
७ साउन, सुर्खेत । विवेकशील साझा पार्टीको कर्णाली प्रदेश पूर्वसंयोजक गेहेन्द्रप्रसाद दाहाल नेकपा एमालेमा प्रवेश गरेका छन् ।
एमाले प्रदेश कमिटीले वीरेन्द्रनगरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा दाहाललाई एमाले महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका हुन् ।
विवेकशील साझाका तत्कालिन केन्द्रीय अध्यक्ष रविन्द्र मिश्रले ‘विचार मन्दा माथी देश’ नामक राजनीतिक प्रतिवेदन ल्याएपछि दाहाल त्यसको विपक्षमा उभिएका थिए ।
विवेकशील साझाको कार्यसम्पादन समितिका सदस्य समेत रहेका दाहाललाई मिश्रले कार्यसम्पादन समिति र कर्णाली प्रदेश संयोजकको जिम्मेवारीबाट हटाएका थिए ।
देशमा लोकतान्त्रिक गणतन्त्र आइसकेपछि प्राप्त उपलब्धिको रक्षा गर्न विवेकशील साझा पार्टीले नसक्ने देखिएपछि एमालेमा प्रवेश गरेको दाहालले बताएका छन् ।
२०७४ मा वीरेन्द्रनगर नगरपालिकाको मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिएका दाहाल पछि मिश्रको साझा पार्टीमा लागेका थिए । शिक्षण पेशाबाट राजनीतिमा आएका दाहाल नेपाल जेसिज वर्ष २००५ का राष्ट्रिय अध्यक्ष समेत हुन् ।
एमालेमा प्रवेश गर्दै दाहालले स्थायित्व, लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाको काम एमाले बाहेकको अन्य शक्तिले गर्न नसक्ने दावी समेत गरे ।
एमालेमा प्रवेश गरे लगतै सभालाई सम्बोधन गर्दै दाहालले नेपालमा जनताको बहुदलीय जनवाद विचारबाट नै सुखी नेपाली र समृद्ध नेपालको नारा साकार हुने तर्क गरे ।
‘गरिबको चुलोमा आगो बलेको छ कि छैन भन्ने सोचेर अघि बढ्ने विचार नै जबज हो । जबजको सही कार्यान्वयन गर्न सकेमात्रै नेपालका नौला तानाशाहलाई तह लगाउन सकिन्छ’ उनले भने ।
प्रतिक्रिया 4