
१४ मंसिर, काठमाडौं । विज्ञापन बोर्डले मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थ लगायतका पदार्थको विज्ञापन सामग्री उत्पादन, वितरण एवं प्रचारप्रसार गर्न रोक लगाउने निर्णय प्रति व्यवसायीहरुले विरोध जनाएका छन् । जनस्वास्थ्यमा असर पार्ने भन्दै बोर्डले मदिरा, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन सामग्री उत्पादन, वितरण एवं प्रचारप्रसार गर्न रोक लगाउने निर्णय गरेको थियो ।
नेपाल विज्ञापन संघ, नेपाल मिडिया सोसाइटी, मिडिया अलाइन्स नेपाल, नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघ र अखिल नेपाल फुटबल संघले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै बोर्डको उक्त निर्णयप्रति आपत्ति जनाएका हुन् ।
मदिराजन्य वस्तुको विज्ञापन निश्चित परिधिभित्र रही विश्वका अधिकांश देशहरुमा खुला नै रहेको स्मरण व्यवसायीहरुले गराएका छन् ।
‘मदिरालाई खाद्य वस्तुकै रुपमा लिने गरिएको भन्दै नेपालमा पनि यसलाई खाद्य ऐनले नै नियमन गर्ने गरेको छ । तर यसको विज्ञापन प्रसारण र प्रकाशनजस्ता कुरालाई कुनै एक देशले मात्र रोक्न खोज्नु असम्भव जस्तै हुन्छ’ जारी विज्ञप्तिमा भनिएको छ ।
कोरोनाको महामारीको कारण विगत दुई वर्षदेखि प्रताडित हुँदै आएको नेपालको व्यवसायिक क्षेत्रलाई वोर्डको हस्तक्षेपकारी निर्णयले थप मर्माहत बनाउने काम गरेको उनीहरुको ठहर छ ।
कानुन अनुसार नेपाली उत्पादक, विज्ञापन एजेन्सी वा नेपाली सञ्चारमाध्यमले कुनैपनि स्थान र माध्यमवाट मदिराको विज्ञापन गर्न नपाउने तर विदेशी ब्राण्डले विदेशी सञ्चार वा एजेन्सी मार्फत निरन्तर रुपमा आफ्नो ब्राण्डको प्रवर्द्धन गर्न पाउने अवस्थाले स्वदेशी लगानी र ब्राण्डमा समेत असर गर्ने उनीहरुको भनाइ छ ।
हेर्नुहोस् विज्ञप्तिको पूर्णपाठः
प्रतिक्रिया 4