
६ चैत, काठमाडौं । पुनः छायांकन सुरु हुन लागेको फिल्म ‘२ नम्बरी’मा अभिनेत्री वर्षा राउत नरहने भएकी छन् । निर्माताले उनको स्थानमा अर्की नायिकालाई भित्र्याउने भएको छ ।
अभिनेत्री राउतले आफूले अर्को प्रोजेक्टमा समय दिनुपर्ने र सो फिल्मको छायांकन तालिका जुधेपछि छाड्ने निर्णय गर्नुपरेको बताएकी छन् । तर प्रस्तुतकर्ता किरण नेपालीले चाहिं राउतलाई निकालिएको बताएका छन् ।
आरोप–प्रत्यारोप जे भएपनि वर्षा ‘२ नम्बरी’मा नरहने निश्चित भएको छ । ‘सोमबार बेलुकासम्म वर्षाको ठाउँमा नयाँ नायिका लिनेछौं,’ नेपालीले अनलाइनखबरसँग भने । उनका अनुसार पूजा शर्मा, उपासना सिंह ठकुरी र साम्राज्ञी राज्यलक्ष्मी शाहमध्ये एकजना अभिनेत्री फिल्ममा फाइनल हुनेछन् ।
जबर्जस्ती करणी मुद्दामा पल शाहलाई प्रहरी हिरासतमा राखिएको, अभिनेता जयनन्द लामाको निधन भएको र दुई वर्षसम्म फिल्म छायांकन नहुँदा ‘कन्टिन्युटी’मा समस्या भएको भन्दै निर्माताले पुनः छायांकन गर्ने तयारी गरेका छन् । चैत दोस्रो सातादेखि पोखरा आसपासमा फिल्मको छायांकन सुरु गर्ने तयारी छ ।
पलको ठाउँमा यसैसाता सौगात मल्ल तय भएका छन् । दयाहाङ राई र भुटानी अभिनेत्री उगेन छोदेन पनि मुख्य भूमिकामा छन् । फिल्ममा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) पनि निर्माताको रुपमा रहने भएका छन् ।
प्रतिक्रिया 4