२०८२ भदौ २३ र २४ मा भएको घटनाले सामाजिक सञ्जालको शक्तिको बारेमा दिएको गतिलो सन्देश के हो भने अब सञ्जाललाई बन्देज लगाएर बहस दबाउन सकिँदैन । बन्द र निषेधले असन्तुष्टि थप चर्काउने काम गर्छ । गलत सूचनासँग जुध्ने नाममा आलोचनात्मक आवाज कमजोर पार्ने कुनै पनि कानुनी वा प्रशासनिक प्रयास लोकतन्त्रको मर्मविरुद्ध हुनजान्छ । यसका लागि बौद्धिक प्रयास मात्रै विकल्प हुन सक्दछ ।

विशेषत: नेपाली भाषा र नेपाली सन्दर्भमा सामग्री अनुगमनका लागि पर्याप्त स्रोत लगाउन र एल्गोरिदमको पारदर्शिताका लागि प्लाटफर्महरूलाई जवाफदेही बनाउनुपर्छ । दोस्रो कुरा, विद्यालय तहदेखि नै सूचना साक्षरतालाई पाठ्यक्रममा समावेश गर्नुपर्छ । जसले पोखरा–विराटनगरका निजी विद्यालय  होस् वा दैलेख–धनुषाका सामुदायिक विद्यालयका विद्यार्थी हुन्– उनीहरूले समान रूपमा मिडियाबारे जान्न, विश्लेषण गर्न र ठीक–बेठीक छुट्टाउन सकून् । तेस्रो, सामुदायिक रेडियो, स्थानीय सरकार र नागरिक समाजले गाउँ–गाउँमा डिजिटल साक्षरता अभियान चलाउनुपर्छ, ताकि प्रविधिको फैलावटमा पछि परेकाहरू पनि बहसका सहभागी बन्न सकून् ।

नेपालको हकमा लोकतन्त्रको दृष्टिकोणबाट हेर्दा सामाजिक सञ्जाल पूर्ण रूपमा विकारक पनि होइन र उद्धारक पनि होइन । यो केवल समाजलाई हेर्ने एउटा ऐना हो, जसमा समाजका आशा र आक्रोश देखिन्छन् । तर, त्यो ऐना केही कोणबाट मात्र हेर्न मिल्छ, केही कुना सधैँ अँध्यारै रहन्छन् । सत्ताले त्यो ऐनामा आफ्नो मुख मात्र हेरेर नीति बनायो भने गल्ती हुनेछ, र जनताले त्यही ऐनामा देखिएको कोलाहललाई सम्पूर्ण सत्य ठाने भने भ्रम हुनेछ । काठमाडौँको स्क्रिनमा चम्किने ट्रेन्ड र रोल्पाको चौतारीमा चल्ने बहस दुवै नेपालका सत्य हुन् । लोकतन्त्रले दुवैलाई सुन्न सक्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?