+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

नेपथ्यका अमृत गुरुङले गाएको ‘दोख’ फिल्मको शीर्ष गीत रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३ गते १७:४९

काठमाडौं । अनुप बराल निर्देशित फिल्म ‘दोख’को शीर्ष गीत रिलिज भएको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ‘वन चरी उड्यो’ बोलको गीत सार्वजनिक गरिएको हो ।

चर्चित लोकपप ब्यान्ड नेपथ्यका गायक अमृत गुरुङको स्वरमा रहेको यो गीत उनको पहिलो पाश्र्वगायन पनि हो । ‘दोख’ गायनसँगै उनले फिल्म संगीतमा करिअर थालेका छन् ।

गीत सार्वजनिक कार्यक्रममा गायक गुरुङ पनि उपस्थित थिए । उनले भने, ‘फिल्ममा गाउँदिन भनेर बसेको थिएँ । नजिकको साथी अनुपले आग्रह गरेपछि उसकै लागि दोखमा गीत गाएको हुँ ।’

श्रवण मुकारुङको शब्द र आभाषको संगीत रहेको गीतलाई नेपथ्य ब्यान्डले एरेन्ज गरेको हो । गीतमा फिल्मका अधिकांश कलाकारलाई प्रस्तुत गरिएको छ ।

लाइभ रेकर्डिङको प्रचलन लगभग हटिसकेको अवस्थामा ‘वन चरी उड्यो’ गीत भने लाइभ रेकर्डिङ गरिएको जनाइएको छ ।

‘सिर्जना गर्न साह्रै गाह्रो छ,’ कार्यक्रममा गुरुङले भने, ‘सिर्जनालाई माया गरिदिनुभयो भने अर्को सिर्जना गर्ने हौसला मिल्नेछ ।’ असार २४ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको पटकथा राजन कठेतले लेखेका हुन् ।

सशस्त्र द्वन्द्वकालमा सामुदायिक वनको मुद्दालाई दुई गाउँबीचको किचलोको कथा प्रस्तुत गरिएको छ । फिल्ममा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोयदीप श्रेष्ठ, राज थापा, सुरज मल्ल, कमल देवकोटा र साजन थापाको अभिनय छ ।

सविन ज्ञवाली र मनोज अधिकारी निर्माता हुन् । शैलेन्द्र कार्कीको छायांकन रहेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।

भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा रहेको फिल्मको एसोसिएट निर्माताको रुपमा सन्तोष पाठक, धर्म अधिकारी, प्रवीन पाठक, सुमिता आचार्य, दीपक खनाल र युवराज भट्टराई छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?