
११ मंसिर, विराटनगर । सिंघिया खोलामा शंकास्पद अवस्थामा बालक मृत भेटिएको घटनाको छानबिन गर्न माग गर्दै स्थानीय वासिन्दाले प्रदर्शन गरेका छन् ।
मोरङको बुढीगंगा गाउँपालिका– ५ का निश्चल राय कात्तिक २४ गते मृत अवस्थामा फेला परेका थिए । रायको शंकास्पद मृत्यु प्रकरणको छानविनका लागि प्रहरीले चासो नदेखाएको भन्दै स्थानीय र आफन्तले शनिबार विराटनगरमा प्रदर्शन गरेका हुन् ।
गत कात्तिक २२ गते दिउँसो घरनजिकैको लिची बगानमा खेल्न गएका १४ वर्षीय राय बेपत्ता भएका थिए । उनको शव तीन दिनपछि सिंघिया खोला किनारमा शव भेटिएको थियो । तीन सातासम्म प्रहरीले घटनाको विवरण सार्वजनिक नगरेको भन्दै स्थानीयले प्रदर्शन गरेका हुन् ।
बालकको मृत्यु पानीमा डुबेर भएको जस्तो नदेखिने बुबा उपेन्द्रले बताए । उनका अनुसार घाटी भाचिनु, तिघ्रामा डोरीले बाधेको र छातीमा जुत्ताले हानेको जस्तो डाम देखिनु र पेटमा सियोले रोपिएको जस्ता प्वाल भएका कारण हत्याको भएको बताए ।
आफन्त र स्थानीयले निष्पक्ष छानविनको माग गर्दै केही दिनयता प्रदर्शन गरिरहेका छन् ।
उपेन्द्र माओवादी केन्द्रका प्रदेश १ सदस्य तथा मजदुर संगठनका नेता हुन् । राजनीतिक प्रतिशोध र पारिवारिक रिसइवीको कारणले पनि आफ्नो छोराको हत्या भएको हुनसक्ने उनले बताए ।
मोरङका प्रहरी प्रहरी एसपी जनार्दन जिसीले बालक मृत्यु प्रकरणको अनुसन्धान भइरहेको बताए । प्रारम्भिक पोष्टमार्टम रिपोर्टमा सबै विषय स्पष्ट नभएको बताउँदै उनले भिसेरा रिपोर्ट आएपछि थप विषय खुल्ने बताए । ‘प्रहरीले अनुसन्धान गरिरहेको छ,’ उनले भने,‘ भिसेरा रिपोर्ट आएपछि हामी निश्कर्षमा पुग्छौं ।’
भिसेरा जाँचका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको थियो ।
प्रतिक्रिया 4