
११ जेठ, डोटी । डोटीको शिखर नगरपालिका वडा नं. ५ को नेतृत्व लिने दौडमा रहेकी रमा साउदलाई पनि अन्ततः पराजय हात पर्यो ।
वडाध्यक्षको उम्मेदवार हुनका लागि उनले पार्टीभित्रै पनि संघर्ष गरेकी थिइन् । वडाध्यक्षका आकाक्षी पुरुषहरुबचि सहमति जुट्न नसकेपछि रमालाई टिकट पाउन थोरै सहज भएको थियो ।
पुरुष प्रधान समाजमा टिकट पाउनमै लडाई लडेकी रमालाई चुनावी मैदान त्यति सहज देखिएन । उनको वडामा चार वडा सदस्यहरु उनको पार्टी नेपाली कांग्रेसबाट विजयी भएका छन् । तर रमाले भने आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार डमरु कार्कीसँग ६ मतले मात्रै पराजित हुनु पर्यो ।
कार्कीले तीन सय ७४ मत पाउँदा रमाले तीन सय ६८ मत मात्रै पाइन् । कांग्रेसको टिकटबाट रमाको टिममा लडेका नरवीर ऐन, माहारी साउद, जानकी कुमारी ओझा र पार्वती कुमारी बिक प्रतिस्पर्धी एमालेका उम्मेद्वारहरु भन्दा ५० मतको हाराहारीको अन्तरले बिजयी भए। तर रमाका लागि भने यो निर्वाचन फलदायी भएन ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसकै तर्फबाट वडा सदस्यमा उम्मेद्वार हुँदा रमा ४ सय १८ मत पाई बिजयी भएकी थिइन् ।
सदस्य पदमा निर्वाचित भएपछि रमा नगर कार्यपालिकाको सदस्य समेत भइन् । पाँच वर्ष स्थानीय तहको अनुभव बटुलेकी रमालाई यसपाली वडाध्यक्ष बन्ने सुर चल्यो । उनले वडाध्यक्षको उम्मेदवार बन्ने भन्दै कांग्रेसको बैठकमा आफ्नो दावी पेश गरिन् । पुरुष प्रधान समाजमा सुरुमा आफ्नो दावीलाई त्यति महत्व नदिइएको उनको अनुभव छ ।
तर, जव वडाध्यक्षका लागि दावेदार पुरुषहरुबीच सहमति जुटेन, तव रमालाई वडाको नेतृत्व गर्ने दौडमा भाग लिन बाटो खुल्यो । तर रमाले वडाको नेतृत्व गर्ने अवसर पाइनन् ।
प्रतिक्रिया 4