
१६ पुस, काठमाडौं । शुक्रबारबाट देशभर रिलिज भएको नेपाली चलचित्र ‘कठपुतली’ हेर्न दर्शकको उत्साहजनक उपस्थिति रहेको निर्माणपक्षले बताएको छ ।
शुक्रबार विशेषगरी काठमाडौंमा दर्शकको उपस्थिति सुखद् छ । कोरोना महामारीपछि नेपाली चलचित्र हेर्न दर्शक हलमा नफर्किएको अवस्थामा ‘कठपुतली’ले भने आशा जगाएको छ ।
शुक्रबार काठमाडौंको छायाँ सेन्टरमा यो चलचित्रका लागि एक शो मात्र उपलब्ध थियो । तर, दर्शकको माग आएपछि शनिबार चलचित्रका लागि क्यूएफएक्सले छायाँ सेन्टरमा मात्र ४ शो उपलब्ध गराएको छ । यस्तै, काठमाडौंकै सिभिल, क्यूएफएक्स भक्तपुर, ललितपुरको लबिम मल लगायतका हलमा पनि शनिबारको शो बढाइएको छ ।
चलचित्र ‘कठपुतली’को वर्ड अफ माउथ समेत सुखद् रहेकाले दर्शक अझै बढ्ने निर्देशक भीमसेन लामाको आशा छ ।
हरर जनराको यो चलचित्र हेर्दा दर्शकले मनोरञ्जन लिएको र नेपालमा पनि हरर जनरामा राम्रो चलचित्र बनेको भन्दै प्रतिक्रिया दिएको निर्देशक लामाले जानकारी दिए । चलचित्रलाई समीक्षक र चलचित्रकर्मीले पनि सुखद प्रतिक्रिया दिएका थिए ।
प्रतिक्रिया 4