
१३ मंसिर, चितवन । नेकपा एमालेका सचेतक विशाल भट्टराईले केन्द्रीय सदस्यहरुको सूचीमा आफ्नो नाम नपरे पनि त्यसलाई सामान्य रुपमा लिएको बताएका छन् । उनले पार्टी नेतृत्वले आफूलाई कुनै महत्वपूर्ण जिम्मेवारीका लागि रिजर्भ गरेर राखेको हुन सक्ने अनुमान उनले गरे ।
‘केन्द्रीय सदस्य दोहोरिन्छु होला भन्ने अनुमान गरिरहेको बेला मेरो नाम आएन । यसलाई मैले सामान्य रुपमै लिएको छु,’ उनले अनलाइनखबरसँगको कुराकानीमा भने ।
चितवनको सौराहस्थित एमाले महाधिवेशनको बन्दसत्र परिसरमा कुरा गर्दै भट्टराईले, पार्टी नेतृत्वले जुन जिम्मेवारी दिए पनि इमान्दारीपूर्वक निर्वाह गर्ने बताए । आफूले सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरेको र त्यसको लागि अभियानसमेत चलाएको बताउँदै उनले त्यसैको कारण आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी नदिएको बताए ।
कहिलेकाहिँ राजनीतिमा एक कदम पछाडि दुई कदम अगाडि पनि हुने बताउँदै उनले भने, ‘थप कुनै महत्वपूर्ण जिम्मेवारीका लागि पार्टी नेतृत्वले मलाई रिजर्भको रुपमा राख्या हो कि, त्यो हो भने पनि ठिकै छ । त्यो नहुँदा पनि संसदमा प्रमुख सचेतकको भूमिका निर्वाह गरिरहेको छु । खोटाङको जनप्रतिनिधि छु, म पार्टीको काम अनवरत रुपमा जारी राख्छु ।’
प्रतिक्रिया 4