१३ असोज, वीरगञ्ज । आज विश्व मुटु दिवस । हरेक वर्ष सेप्टेम्बर २९ तारिखमा विश्वभर मुटु दिवस मनाइन्छ । यसवर्ष ‘युज हर्ट टु कनेक्ट’ भन्ने नाराका साथ मुटु दिवस मनाइँदैछ ।
सन् २०२१ को विश्व मुटु दिवसले भावना र मानवीयतालाई जोड्ने उद्देश्य लिएको छ । अझ कोभिडपछिको विश्वमा डिजिटल जानकारी र उपचार पद्धतिलाई यस वर्ष विशेष महत्व दिइएको छ ।
विश्व मुुटु दिवसको अवसरमा वीरगञ्जमा ‘वाकथन’ (थोरै हिँड्नुहोस) र्याली निकालिएको छ ।
र्यालीमा सहभागीले ‘स्वस्थ मुुटु, सशक्त जीवन’, ‘स्वस्थ मुुटुका लागि हिँड र दौड’, ‘सुखी जीवनका लागि मुटु स्वस्थ राखौं’, ‘मुटुमा ऊर्जा थपौं, जीवनलाई सशक्त बनाऔं’, ‘हृदयाघातको जोखिमबारे जानी राखौं’ लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।
कोण सभामा बोल्दै मुटुरोग विशेषज्ञ डाक्टर राधा भट्टराईले मुटु स्वस्थ राख्न ध्यान दिनुपर्ने बताइन् । ‘मुटु स्वस्थ राख्नु नै महत्वपूर्ण कुरा हो । त्यसका लागि नुन कम खाने, तारेको पोलेको खानु हुँदैन, तेल कम खानुपर्छ । मोटोपनलाई घटाउनुपर्छ’ उनले भनिन्, ‘ नियमित व्यायाम गरेर मुटु स्वस्थ राख्नुपर्छ ।’
वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले स्वस्थ हावापानी, धुलो धुँवारहित वातावरण कायम राख्न सके मुुटु स्वस्थ हुने बताए । ‘शरीरलाई समय दिनुपर्छ, बिहान बेलुका जतिखेर सकिन्छ हिँड्नुपर्छ’ उनले भने, ‘मुटुलाई स्वस्थ राख्नुपर्छ ।’
मुटु शरीरको अभिन्न अंग हो, यसको स्वास्थ्य वातावरणसँग जोडिएको हुन्छ, स्वस्थ हावापानी पाउँदा मुटु स्वस्थ हुन्छ, धुँलो धुँवाबाट बच्नैपर्छ । स्वस्थ खानपान गर्नैपर्छ’ उनले भने, ‘बिहान बेलुका जुन बेला हुन्छ, आधा एक घण्टा शारीरिक व्यायम, वा हिँडडुल गर्नुपर्छ ।’
वीरगञ्ज महानगरपालिकाले विपन्न वर्गलाई मुटु रोगको उपचारका लागि सिफारिश गर्ने गरेको छ । आर्थिक वर्ष ०७५/०७६ मा ४४, ०७६/७७ मा ९७ र ०७७/०७८ मा ७३ जनालाई मुटु रोगको उपचारका लागि सिफारिश गरिएको जनस्वास्थ्य निरीक्षक सुमन चन्द्र ठाकुरले जानकारी दिए ।
विपन्न नागरिकलाई मुटुमा पेसमेकर तथा स्टेन्ट राख्नु परेमा, एब्लेसन गर्नुपरेमा, मुटुको भल्भ पूर्णरुपमा क्षति भएको या मुटु फेल भएको उपचारका लागि सरकारले १ लाख रुपैयाँसम्म अनुदान दिने गरेको छ ।
मुटु कसरी जोगाउने ?
मुटु, एउटा सानो पम्पजस्तो अङ्ग हो । हाम्रो छातीमा जन्मेदेखि मृत्यु नहुँदासम्म रहन्छ । यसले रगतको चाप हरेक धमनी अनि कोशिकाहरूमा पठाइरहन्छ ।
विश्वभरिका स्वास्थ्य संगठन अनि सरकार प्रमुखहरूले सन् २०१२ मा सन् २०२५ सम्म विश्वभरि नै नसर्ने रोगहरूलाई २५ प्रतिशतले कम गर्ने साझा सहमति गरेका छन् ।
हरेकवर्ष करिब २ करोड मान्छेहरू हृदयघात अनि हृदयसम्बन्धी रोग अनि समस्याहरूले मृत्युवरण गरिरहेको तथ्याङ्क छ ।
हृदय अर्थात् मुटु, माया, दया, भावना अनि आनन्दलाई मुटुसँग जोडेर हेरिन्छ । मुटु वास्तवमै स्वास्थ्य अनि गतिशिलताका लागि पर्याय छ ।
विश्व मुटु संगठनले मुटुको यही संवेदनशीलता अनि महत्वलाई ध्यानमा राख्दै हरेक वर्ष सेप्टेम्बर २९ लाई मुटु दिवसका रूपमा मनाउन थालेको हो ।
यस दिन हृदय रोगीहरू, उपचार प्रदायकहरू, जनचेतकहरू, सञ्चार माध्यमहरू, जनमानसहरू एकै थलोमा भेला भएर मुटुको रक्षा गर्ने कुराहरू अनि विभिन्न जानकारीका साथ प्रस्तुत हुन्छन् ।
व्यस्त जीवनशैली, प्याकेटका खानेकुराहरूको अत्यधिक प्रयोग, अशुद्ध खानेकुरा, प्रशोधित अनि केमिकलजन्य उपभोग्य सामग्रीहरूको प्रयोग, तनावपूर्ण जीवनशैली, अस्वस्थ प्रतिस्पर्धा, प्रकृतिसँगको दूरीका कारण हामी हृदय रोगको सम्भावित जोखिममा परेको चिकित्सकहरु बताउँछन् ।
दैनिक व्यायामको अभाव, खेलकुदमा कम रुचि, धुम्रपान अनि मदिरापान, औषधिको धेरै सेवन, तनाव लिने बानी मुटुका लागि हानिकारक छ ।
मुटुको स्वास्थ्यमा ध्यान दिन सकेमा करिब ८० प्रतिशत हृदय रोगीहरूको असामयिक मृत्यु रोक्न सकिने चिकित्सकको भनाइ छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4