+
+

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज काठमाडौं आउँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १२ गते ७:३६

११ साउन, काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू दुई दिने भ्रमणका लागि आज काठमाडौं आउँदैछन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी आज साँझ काठमाडौं ओर्लिने छन् ।

नेपालमा रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्र मन्त्री नारायण खड्का लगायतलाई भेट्ने स्रोतले जनाएको छ । यद्यपि उनका अन्य कार्यक्रमहरुबारे औपचारिक रुपमा केही पनि सार्वजनिक गरिएको छैन ।

नेपालले अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने निर्णय गरेपछि र प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रोकिएपछि अमेरिकी उच्च अधिकारीको यो पहिलो नेपाल आगमन हो । डोनाल्ड लुले यसअघि नेपालबाट एमसीसी पारित गराउन भूमिका खेलेका थिए । त्यसैले अहिले हुन लागेको उनको भ्रमणलाई चासोका साथ हेरिएको छ ।

उनी समसामयिक विश्व मामिला, एमसीसीसहित नेपाल-अमेरिका सम्बन्धका विषयमा छलफल गर्न २०७८ मंसिर १ गते नेपाल आएका थिए । साथै गत माघ २७ गते उनले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोन सम्वादसमेत गरेका थिए ।

उक्त सम्वादमा लुले एमसीसी अनुमोदन नगरे राम्रो नहुने भन्ने शैलीमा धम्कीपूर्ण अभिव्यक्ति दिएको समाचार सार्वजनिक भएका थिए । त्यसप्रति छिमेकी मुलुक चीनले अमेरिकाको ‘जबरजस्ती कूटनीति’ भन्दै आलोचना गरेको थियो ।

यद्यपि गत २०७८ फागुन १५ गते नेपालको संसदले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरेको थियो । एमसीसी अनुमोदन भएको भोलिपल्टै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पत्रकार सम्मेलन गरी देश दुर्घटना हुनबाट जोगिएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?