+
+

पब्लिसिटीमा एक कदम अगाडि दीपक-दीपा : हलमा ‘छक्का पन्जा ४’को ट्रेलर

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १९ गते १७:१२

१९ कात्तिक, काठमाडौं । चलचित्र निर्माण गरेर मात्र हुँदैन, प्रचार गर्न पनि माहिर हुनुपर्छ । अहिलेको समयमा दर्शकलाई चलचित्रप्रति उत्सुक बनाउन सकिएन भने गाह्रो पर्छ । यो कुरामा निर्माता दीपकराज गिरी र उनको टिम एक कदम अगाडि देखिएका छन् ।

निर्माण भएर प्रदर्शनको लागि तयार भएका दर्जनौं चलचित्रका निर्माता चलचित्र कहिले प्रदर्शन गर्ने अन्योलमा छन् । तर, छायांकन नै शुरु नगरिएको चलचित्र ‘छक्का पञ्जा ४’को ट्रेलर भने आजबाट हलमा बज्न थालेको छ ।

बलिउड चलचित्र ‘सूर्यवंशी’ रिलिज भएसँगै हलमा दर्शकको चाप उच्च देखिएको छ । यो चलचित्र हेर्न पुगेका दर्शकले ‘छक्का पञ्जा ४’को ट्रेलर पनि हेर्न पाउनेछन् ।

चलचित्रको ट्रेलरमा दीपकराज गिरी, केदार घिमिरे र दीपाश्री निरौलालाई देखाइएको छ । निर्माता तथा कलाकार दीपक भन्छन्, ‘हामीले ट्रेलरको छायांकन नै गरेका हौं । दर्शकलाई अब नेपाली चलचित्रको चहलपहल पनि शुरु भएको छ हैं भन्ने सन्देश दिन पनि यो तरिका अपनाएका हौं ।’

दीपकले यसलाई चलचित्रको ट्रेलर नै भन्नुभन्दा पनि दर्शकलाई उत्साहित बनाउने झलक मात्र भन्न मिल्ने बताए । तर, जे होस् दीपक-दीपाको टिमले चलचित्रको लागि भनेर ट्रेलर नै खिचेर दर्शकहरुमा उत्साहको सञ्चार गराएको छ ।

निर्माण भएर रिलिजका लागि तयार भएका दर्जनौं नेपाली चलचित्रका निर्माता अझै नब्युँझिएका बेला दीपक-दीपा र उनको टिम चलचित्र निर्माण र प्रचारका लागि अरुभन्दा एक कदम अगाडि छन् भन्दा फरक पर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?