
१९ पुस, काठमाडौं । सरकारले मंगलबारदेखि कोभिड–१९ विरुद्धको अतिरिक्त खोपको मात्रा दिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार भेरोसेलको पूर्ण मात्रा लगाएको तीन महिना पुगेका ६० वर्षमाथिका नागरिक र दीर्घरोगीलाई अतिरिक्त खोप दिन लागिएको हो ।
रोग प्रतिरोधात्मक क्षमता कम भएका दीर्घरोगीलाई अतिरिक्त खोप दिइने उनले बताए । ‘भेरोसेल वा सिनोफार्मको खोप लगाएका ६० वर्षमाथिका जेष्ठ नागरिक र जुनसुकै खोप लगाएका दीर्घरोगीलाई थप एक मात्रा दिने निर्णय भएको छ,’ डा. अधिकारीले अनलाइनखबरसँग भने, ‘भोलिदेखि नै खोप कार्यक्रम सञ्चालन भइरहेका केन्द्रबाट खोप दिन सुरू गरिने छ ।’
मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, सक्रिय क्यान्सर रोगीहरु, अंग प्रत्यारोपण गरेका बिरामी, एचआईभी पोजेटिभ भएका बिरामी, उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामीहरुले अतिरिक्त खोप पाउने छन् ।
अतिरिक्त मात्रा खोप लगाउन पुरानो खोप कार्ड लिएर खोप केन्द्रमा जानुपर्नेछ । साथमा उपचार गरेको कागजात लिएर जानुपर्नेछ ।
कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमणलाई मध्यनजर गर्दै सरकारले जोखिम वर्गलाई अतिरिक्त खोप दिने निर्णय गरेको हो ।
प्रतिक्रिया 4