+
+
काठमाडौं महानगरपालिका :

एमाले र कांग्रेसले आफ्नै ‘गढ’बाट पाएनन् मेयरमा भोट

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ जेठ ४ गते २२:२३

५ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको ३२ वटा वडामध्ये ४ वटा वडा (१,२,३ र ५ नं.) को मतपरिणाम सार्वजनिक भएको छ । पाँच वटै वडाको वडाअध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

तर, मेयर पदमा भने एमालेकै उम्मेदवार केशव स्थापितले स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) भन्दा कम मत पाएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको तर्फबाट साझा उम्मेदवार रहेकी सिर्जना सिंहले पनि वडा तहमा गठबन्धनले पाएको भन्दा निकै कम मत पाएकी छन् ।

वडामा पार्टी,  मेयरमा बालेन

जारी मतगणनालाई नियाल्दा दलीय भोट वडाअध्यक्ष र सदस्यमा खसेको छ । तर, मेयरमा बालेनले भोट पाएका छन् ।

निर्वाचन आयोगका अनुसार वडा नं १ बाट एमालेका भरतलाल श्रेष्ठ ६ सय २२ मतका साथ अध्यक्षमा विजयी भएका छ्न् । उनीसँगै ७५९ मतका साथ एमालेकै सदस्य उम्मेदवार रसला तण्डुकार विजयी भएकी छन् । तर, सोही वडाबाट एमालेकै मेयर उम्मेदवार केशव स्थापितले भने ३ सय ६५ मत पाएका छन् ।

अर्थात् वडा नम्बर १ मा अध्यक्षमा निर्वाचित श्रेष्ठले भन्दा मेयर उम्मेदवार स्थापितले २५७ कम मत पाएका छन् ।

वडा नं १ बाट स्वतन्त्र उम्मेदवार बालेनले ७८३ मत ल्याउँदा एमालेका उम्मेदवार स्थापितले ३६५ र कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ४५१ मत पाएकी छन् ।

माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समेत समर्थन पाएकी कांग्रेस उम्मेदवार सिंहले पनि आफ्नो पार्टीका वडाध्यक्षको उम्मेदवारले भन्दा कम मत पाएकी छन् ।

वडा नं १ मा कांग्रेसका वडाध्यक्षको उम्मेदवार किरण श्रेष्ठले ५९८, नेकपा माओवादी केन्द्रका अर्जुन महर्जनले ३८, एकीकृत समाजवादीका पुष्पकाजी श्रेष्ठले ३६ मत गरी कूल ६७२ मत पाएका छन् । सिंहले गठबन्धनले वडा अध्यक्षमा पाएको भन्दा २२१ कम मत पाएकी छन् ।

वडा नं २ मा बालेनले एक हजार २२०, स्थापितले ७२८ र सिंहले ४९७ मत प्राप्त गरेकी छन् । वडा नं २ को अध्यक्षमा निर्वाचित एमालेका राजेन्द्रकुमार श्रेष्ठले मेयरका उम्मेदवार स्थापितले भन्दा ६४९ मत बढी अर्थात् १ हजार ३७७ मत पाए ।

कांग्रेसका तर्फबाट वडा नं २ का उम्मेदवार सूर्य लाल महर्जनले ९६३, माओवादी केन्द्रका रमेश डंगोलले १७७, एकीकृत समाजवादीका उदय रत्न कंसाकारले ७४ र जसपाका अनोज शाहीले १८ मत पाएका छन् । गठबन्धनको मत जोड्दा १ हजार २३५ हुन आउँछ । तर, गठबन्धनका तर्फबाट मेयरका साझा उम्मेदवार सिंहले गठबन्धनले वडामा पाएको भन्दा ७३८ कम मत पाएकी छन् ।

वडा नं.३ र ५ को मत पनि वा नं. १ र २ को जस्तै छ । उम्मेदवार वडा नेतृत्वमा प्यानल नै विजयी हुँदा समेत मेयरमा पार्टीका उम्मेदवारले स्वतन्त्र उम्मेदवार बालेनले भन्दा कम मत पाएका छन् ।

एमालेका उम्मेदवार प्रेम थापाले वडाध्यक्ष जितेको काठमाडौं ३ मा मेयरमा बालेनलाई भन्दा स्थापितको भन्दा दोब्बरले कम छ । २ हजार १३८ मत ल्याएर थापा वडाध्यक्षमा विजयी भए । यो वडाबाट स्थापितले १ हजार २०३ मत पाए । जबकी, स्वतन्त्र उम्मेदवार बालेनले यही वडाबाट २४०६ मत ल्याएका छन् ।

यो वडाबाट गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले ११७० मत पाइन् । यो वडाको वडा अध्यक्षका प्रत्यासी कांग्रेसका राजेश अधिकारीले १४९१ मत प्राप्त गरे । गठबन्धनमा रहेको एकीकृत समाजवादीका दिपक केसीले ९६६ मत ल्याएका थिए ।

वडा नं. ५ बाट बालेन शाहले १५०१ मत ल्याउँदा केशव स्थापितले १०६६ र सिर्जना सिंहले ७२७ मत ल्याएका छन् ।

यो वडामा पनि कांग्रेस र एमालेका उम्मेदवारले वडाअध्यक्षको उम्मेदवारले भन्दा कम मत पाएका छन् । वडा नं. ५ मा एमालेका वीरेन्द्र प्रजापति एक हजार ८१८ मत ल्याएर विजयी भए । यो मेयरमा स्थापितले पाएको भन्दा ७५२ मत बढी हो ।

यही वडाको अध्यक्षका प्रत्यासी कांग्रेसका रमेश डंगोलले एक हजार ५७५ मत प्राप्त गरे । गठबन्धनमा रहेको जसपाका रोशन कुमार सिंहले १३ मत ल्याए । दुबैले कूल मत १ हजार ५८८ हुन्छ । तथ्याङ्कले यो वडामा गठबन्धनले वडामा पाएको मत भन्दा मेयरमा पाएको मत ८६१ ले कम भएको देखाउँछ ।

गढ एरियाको गणना

काठमाडौं महानगरपालिकाको मतगणना राष्ट्रिय सभागृहमा चलिरहेको छ । वडा नं. ४, ६, ७, २८, २९, ३०, ३१ र ३२ को मतगणना जारी छ । यी मध्ये वडा नम्बर ४, ३१ र ३२ लाई एमालेले आफ्नो गढ ठान्छ । वडा नं. ६, ७, २८, २९, ३० मा एमालेले कडा प्रतिस्पर्धा हुने पूर्वानुमान गरेको थियो ।

कांग्रेसले पनि यी वडाहरुबाट मेयरमा सिर्जना सिंहले राम्रो मत पाउने आश राखेको थियो । वडा नं. ६ र ७ को मतगणना हुन थालेपछि मेयरमा सिर्जना सिंहको अग्रता सुरु हुने कांग्रेस नेताहरुकोे पूर्वानुमान थियो ।

तर, एमाले र कांग्रेसले राम्रो मत आउने, कडा प्रतिस्पर्धा हुने वा आफ्नो गढ भनेका एरियाबाटै मेयरमा अपेक्षित भोट पाएका छैनन् । उनीहरुले भने जस्तो कडा प्रतिस्पर्धा पनि देखा परेको छैन्, बालेनले सुविधाजनक अग्रता लिइरहेका छन् ।

आफ्नै वडामा भने एमालेका मेयर उम्मेदवार स्थापितले केही मतले अग्रता लिएका छन् ।

मतगणना जारी रहेकाहरुमध्ये वडा नं २८ मेयर उम्मेदवार स्थापितको वडा हो । उनले आफ्नै वडामा बालेनलाई केही मतले पछि पारेका हुन् । वडा नं. २८ को ५०० मत गन्दा बालेनले १२८, स्थापितले १३६ र सिंहले १०० मत प्राप्त गरेकी छन् ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?