
२ असोज, काठमाडौं । काठमाडौं महानगरपालिका-१ नम्बर वडाको जय नेपाल हलको कम्पाउण्डमा विहीबार महानगरले टुकुचा खोला उत्खनन गर्यो । दशकौंअघि भूमिगत गरिएको जयनेपाल हल क्षेत्र टुकुचा भेटिएपछि उत्साहित महानगरले आइतबारसम्म भूमिगत भएको ४ स्थानमा उत्खनन गरिसकेको छ ।
शनिबार कमलादीस्थित लक्ष्मी बैंकको छेउमा टुकुचा उत्खनन गरेको महानगरले आइतबार पनि निरन्तर खनिरह्यो । हात्तीसारको सिद्धार्थ बैंकको पछाडि पार्किङ क्षेत्र र पुतलीसडकमा रहेको काठमाडौं प्लाजा छेउमा टुकुचा उत्खनन गरेको हो ।
काठमाडौं महानगरपालिकाका अनुसार टुकुचा भूमिगत भएको क्षेत्रको सुरुवात विन्दु नारायणहिटी दरबारको दक्षिणतर्फको कम्पाउण्ड (जयनेपाल हल अगाडि) र अन्तिम विन्दु पुतलीसडकको काठमाडौं प्लाजाको छेउ हो ।
महानगरले टुकुचा भूमिगत भएको सुरुवाती बिन्दु र अन्तिम बिन्दु उत्खनन गरिसकेको छ । यस्तै बीचको दुई स्थानमा पनि खोला देखिने गरी उत्खनन गरेको छ । टुकुचा कहिले भूमिगत भयो भन्ने एकिन तथ्यांक अहिलेसम्म सरकारले भेटेको छैन ।
तर राणाकालीन समयमा भूमिगत गरेको देखिने टुकुचा खोला ईँटाबाट गुम्बज आकारको ढल बनाएर बगाइएको देखिन्छ ।
अदालतको आदेश
यसैबीच उच्च अदालत पाटनले टुकुचा खोला मिचेर बनाएको संरचना नभत्काउन अन्तरकालीन आदेश जारी गरेको छ ।
प्रेसिडेन्ट ट्राभल्स एण्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापासमेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले टुकुचा खोला मिचेर बनाएको संचना तत्काल नभत्काउन अन्तरकालीन आदेश जारी गरेको हो । काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर बनाइएका संरचना धमाधम भत्काइरहेको छ ।
अदालतले असोज ५ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ । प्रक्रियाबमोजिम नक्सा पास गरेको र निर्माण सम्पन्नको प्रमाणपत्र समेत लिएको देखिएकाले तत्काल संरचना नभत्काउन अन्तरकालीन आदेश दिँदै दुबै पक्षलाई छलफलमा बोलाएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्ऽ कट्टेलले जानकारी दिए ।
हामी रोकिंदैनौं : महानगर
काठमाडौं महानगरपालिकाले टुकुचाको खोल्ने कुरामा अडिग रहेको बताएको छ । महानगरका मेयर बालेन्द्र साह (बालेन)को सचिवालयका सुनिल लम्सालका अनुसार टुकुचा खोल्ने अभियान निरन्तर चल्ने भएको हो । उनका अनुसार यसमा पुरातत्व विभागले पनि चासो दिएको भन्ने सुनेपनि आधिकारिक जानकारी नआएको पनि बताए ।
‘अहिले हामीले खोलिरहेको खोला हो । जसले चासो देखाएता पनि हामीसँग कारण छ । टुकुचा रोकिँदा महानगरमा परेको असर, प्रभावबारे हामीसँग तथ्यांक छ, योजना छ । हामी रोकिँदैनौं, ‘ अनलाइनखबरसँग लम्सालले भने ।
टुकुचाले गर्दा महानगरेका १ नम्बर वडा, ४ नम्बर वडा र २ नम्बर वडामा वर्षेनी डुबानमा पर्ने गरेको उनको तर्क छ । खोलालाई नरोकी आफ्नै लयमा बग्न दिनुपर्ने महानगरको ठम्याइ छ । त्यहीअनुसार महानगरले निरन्तर उत्खनन गर्ने लम्सालको भनाइ छ ।
अदालतको अन्तरकालीन आदेशको विषयमा बोल्दै उनले न्यायालयको निर्णयलाई सम्मान गर्ने बताए । ‘हामीले अहिले सिधै गएर घर भत्काएका छैनौं, आधिकारिक रुपमा अदालत र पुरातत्व विभाग अहिलेसम्म केही जानकारी आएको भने छैन,’ उनले भने ।
१२ साउनमा काठमाडौं महानगरले टुकुचा खोलाबारे सूचना निकालेर वडा नम्बर १ स्थित सिटी एक्सप्रेस मनि ट्रान्सफर रहेको भवन (काठमाडौं प्लाजाको उत्तर तर्फ) देखि जय नेपाल हलसम्म टुकुचा खोलाको किनार क्षेत्रका अतिक्रमित संरचना हटाउन ३५ दिने सूचना दिएको थियो । सूचनाको म्याद सकिनासाथ महानगरले सूचना अनुसार काम थालेको हो ।
तस्वीर : आर्यन धिमाल
प्रतिक्रिया 4