७ मंसिर, काठमाडौं । नेपालमा थप एक जनामा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५८ बर्षका पुरुषमा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयले मंसिर १९ मा पहिलो पटक दुई जनामा ओमिक्रोन संक्रमण पुष्टि गरेको थियो । मंसिर ३ गते विदेशबाट आएका उनीहरुको स्वास्थ्यमा समस्या देखिएपछि कोरोना परीक्षण गरिएको थियो । संक्रमण पुष्टि भएपछि जिन सिक्वेन्सिङ गर्दा ओमिक्रोन भेरियन्ट भएको पुष्टि भएपछि जानकारी दिइएको थियो ।
ती पुरुष हालै ओमिक्रोन भाइरस फैलिएको क्षेत्रमा भ्रमण गरेका व्यक्ति होइनन् । तर नेपालमा पहिलो पटक ओमिक्रोन देखिएका मानिससँग सम्पर्कमा रहेकाो पाइएको स्वास्थ्य मन्त्रालयका उच्च स्रोतले जनाएको छ । ‘संक्रमित मानिसहरु होटलमा बसेका थिए, त्यहीँबाट सरेको अनुमान गरिएको छ,’ उच्च अधिकारीले भने । उनका अनुसार ती पुरुषको परिवारका सदस्य तथा सम्पर्कमा रहेका केही व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ ।
तेस्रो संक्रमित भेटिएसँगै ओमिक्रोनको संक्रमण फैलिसकेको त छैन भन्ने प्रश्न उब्जिएको छ । प्रर्याप्त मात्रामा परीक्षण नहुँदा ओमिक्रोन भेरियन्ट फैलिएको छ कि छैन भनेर यकिन गर्न गाह्रो भएको सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुन बताउँछन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाका अनुसार काठमाडौं उपत्यकाबाट परीक्षणका लागि आएका अधिकांश पोजेटिभ नुमनाको ‘एस जीन’ स्क्रीनिङ गर्ने गरिएको छ । त्यसक्रममा तीन वटामा ‘एस जीन’ नेगेटिभ देखिएको थियो ।
जिन सिक्वेन्सिङका क्रममा ‘एस जीन’ नेगेटिभका तीन नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । तर उपत्यका बाहिरका ल्याबहरुमा परीक्षण गरिएको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि निकै कम आउने गरेको छ । जबकी ओमिक्रोन भित्रिने सबभन्दा बढी खतरा नेपाल–भारत सीमा नाका भएको जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।
तर भारतबाट आउने मानिसको एन्टिजेन परीक्षण मात्र हुन्छ, जसले ओमिक्रोन भेरियन्ट पत्ता लगाउन सक्दैन । डा. पुन भन्छन्, ‘भारतबाट आउने मानिसहरुको पीसीआर परीक्षण गरी ‘एस जीन’ छुट्याउन सके ओमिक्रोन पत्ता लगाउन सकिन्छ । नाकामा परीक्षण नहुँदा संक्रमण फैलिने सम्भावना हुन्छ ।’
जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनी पनि ओमिक्रोन भेरियन्ट देखिएका भारतका राज्यहरुबाट आएका सबैको परीक्षण गर्नुपर्नेमा जोड दिन्छन् । त्यसो नहुँदा समुदायसम्म संक्रमण पुगिसकेको हुनसक्ने भन्दै उनी भन्छन्, ‘हामीले सक्रिय निगरानी गरेका छैनौं, यसले ओमिक्रोन भेरियन्ट पहिचान हुन सकेको छैन ।’
यसअघि भारतमा डेल्टा भेरियन्टबाट संक्रमित भेटिएको ४६ दिनपछि नेपालमा पनि देखिएको थियो । ओमिक्रोन भने भारत र नेपालमा सँगसँगैजस्तो देखिएको छ । भारतमा हालसम्म २१३ जना संक्रमितमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।
भारतमा ओमिक्रोनको संक्रमण फैलिँदै गएकाले नेपालमा पनि जोखिम बढेको संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी बताउँछन् । ‘डेल्टा भेरियन्ट उच्च विन्दुमा पुग्दा एक–एक हप्तामा ‘दोब्बर’ भएको थियो । तर, ओमिक्रोन दुई दिनमा दोब्बर भइरहेको छ’ डा. अधिकारीले अनलाइनखबरसँग भने, ‘यो हिसाबले हेर्दा नेपालमा दुई–तीन हप्ताभित्र केही स्वरुप लिनसक्छ ।’
पहिला गरेका गल्ती अब नदोहोर्याऔं
नेपाल–भारतको खुल्ला सिमानाका कारण मानिसको ओहोर–दोहोर सजिलै हुने गरेको छ । दोस्रो लहरमा जब भारतमा संक्रमित बढ्न थाल्यो, नेपालीहरु घर फर्किन थाले । त्यसबेला सरकारले न क्वारेन्टिनमा राख्न सक्यो, न चेकजाँचमा जोड दियो । संक्रमण समुदायमा फैलिएपछि अस्पतालहरुले धान्ने अवस्था रहेन । अबका दिनमा पनि सरकारले भारतबाट आउने यात्रुहरुलाई क्वारेन्टिन, परीक्षण, खोपको पहुँच बढाउन नसके भारतबाट संक्रमण भित्रिने खतरा उच्च रहेको महामारी विज्ञ डा. केदार बराल बताउँछन् ।
नाकामा निगरानी, संस्थागत क्वारेन्टिइन तथा खोपको पहुँज बढाउन सके नयाँ भेरियन्टसँग लड्न गाह्रो नहुने विज्ञहरू बताउँछन् । ‘अक्सिजन, बेड र जनशक्ति अभावका कारण दोस्रो लहरमा बचाउन सकिने धेरैको मृत्यु भयो’ एक चिकित्सक भन्छन्, ‘अब यो गल्ती दोहोर्याउनुहुन्न । अहिलेदेखि नै तयारी गर्नुपर्छ ।’
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4