
असोजको २१ गतेबाट देशभरका हल संचालनमा आएपनि आशातित चलचित्र रिलिज नहुँदा दर्शक हलसम्म पुग्न सकेका छैनन् । केही नेपाली र हलिउड चलचित्रले दर्शकलाई हलसम्म तान्न नसकेको अवस्थामा यतिबेला अधिकांशको ध्यान बलिउड चलचित्र ‘सूर्यवंशी’ माथि छ ।
यो चलचित्र नोभेम्बर ५ बाट विश्व बजारमा रिलिज हुँदैछ । भारतमा पनि यो चलचित्रले दर्शकलाई हलमा फर्काउने अपेक्षा गरिएको छ । नेपालमा यो चलचित्र रिलिज हुन्छ या हुँदैन भन्ने अन्यौल कायमै थियो । यसैविच, यो चलचित्रलाई वितरक मनोज राठी र उनको टिमले नेपाल भित्राएको छ ।
वितरक मनोज राठीले बिहिबारमात्र चलचित्रको नेपाल रिलिजको अधिकार खरिद गरेको जानकारी अनलाइनखबरलाई दिएका छन् । उनले, रकम भने खुलाउन चाहेनन् । तर, यो चलचित्रका लागि वितरकले १ करोड भन्दा बढी नेपाली रुपैयाँ खर्च गरेका छन् ।
रोहित सेट्टीको निर्देशनमा तयार भएको यो चलचित्रमा अक्षय कुमार र कट्रिना कैफको मुख्य भूमिका छ । चलचित्रमा नायकद्धय अजय देवगण र रणवीर सिंहको केमियो भूमिका छ ।
वितरक राठीले अनलाइनखबरसँग भने–‘हामीले यतिबेला दर्शकलाई हलसम्म कसरी बोलाउने भन्ने बिषयमा सोच्न जरुरी छ । अहिले कुन भाषाको चलचित्र चलाउने भन्दा पनि दर्शकलाई हलसम्म कसरी तान्न सकिन्छ भनेर सोच्नु पर्ने भएकाले महंगो रकम खर्च गरेर हामीले ‘सूर्यवंशी’ खरिद गरेका हौं ।’
प्रतिक्रिया 4