
१३ पुस, काठमाडौं। यमनमा रहेको साउदी अरेबिया नेतृत्वको सेनाले हुथी विद्रोहीविरुद्ध सोमबार गरेको कारबाहीमा परेर कम्तीमा १२ जना विद्रोहीको मृत्यु भएको छ ।
उक्त सेनाले यमनको दक्षिणपश्चिमी क्षेत्र ताइजमा सो आक्रमण गरेको थियो । उक्त आक्रमणमा परेर १२ जना विद्रोही मारिएका त्यहाँका एकजना सैनिक अधिकारीले जानकारी दिएका छन् ।
गत महिनादेखि त्यहाँ सो सेनाले कारबाहीलाई निरन्तरता दिएको बताइएको छ । सो सेनाले यमनको मध्यक्षेत्रमा पर्ने मारिब प्रान्तमा हुथीहरूका विरुद्धमा कारबाही गर्ने गरेको थियो । त्यस्तै हालैका केही दिनहरूमा पनि सेनाले सो कारबाहीलाई निरन्तरता दिएको बताइएको छ ।
मारिबमा हुथी विद्रोहीहरूको कार्यालय रहेको स्थानलाई पनि सेनाले घेरा हालेर आक्रमण गरी ध्वस्त बनाएको जनाएको छ । गत हप्ता मात्र पनि साउदी अरेबिया नेतृत्वको सैन्य समूहले गरेको कारबाहीका क्रममा ४० जनाभन्दा बढी हुथी मारिएका थिए ।
मारिबबाट लखेटिइका हुथी विद्रोहीहरूले पछिल्लो समयमा ताइज प्रान्तमा अखाडा जमाउन थालेको सूचनाका आधारमा साउदी अरेबियाको नेतृत्वको सेनाले कडा मात्रामा निगरानी गर्ने गरेको बताएको छ ।
प्रतिक्रिया 4