+
+

मतगणनास्थलमा तारजाली : निर्वाचनकै हुर्मत लिने प्रयास

मत गणनास्थलको सुरक्षाका नाममा लोकतन्त्र र निर्वाचनकै हुर्मत लिने प्रयास सुरु भइसकेको छ । काठमाडौ, भरतपुर, पोखरा, भक्तपुर  लगायतका स्थानमा तारजाली राखेर मतगणना स्थल बनाइएको छ ।

कृष्ण ज्ञवाली कृष्ण ज्ञवाली
२०७९ वैशाख २९ गते २२:२७
काठमाडौंको राष्ट्रिय सभागृहमा बनाइएको मतगणनास्थल ।

२९ वैशाख, काठमाडौं । शुक्रबार देशभरका ७५३ स्थानीय तहमा करिव ३६ हजार जनप्रतिनिधि चयनका लागि निर्वाचन हुँदैछ । हरेक ५/५ वर्षमा हुने निर्वाचनलाई लोकतन्त्रको उच्चतम अभ्यास मानिन्छ । तर मत गणनास्थलको सुरक्षाका नाममा लोकतन्त्र र निर्वाचनकै हुर्मत लिने प्रयास सुरु भइसकेको छ ।

देशभर मतदानस्थलसँगै मतगणनास्थल पनि धमाधम बनाइएको छ । तर मतगणनास्थलमा भने तारजाली राखिएको छ ।

चितवनको भरतपुर महानगरपालिकामा ग्रिल वर्कसपका प्राविधिक झिकाएर अस्थायी वेल्डिङ गरेर जाली राखी मतगणनास्थल बनाइएको छ । काठमाडौं, भक्तपुर, पोखरा  लगायतका स्थानमा पनि तारजाली राखेर मतगणना स्थल बनाइएको छ ।

‘स्थानीय स्तरको जोखिम हेर्नू, खतरा र चुनौती छ भने सुरक्षाका उपाय अपनाउनू भनेर हामीलाई निर्देशन आएको थियो । निर्णय गर्न स्वतन्त्र थियौं’ एक सहायक निर्वाचन अधिकृत भन्छन्, ‘यसबारे श्रीमान (मुख्य निर्वाचन अधिकृत) लगायतसँग सरसल्लाह भयो । हिजो (०७४ सालमा) चितवनमा मतपत्र च्यातिएका कारण जिल्ला न्यायाधीश कवि न्यौपाने अहिलेसम्म आलोचनामुक्त हुनुभएको छैन । हामीले किन जोखिम लिने भनेर तारजाली राख्यौं ।’

ठाउँ अनुसार तारजाली राख्नुपर्ने कारणबारे निर्वाचन व्यवस्थापनमा खटिएका कर्मचारीहरुको प्रतिक्रिया फरक–फरक छ । काठमाडौं महानगरपालिकाको गणनास्थल राष्ट्रिय सभागृहमा करिव एक हजारको हाराहारीमा रहने दलका प्रतिनिधिहरुको भीड व्यवस्थापन गर्न तारजाली राखिएको एक कर्मचारीले बताए ।

‘करिव ८ सय उम्मेदवार छन्, एकएक जना प्रतिनिधि रहँदा पनि भीडभाड हुने र व्यवस्थापन गर्न कठिन हुने भएकाले तारजाली राखेका हौं,’ उनले भने ।

जबकी निर्वाचन आयोगले यसपटक सबै मत गणनास्थलमा सीसीटीभी जडान गर्ने, तर तारजाली नराख्ने भनेको थियो । ‘हाम्रो कानुन र आयोगको निर्देशनले सुरक्षित साथ मतगणना गर्ने भनिएको छ । तारजाली राख्ने वा अशोभनीय देखिने हर्कत गर्न निर्देशन दिइएको छैन । तदनुसार रिसोर्स (पैसा) पनि उपलब्ध गराइएको छैन,’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अनलाइनखबरसँग भने, ‘लोकतन्त्रमा लोकतान्त्रिक आचारण, व्यवहार, पद्धति र निर्वाचनको क्रियाकलाप पनि लोकतान्त्रिक हुनुपर्छ । सम्बन्धित निर्वाचन अधिकृत र सुरक्षा निकायले तदनुसार ध्यान दिन जरुरी छ ।’

चितवनको भरतपुरमा मतगणनास्थलमा जाली राख्दै प्राविधिकहरु ।

तर सुरक्षाका नाममा निर्वाचन अधिकृतहरुले धेरै जसो ठाउँमा तारजाली राखेका छन् । जहाँ चिडियाखानामा जनावर झैं थुनिएर गणकहरुले मतपत्र केलाउने छन् भने दलका प्रतिनिधिहरुले तारजाली बाहिर बसेर उनीहरुलाई चियाउने छन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल र एमाले उम्मेदवार देवी ज्ञवालीबीच तीव्र प्रतिस्पर्धा चलेका बेला माओवादी केन्द्रका प्रतिनिधि मधु न्यौपाने र द्रोण शिवाकोटीले मतपत्र च्यातेका थिए । त्यसपछि दुई वडाको मतगणना स्थगित भयो । मतपत्र च्यातिएको वडामा फेरि निर्वाचन हुँदा दाहाल निर्वाचित भएकी थिइन् ।

त्यसपछि ०७४ सालमै तेस्रो चरणमा मधेस प्रदेशमा भएको स्थानीय चुनावको मतगणनाका क्रममा पनि धेरै ठाउँमा तार जाली राखियो ।

२०७४ कै मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणनाका क्रममा पनि त्यही अभ्यास भयो । यो पटक त त्यो अभ्यासलाई काठमाडौं उपत्यकासहित देशभर अनिवार्य जस्तै बनाइएको छ । जबकी निर्वाचन सुरक्षाकै लागि भनेर झण्डै १ लाख म्यादी प्रहरी भर्ना गरिएको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै नेपाली सेना समेत परिचालन गरिएको छ ।

मतगणना स्थलको सुरक्षा दिनु पर्ने निकायले जोखिम नलिने नाममा तारजाली राख्नु लोकतन्त्र र निर्वाचनकै खिल्ली उडाउने कदम भएको एक पूर्व आयुक्त बताउँछन् । भन्छन्, ‘कुनै एक ठाउँमा कुनै एउटा बेइमानले मतपत्र च्यातेको नाममा हाम्रो लोकतन्त्र र निर्वाचनकै खिल्ली उडाउने काम भयो ।’

संवैधानिक कानूनका ज्ञाता काशीराज दाहाल पनि मतगणना स्थलमा तारजाली राखेर मत गन्नुपर्ने अवस्था आउनु लोकतन्त्रका लागि सुखद पक्ष ठान्दैनन् । ‘निर्वाचन आयोगले सतर्कता अपनाउनु उचित हो, तर शंकैशंकामा अरुतिर पनि यस्तै होला भनेर तारजाली लगाउनु त विडम्बना भयो,’ उनी भन्छन्, ‘कताकता हामीमा लोकतन्त्रलाई संस्थागत गर्ने आचरण र व्यवहार भएन कि झैं लाग्छ । संविधानमा लेखिएको लोकतन्त्र व्यवहारमा ल्याउन दल र तिनका प्रतिनिधि जनताप्रति जवाफदेही हुनुपर्छ ।’

लेखकको बारेमा
कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?