१० असोज, काठमाडौं । आन्तरिक पर्यटकीय गतिविधि बढाउन सरकारी कर्मचारीलाई दिइने भनिएको पर्यटन काज बिदा छिटो कार्यान्वयनमा ल्याउन होटल व्यवसायीले माग गरेका छन् ।
विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा होटेल संघ नेपाल (हान)मा आवद्ध व्यवसायीहरुले यस्तो अनुरोध गरेका हुन् । हानद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारबाट घोषित १० दिने पर्यटन काज र अन्तर्राष्ट्रिय पर्यटकलाई एक महिनाको निःशुल्क प्रवेशाज्ञा जारी गर्ने व्यवस्था पनि अबिलम्ब लागू गरी पर्यटन पुनरुत्थानको लागि सहजिकरण गर्न अनुरोध गर्दछौं ।’
लामो समयसम्म थला परेको पर्यटन विशेष गरी होटल उद्योग हाल नेपाल सरकारबाट जारी भ्रमण आदेशमा निर्धारित खोपको मात्रा पूरा गरी आउने विदेशी पर्यटकलाई अनअराइभल भिषा उपलब्ध गराउने निर्णयको भने व्यवसायीले स्वागत गरेका छन् ।
सीमा नाका खोल्ने, क्वारेन्टिन बस्नु नपर्नेजस्ता प्रावधानबाट होटल व्यवसायी उत्साहित भएको हानको भनाइ छ । व्यवसायीले सम्पूर्ण सेवा बजारमा बढ्ने मागका आधारमा सञ्चालनमा ल्याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
यसबाट मुलुकमा पर्यटन सम्भावनाको ढोका खुल्ने समेत विज्ञप्तिमा उल्लेख छ । विदेशबाट खोपको पूर्ण मात्रा पुरा गरी भ्रमणमा आउने पाहुनाहरुलाई खोपको मात्रा पूरा भएका करिब ९५ प्रतिशत भन्दा बढी अग्रपंक्तिमा रही खटिने कार्मचारी तथा कामदारबाट सेवा सुविधा उपलब्ध हुँदा संक्रमणको सम्भावना कम हुने विश्वास व्यवसायीको छ । विश्व पर्यटन दिवस २०२१ को अवसरमा सेवा सुविधा उपलब्ध गराउनसम्पूर्ण पर्यटन व्यवसायी पर्यटनका लागि एक स्वर गरी अगाडि बढ्ने पनि प्रतिवद्धता समेत व्यवसायीको छ ।
मुलुकमा अहिले पहिलो वा दोस्रो गरी करिब ४० प्रतिशत भन्दा माथि नेपाली नागरिकहरुले कोभिड-१९ विरुद्धको खोप लगाइसकेको हुँदा अन्तर्राष्ट्रिय जगतमा मुलुकलाई रेड जोनबाट हटाउन सरकारी तवरबाट यथाशक्य पहल गरिनु पर्ने समेत व्यवसायीले बताएका छन् ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4