+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

चुनाव प्रचार सामग्री बनाउन भ्याई नभ्याई

अंगद सिंह अंगद सिंह
२०७८ चैत २२ गते १७:०४

२२ चैत, काठमाडौं । काठमाडौंको बागबजारका आर्ट पसल बाहिर राजनीतिक दलका झण्डा झुन्डिएका छन् भने भित्र टेबुल र र्‍याकमा क्याप, ब्याच, टिसर्टका साथ खाली कपडा थुप्रिएका छन् ।

कोही चुनावी सामग्रीको डिजाइन तयार गरिरहेका छन्, त कोही छापाइमा व्यस्त ।

बागबजारका आर्ट पसलमा देखिएको यो दृश्यले चुनाव नजिकिएको झल्को दिन्छ ।

‘चुनावी माहोल सुरु भइसक्यो, काम गर्न भ्याइनभ्याइ हुन थालिसक्यो,’ कामना आर्टसका नरेश चौधरी भन्छन् ।

चौधरीसहित चार जनाले राष्ट्रिय जनमुक्ति पार्टीको सात हजार झण्डा छापिसकेका छन्, तीन हजार छाप्न बाँकी छ । भन्छन्, ‘यो सकेर माओवादी र अरु पार्टीको काम गर्नुपर्ने छ ।’

चौधरीले चुनावका लागि क्याप, टिसर्ट, ब्याच तथा अन्य सामग्री छाप्न गोदाममा कपडा भरिसकेका छन् ।

दैनिक पाँच हजारभन्दा बढी अर्डर आउन थालेको छ । झण्डा र टोपीको माग बढी छ । दैनिक १ लाख बराबरको कारोबार हुन्छ । ‘चार जनाले काम नभ्याएकाले गाउँबाट चार जना मगाएको छु । आठ–दश जना भयो भने सजिलो हुन्छ’, उनी सुनाउँछन् ।

बागबजारका अरु आर्ट पसलको अवस्था पनि यस्तै छ । सबैमा चुनाव प्रचार सामग्री छाप्ने चटारो छ ।

माओवादी केन्द्रको चुनाव प्रचार सामग्री क्यापको डिजाइन गरिरहेका स्केच मिडियाका सुरज खड्गी भन्छन्, ‘अहिले दैनिक एक–दुई हजार सामग्री छाप्नुपर्नेमा केही दिनपछि दशौं हजार छाप्नुपर्छ ।’

दैनिक दुई हजारसम्म चुनाव सामग्री छापिरहेका उनलाई चुनावी गतिविधि बढाएपछि काम अझै तिव्र हुन्छ भन्ने लागेको छ ।

उनलाई क्याप बनाउन माओवादी केन्द्रको चन्द्रागिरी नगर कमिटीले अर्डर दिएको हो ।

राजनीतिक दलहरुले उम्मेदवारको टुंगो लगाएपछि माहोल अर्कै हुने कामना आर्टका चौधरी बताउँछन् । ‘काम त अहिले पनि निकै आइरहेको छ, वैशाखमा चाप झनै थेगिनसक्नु हुन्छ’, उनले अनलाइनखबरसँग भने । यो वर्ष अघिल्लो स्थानीय तहको निर्वाचनभन्दा बढी व्यापार हुने चौधरीको आकलन छ ।

प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र र राप्रपाको महाअधिवेशनमा प्रचार सामग्री बनाएको अनुभवले उनले यो आकलन गर्न सकेका हुन् ।

७४ कै उधारो उठाउन बाँकी

गोल्ड प्रिन्टका दिलु श्रेष्ठलाई भने चुनाव प्रचार सामग्रीको अर्डर लिने बेला डर लाग्छ । कारण हो, २०७४ सालको निर्वाचनमा गरेको कामको पैसा नपाउनु ।

‘अर्को चुनाव आइसक्यो, तर २०७४ कै डेढ–दुई लाख रुपैयाँ लिन बाँकी छ’, श्रेष्ठ भन्छन्, ‘राजनीतिक दल काम गराउँछन् तर समयमा पैसा दिँदैनन् । जोखिम लिएरै काम गरिरहेको छु आशा गरौं पार्टीले समयमै पैसा दिन्छ ।’

न्यू एभरेष्ट आर्टका उदय कुमार पनि दैनिक ५०० देखि हजारसम्म चुनाव सामग्री छापिरहेका छन् । तर चुनाव नजिकिँदै जाँदा कपडाको मूल्य बढ्ने चिन्ता छ । ‘चुनावजन्य सामग्री बनाउन कपडा धेरै चाहिन्छ । कपडाको मूल्य बढाउन व्यवसायीले कपडा लुकाउन थालिसकेका छन्,’ उदय कुमारले भने ।

लेखक
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?