
२३ वैशाख, बुटवल । नेकपा एकीकृत समाजवादी सिद्धार्थनगर नगरपालिकाले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि ३१ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गरी मेयर पदका उम्मेदवार कुलेन्द्र पुन, नगर अध्यक्ष रामबहादुर बस्नेत, उपाध्यक्ष शार्दुल मयुर कसौधन लगायतले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
प्रतिवद्धतापत्रमा शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास, फोहोरमैला र पार्किङ व्यवस्थापन, भ्रष्टाचारमुक्त नगर बनाउनेमा जोड दिइएको छ ।
प्रतिबद्धता पत्र सार्वजनिक गर्दै मेयर उम्मेदवार पुनले आफूहरुले जे गर्न सकिन्छ, त्यही कुरा मात्रै अघि सारेको जनाए । प्रतिबद्धता पत्रमा फोहोरमैलालाई उचित व्यवस्थापनसहित फोहोर प्रशोधन उद्योग निर्माणलाई पहिलो प्रथामिकतामा राखिएको छ ।
यस्तै, पर्यटन क्षेत्रको विकास नै सिद्धार्थनगरको समृद्धिको मूल आधारको भएको बताउँदै यसको विकासलाई जोड दिइएको छ । नगरलाई कृषि उद्योग र पर्यटन व्यवसायबाट आत्म निर्भर बनाइने प्रतिबद्धतामा उल्लेख गरिएको छ ।
पार्किङ पूर्वाधारमा जोड दिने र नयाँ बन्ने पूर्वाधारहरुमा अन्डरग्राउन्ड पार्किङको व्यवस्थालाई मिलाइने जनाइएको छ । सरसफाइयुक्त, प्रदुषणमुक्त बनाउन र हरित नगरपालिका निर्माणमा विशेष पहल गर्ने, स्वास्थ्य बीमालाई कडाइका साथ कार्यान्वयन गर्ने, राजश्व वृद्धि भन्दा दायरालाई फराकिलो पार्ने, एकीकृत सम्पत्ति करमा लक्षित वर्गलाई विशेष छुट दिइने, नगरपालिका भित्र बन्ने र बनिसकेका पूर्वाधारहरुलाई अपांगमैत्री, महिलामैत्री, बालमैत्री, जेष्ठ नागरिकमैत्री बनाउने जनाइएको छ ।
नगरभित्र शान्ति, अमनचयनको अनुभूति गराउनुका साथै भष्ट्राचारमुक्त नगरको रुपमा स्थापित गरिने पुनले बताए । ‘नगरमा भए गरेका र हुने पूर्वाधारहरुमा क्वान्टिटीमा भन्दा क्वालिटीमा जोड दिने, नगर क्षेत्रभित्र आइपर्ने समस्या तथा जनगुनासालाई यथासक्य सुन्ने, बुझ्ने र समाधान गर्ने प्रतिवद्धतापत्रमा उल्लेख छ ।
प्रतिक्रिया 4