+
+
बर्जु महोत्सवमा तोडफोड :

खेसारीलाल यादवले भने- दोषी आयोजक, मलाई क्षतिपूर्ति दिनुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ५ गते १०:४३

५ माघ, विराटनगर । तेस्रो बर्जु महोत्सव आयोजक समितिले आफूलाई गुमराहमा राखेको भारत बिहारका चर्चित भोजपुरी कलाकार खेसारीलाल यादवले बताएका छन् ।

यादव मंगलबार बर्जुमा आयोजित कार्यक्रममा आउने कार्यसूची थियो । कार्यक्रममा आउँदै गर्दा उनलाई प्रशासनले विराटनगरमा नै रोकेको थियो । आयोजकले टिकट बिक्री गरे पनि कलाकार नबोलाएको भन्दै आक्रोशित भीडले स्टेज तोडफोड गर्दै चारवटा स्कोरपियो गाडीमा आगजनी गरे । घटनापछि सार्वजनिक प्रतिक्रिया दिंदै उनले सम्पूर्ण दोष आयोजकको भएको बताउँदै आफूलाई क्षतिपूर्ति दिनुपर्ने बताए ।

पत्रकारहरुसँग कुरा गर्दै यादवले तोडफोड र आगजनीबाट आफ्नो डेढ करोडको क्षति भएको दाबी गरेका छन् । गाडीहरू, बाध्ययन्त्रमा क्षति पुगेको उनको भनाइ छ । यो घटनामा स्थानीय प्रशासन र सर्वसाधारण कसैको पनि दोष नरहेको उनले बताए ।

उनले बर्जुमा टिकट सो छ भन्ने विषयमा आफूलाई जानकारी नै नगराएको बताए । ‘महोत्सव आयोजक समितिले कुनै जानकारी दिएन्’ उनले भने, ‘प्रशासनले अगाडि नै रोक्न निर्देशन दिएको रहेछ, तर मलाई गुमराहमा राखे, यसमा मेरो, प्रशासन र सर्वसाधारणको कुनै कमजोरी छैन ।’

पर्यटकीयस्थल बर्जु तालमा पुस २३ गतेदेखि बर्जु महोत्सव जारी थियो । कोरोना संक्रमण बढेपछि पुस २७ गते स्थानीय प्रशासनले महोत्सव रोक्न निर्देशन दिएको थियो । तर अटेर गरेपछि माघ २ गते पुनः रोक्नका लागि लिखित निर्देशन दिइयो । त्यसपछि पनि आयोजक समितिले मंगलबार खेसारीलाललाई बोलाएको थियो । स्थानीय प्रशासनले कार्यक्रमको अनुमति नभएको र सुरक्षा दिन नसक्ने भन्दै यादवलाई बीच बाटोमै रोकेर होटलमा राखेको थियो ।

दिउँसो १२ बजेसम्म उनी महोत्सवस्थलमा नपुगेपछि आक्रोशित भीडले भारतीय नम्बर प्लेटका चारवटा स्कोरपियो गाडीमा आगजनी गर्नुका साथै स्टेज, साउन्ड सिस्टम र लाइटहरु तोडफोड गरेको प्रहरीले जनाएको छ ।

कलाकार यादवले तोडफोडबाट डेढ करोडको क्षति पुगेको जानकारी पाएको भन्दै आयोजकले क्षतिपूर्ति दिनुपर्ने बताए । ‘प्रशासनले दुई दिनअघि नै रोक लगाएपछि महोत्सव स्थगित गर्नुपर्ने थियो । तर आयोजकले टिकट बिक्री गर्‍यो, तर मलाई टिकट सो बारेमा जानकारी थिएन’ उनले भने, ‘मलाई पनि गुमराहमा राखियो ।’

कोरोनाका कारण प्रशासनले कार्यक्रम गर्न रोक लगाएको विषयमा आयोजकले आफूलाई केही नभनेको उनले बताए । ‘आयोजकले प्रशासनको निर्देशनका बारेमा जानकारी दिएको भए म कार्यक्रमका लागि आउने थिइनँ’ यादवले भने, ‘तर ढाँटेर बोलाएकाले मलाई प्रशासनले कार्यक्रममा जान दिएन ।’

आयोजकले उनी आउने भन्दै तीन सय र पाँच सय दरका टिकट अग्रिम बिक्री गरेको थियो । कलाकार नबोलाएको भन्दै आक्रोशित भीडले आगजनी र तोडफोड गरेको गाउँपालिका-६ का वडाअध्यक्ष विनोदकुमार चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?