२७ भदौ, काठमाडौं । लागूऔषध तस्करहरुले प्रहरीलाई छक्याउन अनेक उपाय लगाउन थालेका छन् । यसैक्रममा कोलम्बियामा गर्भवती भएको बाहाना बनाएर कोकिन बोकेकी एक क्यानडेली युवती पक्राउ परेकी छिन् ।
स्थानीय प्रहरीका अनुसार ती महिला ठूलो पेट लिएर टोरेन्टो जाने फ्लाइटमा उड्ने तयारीमा थिइन् । पर्यटकका रुपमा आएकी उनलाई बोगटा अन्तराष्ट्रिय विमानस्थलमा गर्भवती भएको कति महिना भयो भनेर सुरक्षाकर्मीले सोध्दा उनले निकै रिसाएर जवाफ दिइन् । उनको गतिविधिबाट आशंका लागेपछि एक महिला प्रहरीले छामेर हेर्दा उनको नक्कली पेट निकै कडा र चिसो थियो । त्यसपछि उनले गर्भ ७ महिनाको भएको बताएकी थिइन् ।
प्रहरी अधिकारीहरुलाई महिला गर्भवती भएको विश्वास नलागेपछि चेकजाँचका लागि पठाइएको थियो । जाँचका क्रममा महिलाले लेटेक्सले बनेको नक्कली पेटभित्र दुईकिलो कोकिनले भरिएका दुईवटा थैला भेटिएका थिए ।
उनी गत अगष्टमा कोलम्बिया गएकी थिइन् । उनीविरुद्ध अब लागू औषध तस्करीको मुद्दा चलाइनेछ । उनका साथमा भेटिएको कोकिनको मूल्य ६० हजार डलर भएको प्रहरीले बताएको छ ।
सरकारी अधिकारीहरुका अनुसार कोलम्बिया जेलमा अहिले ८ सय ७४ विदेशी नागरिकहरु बन्दी अवस्थामा छन, उनीहरुमध्ये अधिकांश लागू औषध तस्कर हुन् ।
प्रतिक्रिया 4