
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र एनसेल एक्जियाटा लिमिटेड (एनसेल) बीच बैंकको ग्लोबल सहयात्री रेमिट्यान्स बचत खातावाल ग्राहकहरुलाई ब्यालेन्स र मोबाइल बैंकिङ एप्लिकेसन ‘ग्लोबल स्मार्ट प्लस’ चलाउनका निम्ति डाटासहितको सहयात्री सिमकार्ड सित्तैमा उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी पत्रमा ग्लोबल आईएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र एनसेल एक्जियाटा लिमिटेडका कार्यकारी निर्देशक एण्डी चोङले मंगलबार हस्ताक्षर गरेका थिए ।
उक्त सम्झौता अनुसार वैदेशिक रोजगारीका लागि विदेश जाने, वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरु एवं उनीहरुका परिवार र बाह्य रेमिट्यान्समार्फत आय भएका नेपालीहरुले ग्लोबल आईएमई बैंकमा ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोली निःशुल्क सहयात्री सिमकार्ड प्राप्त गर्न सक्नेछन् ।
उक्त सहयात्री सिममा ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोग गर्न २५० एमबी डाटा प्याक निःशुल्क उपलब्ध हुनेछ । यसैगरी सहयात्री सिमकार्डमा रु. २० मेन ब्यालेन्स, एनसेल नेटवर्कभित्र फोन गर्न २० मिनेटको टकटाइम, २० वटा एसएमएस तथा २०० एमबी डाटा प्राप्त हुनेछ ।
यसका साथै सिम सुचारु गरिएको २ दिनभित्र रु. १०० वा सो भन्दा माथिको रिचार्जमा १०० मिनेट एनसेल टकटाइम तथा १०० एमबी डाटा पनि पाइनेछ ।
सहयात्री सिमकार्ड प्रयोगकर्ताहरुले १ वर्षसम्म हरेक पटक रिचार्ज गर्दा १० प्रतिशत बोनस तथा भारत, मलेसिया एवं मध्यपूर्वी राष्ट्रहरुमा कल गर्दा अतिरिक्त छुट पनि प्राप्त गर्नेछन् ।
बैंकले समय–समयमा यस्ता विभिन्न किसिमका योजनाहरु ल्याई आफ्ना ग्राहकहरुलाई विस्तारित बैंकिङका साथसाथै अन्य सेवाहरु प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया 4