+
+

डडेल्धुरा कांग्रेसको अधिवेशनलाई निर्वाचन समितिले दियो वैधता

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २७ गते ९:३६

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले डडेल्धुरा जिल्लाको वडा र पालिका अधिवेशनलाई वैधता दिएको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा एक पक्षीय रुपमा संस्थापन समूहले अधिवेशन गरेको भन्दै अर्काे पक्षले विरोध जनाउँदै आएको छ ।

निर्वाचन समितिले डडेल्धुराको अधिवेशनलाई मान्यता दिँदै प्रदेश सभा क्षेत्रीय अधिवेशनको मिति तोकेको हो । समितिको पछिल्लो संशोधित कार्यतालिकामा डडेल्धुरामा मंसिर तीन गते प्रदेश सभा क्षेत्रीय अधिवेशन हुने उल्लेख छ । वडा र पालिका अधिवेशन सम्पन्न भएका ४६ जिल्लामा सोहि मितिमा प्रदेश सभा क्षेत्रीय अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ ।

‘डडेल्धुराको हकमा निर्वाचन समिति एक मत छ, समितिमा उजुरीहरू परेका छन् । हामीले त्यसमा छलफल गरेर टुंगो लगाइसकेका छौं,’ समिति सदस्य तेजबहादुर रावलले भने, ‘अब डडेल्धुरामा फेरि वडा अधिवेशन हुँदैन । बाँकी अधिवेशनका प्रक्रियाहरू कार्यतालिका अनुसार अगाडि बढ्छ ।’

डडेल्धुरामा फेरि अधिवेशन हुनुपर्ने माग जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षको छ । सभापति मल्ललाई कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको समर्थन छ ।

आफूहरूको बहिस्कारका बीच अधिवेशन प्रक्रिया अगाडि बढाइएको भन्दै जिल्ला सभापति मल्लले केन्द्रीय निर्वाचन समितिमा उजुरीसमेत दिएका छन् । तर निर्वाचन समितिले भने डडेल्धुराको अधिवेशनलाई मान्यता दिँदै प्रदेश सभा क्षेत्रीय अधिवेशनको मिति तोकेको हो ।

पाँच सदस्यीय निर्वाचन समितिले सर्वसम्मतरुपमा डडेल्धुरा जिल्लाको जारी अधिवेशनलाई वैधता दिएको हो । निर्वाचन समितिको निर्णयविरुद्ध जिल्ला सभापति मल्ल पक्ष आन्दोलनमा छ ।

समितिले वडा अधिवेशन नभएका जिल्लामा कात्तिक २७ मा अधिवेशनको मिति तोकेको छ । १३ जिल्लामा वडा अधिवेशन हुन बाँकी छ । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?