
३ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीपछि नराम्रोसँग प्रभावित बनेको पर्यटन क्षेत्रमा क्रमशः सुधार हुँदै जाँदा आगामी पर्यटकीय सिजनमा पर्यटक बढ्ने अपेक्षा व्यवसायीले गरेका छन् । अग्रिम बुकिङको ट्रेन्डले यस्तै संकेत गर्ने व्यवसायीहरुको भनाइ छ ।
होटल व्यवसायीहरुको छाता संगठन होटल संघ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहका अनुसार अक्टोबर–डिसेम्बरका लागि उत्साहजनक रुपमा प्रि–बुकिङ भइरहेको छ ।
‘हामीले व्यवस्थापन मात्र गर्न सक्यौं भने आगामी सिजनमा उत्साह आउने देखिन्छ,’ उनी भन्छन्, ‘प्रि–बुकिङले यस्तै संकेत गरेको छ ।’
वर्षायाममा भारतीय पर्यटकको उत्साहजनक आगमनले होटल र पर्यटनमा राम्रो पुनरुत्थान भइरहेको समेत उनले जानकारी दिए । पोखरामा हवाई र स्थलमार्गबाट आउने पर्यटकका कारण राम्रो व्यापार भइरहेको उनले जानकारी दिए ।
जुलाई २०२२ को एक महिनामा भित्रिएका कुल ४४ हजार ४६२ मध्ये ३८.९ प्रतिशत भारतीय छन् । अर्थातः एक महिनामा १७ हजार २९९ जना भारतीय पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डको तथ्यांकले देखाएको छ ।
चिनियाँ पर्यटकको प्रतिक्षा
कोरोना महामारीको चौथो लहरमा बढ्दो संक्रमित संख्याले भने व्यवसायीमा केही निरासा उत्पन्न गरेको छ । यद्दपि विश्वव्यापी खोप अभियानले पर्यटकका आत्मविश्वास भने बढाएको शाहले बताए ।
‘हामीले चीनबाट निर्वाध पर्यटक आउने वातावरण निर्माणको अपेक्षा गरेका छौं,’ उनले भने, ‘हालै भएको परराष्ट्र मन्त्री ज्यूको भ्रमणले पनि यो वातावरण बनाएको हामीले विश्वास गरेका छ ।’
चिनियाँ पर्यटक आउने वातावरण बन्ने हो भने भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थप जहाज आउने वातावरण बन्ने उनको भनाइ छ ।
जुलाई २०२२ मा १ हजार ५९३ जना चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो कोरोना कालयता कै सबैभन्दा धेरै हो ।
चिन्ता नेपाल एयरलाइन्सको सेवाप्रति
वरिष्ठ पर्यटन तथा होटल व्यवसायी योगेन्द्र शाक्यका अनुसार विगतमा नेपाल आउने यात्रुमध्ये ६० प्रतिशतसम्म नेपाल एयरलाइन्सले बोक्ने गथ्र्यौ । त्यसमध्ये अधिकांश पर्यटक हुन्थे । अहिले नेपाल एयरलाइन्सको बजार हिस्सा १० प्रतिशत भन्दा पनि कममा खुम्चिएको छ ।
यो संस्था सुधार गर्न नसक्दा नेपालले पर्यटकीय स्रोत भएका मुलुकमा आफ्नो ध्वजाबाहक वायुसेवा कम्पनीको सेवा पु¥याउन सकेको छैन । यसले ठूलो सम्भावनाका वावजुत पर्यटक आउन नसकेको उनको भनाई छ ।
नेपाल एयरलाइन्स जति बलियो भयो, त्यति नै नेपालमा पर्यटक आउने वातावरण बन्ने उनको भनाइ छ । सरकारले नेपाल एयरलाइन्सको सुदृढीकरण र यूरोपेली यूनियनको कालोसूची हटाउन पहल गर्नुपर्ने सुझाव समेत उनको छ ।
पोखरा र गौतमबुद्ध विमानस्थलबाट अपेक्षा
सरकारले १ जनवरी २०२३ बाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको घोषणा गरेको छ । यसले पोखरामा पर्यटक बढ्ने अपेक्षा पर्यटन र होटल व्यवसायीले गरेका छन् ।
आगामी पर्यटकीय सिजनकमा गौतमबुद्ध विमानस्थलमा थप जहाज आउने प्राधिकरणले जनाएको छ । अहिले जजिरा एयरवेजले मात्र उडान गरिरहेको यो विमानस्थलमा सेप्टेम्बरबाट विज एयरले उडानको तयारी गरिरहेको छ । यो कम्पनीले आवुधावीबाट उडान गर्न अनुमति मागेको छ ।
बढ्दैछ पर्यटक आगमन
कोरोना महामारीका कारण लगातार दुई वर्ष (सन् २०२० र २०२१ ) झन्डै शून्यमा झरेको पर्यटक आगमन सन् २०२२ पछि भने सुधारोन्मुख रहेको हो ।
जुलाई २०२२ मा ४४ हजार ४६२ जना पर्यटक नेपाल आएका छन् । यससहित सन् २०२२ को ७ महिनाको अवधिमा कुल २ लाख ८५ हजार ३६३ जना पर्यटक नेपाल आएका छन् । कोरोना महामारी आउनु अगाडि सन् २०१९ को ७ महिनाको अवधिमा ६ लाख १२ हजार ७६४ जना पर्यटक आएका थिए ।
सन् २०२२ मा कुन महिनामा कति पर्यटक आए ?
- जुलाई : ४४ हजार ४६२
- जुन : ४६ हजार ९५७
- मे : ५३ हजार ६०८
- अप्रिल : ६१ हजार ५८९
- मार्च : ४२ हजार ६
- फेब्रुअरी : १९ हजार ७६६
- जनवरी : १६ हजार ९७५
प्रतिक्रिया 4