+
+

सुदूरपश्चिममा थपिए ३ लाख २७ हजार मतदाता

रामहरि ओझा रामहरि ओझा
२०७८ चैत २० गते १६:५६

२० चैत, डोटी । सुदूरपश्चिम प्रदेशमा तीन लाख २७ हजार पाँच सय दुई मतदाता थपिएका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता संख्या अनुसार वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार एक सय ५० जनाको मतदाता नामावलीमा नाम समावेश भएको छ ।

२०७४ साल असार १४ गते भएको स्थानीय तह निर्वाचनमा यस प्रदेशमा १३ लाख चार हजार ६ सय ४८ मतदाता रहेका थिए । पाँच वर्षको अवधिमा प्रदेशमा २५ प्रतिशत मतदाता थपिएका छन् ।

निर्वाचन आयोगका अनुसार यस अवधिमा कैलालीमा सवैभन्दा बढी एक लाख २१ हजार आठ सय ४५ मतदाता थपिएका छन् ।

यस जिल्लामा गत निर्वाचनमा चार लाख तीन हजार दुई सय ८० मतदाता रहेकामा हाल पाँच लाख २६ हजार एक सय २५ पुगेका छन् । पाँच बर्षको अवधिमा कैलालीमा ३० प्रतिशतले मतदाता बृद्धि भएका छन् ।

सुदूरपश्चिम प्रदेशको अर्को तराईको जिल्ला कञ्चनपुरमा पाँच बर्षको अवधिमा २५ प्रतिशत मतदाता वृद्धि भएका छन् । गत निर्वाचनमा यस जिल्लामा दुई लाख ३५ हजार सात सय ३५ मतदाता रहेकामा हाल दुई लाख ९५ हजार तीन सय ५४ मतदाता पुगेका छन् ।

प्रदेशका सात पहाडी जिल्लाहरुमध्ये बाजुरा जिल्लामा सवैभन्दा बढी २७ प्रतिशतले मतदाता संख्यामा वृद्धि भएको छ । गएको स्थानीय तहको निर्वाचनमा यस जिल्लाको मतदाता संख्या ६४ हजार नौ सय ५० रहेकामा हाल ८२ हजार ६ सय ९० पुगेका छन् ।

बझाङ्ग जिल्लामा गत निर्वाचनभन्दा २४ हजार पाँच सय २६ अर्थात् २५ प्रतिशत मतदाता थपिएका छन् । गत निर्वाचनमा बझाङ्गमा कुल मतदाता संख्या ९७ हजार ६ सय ११ रहेकामा हाल एक लाख २२ हजार एक सय ३७ पुगेका छन् ।

पाँच बर्षको अवधिमा अछाम जिल्लामा २२.३४ प्रतिशत मतदाता थपिएका छन् । गत स्थानीय तहको निर्वाचनमा यस जिल्लामा एक लाख २७ हजार सात सय ४२ मतदाता रहेकामा हाल एक लाख ५६ हजार दुई सय ८० पुगेका छन् ।

डोटीमा २२.३१ प्रतिशत मतदाता थपिएका छन् । यस जिल्लामा हाल एक लाख २३ हजार पाँच सय ५४ मतदाता पुगेका छन् । गत स्थानीय तहको निर्वाचनमा एक लाख एक हजार २१ मतदाता रहेका थिए ।

गत स्थानीय तहको निर्वाचन भन्दा दार्चुला जिल्लामा झण्डै २१ प्रतिशतले मतदाता संख्यामा बृद्धि भएको छ । यस जिल्लामा ०७४ को स्थानीय तहको निर्वाचनमा कुल ७३ हजार ५१ मतदाता रहेकामा हाल ८८ हजार दुई सय ८५ मतदाता रहेका छन् ।

डडेल्धुरामा यो अवधिका १४ हजार एक सय ४४ मतदाता बढेका छन् । यस जिल्लामा गत निर्वाचनमा ७५ हजार नौ सय ७५ रहेकामा हाल ९० हजार एक सय १९ पुगेका छन् ।

यस्तै बैतडीमा यो अवधिका २३ हजार तीन सय २३ मतदाता थपिएका निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कले देखाउँछ । यस जिल्लामा गत स्थानीय तह निर्वाचनमा एक लाख २५ हजार दुई सय ८३ मतदाता रहेकामा ०७९ साल बैशाख ३० गते हुने निर्वाचनका लागि एक लाख ४८ हजार ६ सय ६ मतदाता कायम भएका छन् ।

गत स्थानीय तहको निर्वाचनमा यस प्रदेशमा कुल मतदाता संख्याको ७७.२१ प्रतिशत अर्थात् १० लाख सात हजार तीन सय ५६ जनाले मतदात गरेको निर्वाचन आयोगको “स्थानीय तहको निर्वाचन, २०७४ : एक झलक” नामक पुस्तिकामा उल्लेख छ ।

० प्रतिशत भन्दा बढी मतदाता तराईमा

सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये दुई तराईका जिल्ला छन् । अन्य सात जिल्ला पहाडी क्षेत्रमा रहेका छन् । तर मतदाता संख्याको हिसावले तराईका दुई जिल्लामा ५० प्रतिशतभन्दा बढी देखिएका छन् । कुल १६ लाख ३२ हजार एक सय ५० मतदातामध्ये आठ लाख, २० हजार चार सय ७९ मतदाता तराईका दुई जिल्लामा छन् ।

पाँच बर्षको अवधिका तराईका जिल्लाहरुको मतदाता संख्यामा झण्डै २९ प्रतिशतले बृद्धि भएको छ । पहाडि जिल्लाको मतदाता संख्यामा भने करीव २२ प्रतिशतले बृद्धि भएको छ ।

पुरुषभन्दा महिला मतदाता बढी

सुदूरपश्चिम प्रदेशमा पुरुषभन्दा महिला मतदाता संख्या बढी रहेको छ । निर्वाचन आयोगका अनुसार प्रदेशका कुल १६ लाख ३२ हजार एक सय ५० मतदातामध्ये आठ लाख ३१ हजार चार सय ७० महिला मतदाता रहेका छन् ।

यो संख्या कुल मतदाता संख्याको करीव ५१ प्रतिशत हो । पुरुष मतदाता संख्या आठ लाख ६ सय ८० रहेका छन् । यस हिसावले सुदूरपश्चिम प्रदेशमा पुरुषभन्दा ३० हजार सात सय ९० ले महिला मतदाता संख्या बढी छ ।

प्रदेशका नौ जिल्लामध्ये कैलाली, अछाम, डोटी, डडेल्धुरा, बैतडी र कञ्चनपुर गरि ६ जिल्लामा पुरुषभन्दा महिला मतदाता संख्या धेरै छ । यस्तै, बाजुरा, दार्चुला र बझाङ्गमा महिला मतदाताभन्दा पुरुष मतदाताको संख्या बढी रहेको निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणले देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?