
३० भदौ, झापा । झापाको झापा गाउँपालिका–३ का किसान चन्द्र बस्नेत एक लाख रुपैयाँ पुरस्कारबाट पुरस्कृत भएका छन् ।
इजरायलमा प्रशिक्षण लिएपछि झापामा चार वर्षदेखि व्यवसायिक केरा खेती गर्दै आएका बस्नेतलाई यसअघि नेपालस्थित इजरायली राजदूतावास र साना किसान विकास लघुवित्त वित्तीय संस्थाले संयुक्त कार्यक्रम गरी ‘युथ एग्री अवार्ड २०२२’ बाट सम्मान गरेका थिए । काठमाडौं आयोजित उक्त सम्मानपछि बस्नेतलाई झापाको टाघनडुब्बामा आज नगद एक लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।
इलाका कार्यालयमार्फत बस्नेतलाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको साना किसान विकास लघुवित्त वित्तीय संस्थाले जनाएको छ ।
साना किसान विकास वित्तीय संस्था मार्फत नै बस्नेतले इजरायलमा कृषि प्रशिक्षण प्राप्त गरेका थिए । एक वर्ष प्रशिक्षण लिएपछि उनले व्यवसायिक केरा खेती सुरु गरेका थिए ।
‘लर्न एण्ड अर्न’ (सिक र कमाउ) कार्यक्रम अन्तर्गत इजरायलमा प्रशिक्षण लिएका सात प्रदेशका एक–एक जना सफल कृषकहरुलाई काठमाडौंमा विशेष कार्यक्रम गरी सम्मान गरिएको थियो । प्रदेश १ बाट झापाका चन्द्र बस्नेत सम्मानित भएका थिए ।
यसैगरी मधेस प्रदेशबाट बाराका सन्तोष कुमार यादव, बागमती प्रदेशबाट धादिङका युद्ध प्रसाद न्यौपाने, गण्डकी प्रदेशबाट तनहुँका शिव कुमार आले, लुम्बिनी प्रदेशबाट रुपन्देहीमा माछापालन गरिरहेकी सृजना थारु, कर्णाली प्रदेशबाट सुर्खेतको लाटीकोइलीमा गाईपालन गरिरहेका दिपेन्द्र कार्की र सुदूरपश्चिम प्रदेशबाट कञ्चनपुरका विमल भण्डारीलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया 4