+
+

कृषि औजार कारखानामा छिर्‍यो राष्ट्रिय आविष्कार केन्द्र

सुरेश बिडारी सुरेश बिडारी
२०७९ कात्तिक १७ गते ६:४४

१७ कात्तिक, वीरगञ्ज । वीरगञ्जस्थित कृषि औजार कारखानामा भएका सामग्रीको लगत संकलन सुरु भएको छ । कारखाना सञ्चालनको जिम्मेवारी पाएको राष्ट्रिय आविष्कार केन्द्रको टोलीले कारखानाको अवस्थाबारे अध्ययन शुरु गरेको हो ।

मंगलबार आएको केन्द्रको टोलीले कारखानाको सरसफाई गर्नुको साथै सामग्रीको लगत तयार गर्ने कार्य थालनी गरेको छ ।

केन्द्रका प्राविधिक सहितको टोली कारखाना भित्र प्रवेश गरेर औजार, उपकरणको अवस्थाबारे अध्ययन गरिरहेका छन् ।

कात्तिक ६ गते बसेको कारखाना सञ्चालक समतिको निर्णय अनुसार आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनसहित प्राविधिक टोली कारखानाको अवस्थाबारे बुझ्न आएका हुन् ।

कारखाना सञ्चालक समितिको पहिलो बैठकले कृषि औजार कारखानाको सम्पत्तिको लगत तयार गर्ने, सञ्चालनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण गर्ने, भएका पूर्वाधार, मेसिन औजार मर्मत संभार गर्ने, मेसिनको अवस्था बुझ्न टोली खटाउने र व्यवस्थापनका लागि कति रकम आवश्यक लागत स्टिमेट गरेर अर्थ मन्त्रालयमा पठाउने निर्णय गरेको थियो ।

राष्ट्रिय आविष्कार केन्द्रका मेकानिकल इन्जिनियर प्रज्वल कोजुले औजार उपकरणको अवस्था चेकजाँच गरिरहेको बताए ।

‘काम गर्न यता उता हिँडडुल गर्न मिल्ने गरि सरसफाई गरेका छौं । मेकानिकल सेक्सनमा पहिलाका मेशिन उपकरणलाई सफा गर्दै, चेक गर्दै, बनाउन मिल्ने छ कि छैन ? या कामै नलाग्ने छन् कि ? भनेर छुट्याउँदै छौं’, उनले भने, ‘लेथ मेसिन, सेपर, ग्रेन्डरहरु ठीकै छ । मोटरहरु राम्रै कन्डिसनमा छ । पछि चालु अवस्थामा ल्याउन मर्मत नै गर्नुपर्ने हुन्छ । टेस्टिङ गर्दा धेरैजसो मेसिनहरु बनाएर काम गर्न मिल्ने अवस्थामा छ ।’

६० वर्ष पुरानो टेक्नोलोजी भएकोले केही मेसिन औजारको अपग्रेड गर्नु आवश्यक देखिएको बताउँदै उनले कतिपय यत्तिकै पनि चलाउन सकिने बताए ।

कारखानामा रहेका मेसिनहरू संकलन गर्दै आविष्कार केन्द्रका कर्मचारीहरू ।

बन्द रहेका वीरगञ्ज चिनी कारखाना र कृषि औजार कारखानाको सुरक्षाको जिम्मेवारी कोष तथा लेखा नियन्त्रण कार्यालयलाई दिइएको छ । कारखाना सञ्चालक समितिका सदस्य एवं कोष तथा लेखा नियन्त्रण कार्यालय पर्साका प्रमुख रुद्रबहादुर कार्कीका अनुसार कारखाना सञ्चालनका लागि आविष्कार केन्द्रले प्राविधिक मुल्यांकन गरिरहेको बताए ।

‘कति मेसिन, औजार, उपकरण छ । काम लाग्ने कति छ, कति मर्मत गरेर चलाउन सकिन्छ, कति कामै नलाग्ने छ । भवनको अवस्था के छ ? रंगरोगन र मर्मत संभारका लागि के कति खर्च लाग्छ’, उनले भने, ‘प्राविधिक मुल्यांकन गर्नुहुन्छ, रेकर्ड राख्नुहुन्छ । लागत स्टिमेट सहित प्रतिवेदन समितिलाई बुझाउनुहुन्छ । ‘

सोही प्रतिवेदन अर्थ मन्त्रालयमा बुझाएर रकम निकासा गरी कारखाना सञ्चालन गर्ने गरी तयारी भइरहेको छ ।

आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले कारखानालाई आधुनिकीकरण गर्दै लैजाने बताए ।

‘पहिला पुरानो मेशिनलाई खोलेर सरसफाइ गर्नुपर्छ । इलेक्ट्रिकल, सिभिल काम मर्मत गर्नुपर्छ । भइरहेको कुरालाई मर्मत सम्भार गराउँछौं । सबै उत्पादन गर्न नसकेपनि एक वर्ष भित्र १०/१५ किसिमका कृषि औजारहरु उत्पादन गर्ने लक्ष्य राखेका छौंं । जो पहिला उत्पादन भइरहेको थियो’, उनले भने, ‘पुरानो जमानाको ६० वर्ष अगाडिको कारखाना हो । यसलाई आधुनिकीकरण गर्नु नै पर्छ । यहाँका मेसिन सबै हातले चलाउने छ । अटोमेटिक मेसिन राखेर क्षमता अभिवृद्धि गर्नुपर्छ ।’

२/३ वर्ष भित्रमा कारखाना पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने र सकेसम्म ३ सिफ्ट नै सञ्चालन गर्ने लक्ष्य लिएर केन्द्र अघि बढेको उनले बताए ।

यो पनि पढ्नुस्

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?