
१४ भदौ, काठमाडौं । अफगानिस्तानबाट हालसम्म ८२८ जना नेपाली काठमाडौं आइपुगेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार अफगानिस्तानबाट उद्धार भई आइतबार साँझ फ्लाई दुबईको नियमित उडानबाट ५ जना र टर्किस एयरको नियमित उडानबाट ४५ जना गरी थप ५० जना स्वदेश फर्किएका छन् ।
अफगानिस्तानको राजधानी काबुलमा उद्धारको पर्खाइमा रहेका थप नेपाली नागरिकहरुलाई स्वदेश फर्काउन आवश्यक समन्वय भइरहेको पनि मन्त्रालयले जनाएको छ ।
अफगानिस्तानमा रहेका र आफ्नो नाम दर्ता नगरेका नेपालीहरुले आफैं वा परिवारमार्फत कन्सुलर विभागको वेबसाइट https://nepalconsular.gov.np मा रहेको अनलाइन पोर्टलमा तथा कन्सुलर सेवा विभागको भाइबर र ह्वाट्सअप नम्बरमा विवरण टिपाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।
विद्रोही तालिबानले अफगानिस्तानमा नियन्त्रण जमाएपछि त्यहाँका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् भने विभिन्न देशले सेना पठाएर आफ्ना नागरिकहरुलाई उद्धार गरिरहेका छन् ।
प्रतिक्रिया 4