
९ साउन, बाकु । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले असंलग्न आन्दोलनले मात्र विश्व शान्ति र एकतालाई जोगाउन सक्ने बताएका छन् ।
अजरबैजानको राजधानी बाकुमा सुरु भएको असंलग्न आन्दोलनमा संलग्न राष्ट्रका युवाहरुको शिखर सम्मेलनमा नेपाली पक्षको प्रतिनिधि मण्डलको नेतृत्व गरेका बस्नेतले सो धारणा राखेका हुन्।
युवा शिखर सम्मेलनलाई सम्वोधन गर्दै बस्नेतले भनेका छन्, ‘हामी भूगोलमा सानो वा विकासमा पछि परेका कारणले मात्र असंलग्न आन्दोलनमा लागेका होइनौं। हामी असंलग्न आन्दोलन मार्फत् सिङ्गो विश्वलाई यस्तो बनाउन चाहन्छौं जहाँ सबैले सबैको सार्वभौमसत्ता र स्वतन्त्रताको सम्मान गरुन् ।’
विश्व शान्तिका अग्रदूत गौतम वुद्धका शान्ति सन्देशदेखि विगतमा विश्व समुदाय माझ नेपाललाई शान्ति क्षेत्र घोषित गरियोस् भन्ने प्रस्तावसम्म आइपुग्दा नेपाल असंलग्न आन्दोलनको एउटा नेतृत्वदायी राष्ट्रको रुपमा रहेको पनि बस्नेतले बताए।
बस्नेतले असंलग्न आन्दोलनको सफलताले मात्र विश्वमा दिगो शान्ति, विकास, भातृत्व र एकतालाई सुनिश्चित गर्न सक्ने बताए ।
जुलाई २५ देखि २९ तारिखसम्म बाकुमा हुने युवा शिखर सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै बस्नेत हाल बाकुमा छन्।
बस्नेतसँगै युवा तथा खेलकुद मन्त्रालयका उपसचिव डा.कृष्णबहादुर घिमिरे पनि शिखर सम्मेलनमा सहभागी छन् ।
जुलाई २९ मा समापन हुने सम्मेलनले असंलग्न आन्दोलन युवा नेटवर्क समेत गठन गर्ने छ ।
प्रतिक्रिया 4