+
+

‘सेटिङ’का ठेक्कामा कर छलीको आशंका, समानान्तरमा राजस्वको छापा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ४ गते २२:१५
Photo Credit : समानान्तर निर्माण सेवाको फेसबुक पेज
काठमाडौं महानगरपालिकाको भवन निर्माणका लागि खरिद सम्झौतामा हस्ताक्षर गर्दै समानान्तरका सञ्चालक अच्युतप्रसाद खरेल (फाइल फोटो)

४ पुस, काठमाडौं । राजस्व अनुसन्धान विभागले समानान्तर निर्माण सेवामाथि राजस्व छलीको आशंकामा अनुसन्धान थालेको  छ । शुक्रबार कम्पनीको पुरानोवानेश्वरस्थित कार्यालयमा छापा हानेर विभागले कागजपत्र नियन्त्रणमा लिएको छ ।

बुधबारमात्रै काठमाडौं महानगरपालिकाले टेकुमा बनाउन लागिएको काठमाडौं महानगरपालिकाको भवनको ठेक्काको मूल्यांकन प्रक्रियामा अनियमिताता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । पूर्वमिलेमतो(सेटिङ)मा लगाइएको  लगाइएको ठेक्का समानान्तरले पाएको थियो ।

‘जताततै भवनको ठेक्कामा सेटिङ गरेको गुनासो आएपछि समानान्तरले कर छलेको हुनसक्ने भन्दै परेका उजुरीको आधार बलियो देखियो,’ विभागका एक अधिकारीले भने,’दशौं अर्बको ठेक्का हातमा लिएर बसेको कम्पनीले तिरेको राजस्व विवरण केलाउँदा कर छलीको आंशका गर्ने ठाउँ बलियो छ ।’

विभागले कम्पनीका सञ्चालकलाई वयानका लागि समय दिएर बोलाइसकेको छ । विभागका एक अधिकारीका अनुसार मिलेमतोमा लगाइएको ठेक्काको हिस्सा अन्यत्र पनि बुझाउनुपर्ने भएकाले कम्पनीले कर छली को सम्भावना अधिक हुन्छ ।

काठमाडौं महानगरपालिकाको भवनको ठेक्कामा खरिदको मूल्यांकन गलत ठहर गरेको अख्तियारले सम्झौता रद्ध गर्न निर्देशन नदिनुले कम्पनीको ‘नेक्सस’ उच्च तहसम्म रहेको पुष्टि भइसकेको छ ।

समानान्तरलाई सर्वोच्च अदालत र भक्तपुर जिल्लाको नयाँ भवनको ठेक्कामा मिलेमतोबाटै हात पारेको आरोप लागेको छ । समानान्तर निर्माण सेवासँग अहिले पनि दर्जनभन्दा बढी सरकारी भवनको ठेक्का छ । अच्युतप्रसाद खरेल सञ्चालक रहेको समानान्तर निर्माण सेवाको हातमा काठमाडौंमा बनिरहेका मुख्य सरकारी भवनहरुको ठेक्का छ ।

२०७३ सालअघि सीमित सडक आयोजनामा केन्द्रित यो कम्पनीले तत्कालीन नेकपा र नेकपा एमाले नेतृत्वको सरकारका बेलामा नै यो कम्पनीले दर्जनौं ठेक्का हात पारेको हो । अहिले बबरमहलमा ८० करोडमा बन्न लागेको नेपाल आयल निगमको कर्पोरट भवनको ठेक्का समानान्तरले नै पाएको छ ।

प्रदशर्नीमार्गमा नेपाल प्रहरीको बहुउद्देश्यीय हलको ठेक्का पनि समानान्तरकै हातमा छ । २७ करोड ४० लाख लागतको यो भवन २४ मे २०२०मा १८ महिनमा सक्ने गरी ठेक्का लागेको थियो । नेपाल प्रहरीकै भऽकालीमा महानगरीय प्रहरी परिसरको कार्यालय भवनको ठेक्का पनि समानान्तरकै पाल्टामा छ । कम्पनीले भ्याटसहित ९१ करोड ३८ लाखमा भवनको जिम्मा लिएर यो काम गर्दैछ ।

भैँसेपाटीमा ७३ करोड लागतमा सात प्रदेशका मुख्यमन्त्रीका लागि बन्दै गरेको आवासीय भवनको काम पनि यही कम्पनीले पाएको छ । बबरमहलस्थित सडक विभागको कार्यालय (पुरानो दरबार) पनि रोट्रोफिट गर्ने काम पनि समानान्तरकै जिम्मामा छ । ९७ करोड २० लाखमा उसले यो ठेक्का हात पारेको हो । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय भवन निर्माणको ठेक्का पनि उसैले हात पारेको छ । २ अर्ब १० करोड ४३ लाख लागतको यो भवन गत वर्ष नै सकिनुपर्ने भएपनि काम चल्दैछ ।

सिंहदरबार पुननिर्माण सचिवालयमार्फत रक्षा मन्त्रालयको भवन पनि समानान्तरले नै बनाएको हो । २१ करोड ३४ लाखमा समानान्तरले यो ठेक्का पाएको थियो । सानो गौचरणमा रहेको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयको भवन पनि १७ करोड लागतमा उसैले ठक्का पाएर बनाएको थियो । ६ करोड १९ लाख लागतमा राष्ट्रिय प्राणी उद्यानको सूर्यविनायकस्थिति कार्यालय पनि समानान्तरले नै तयार गरेको हो ।

गंगालाल राष्ट्रिय  हृहदयरोग केन्द्रको ४७ करोडमा बनेको भवन र ८ करोडमा बनेको बालाजु औद्योगिक क्षेत्र कार्यालयको भवनदेखि ३९ करोड लागतको बबरमहलको मौसम विज्ञान विभागको भवनसम्म समानान्तरले तै तयार गरेको हो । त्रिपुरेश्वरस्थित पासपोर्ट विभागको भवन पनि यही कम्पनीले बनाएको हो ।

तर, समानान्तरले बनाइसकेका सरकारी भवनहरुको गुणस्तरीयतामाथि शुरुबाटै प्रश्नहरु जन्मिरहेको छ । ३१ वैशाख २०७८ मा प्रधानमन्त्री केपी शर्मा ओलीले गोदावरीमा उद्घाटन गरेको ‘गोदावरी सनराइज सम्मेलन केन्द्रको फल्स सिलिङबाट एक महिना नपुग्दै पानी चुहिएको थियो । ८ पुस २०७७ मा प्रभधानमन्त्री केपी शर्मा ओलीबाटै उद्घाटन भएको महान्याधिवक्ताको कार्यालयमा पनि त्यही समस्या छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?