+
+
Shares

निगुरो बेच्ने महिला र सेनाको भिडियो भाइरल, के हो वास्तविकता ?

अहिले सञ्जालमा भाइरल भएको यो भिडियोबारे नेपाली सेनाले भने फेब्रिकेटेड (बनावटी) भएको दाबी गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३१ गते १३:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनको टिकौली जंगल नजिक सडक छेउमा निगुरो बेच्ने महिलाबाट नेपाली सेनाले निगुरो जफत गरेको भिडियो भाइरल भएको छ।
  • नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले भिडियो बनावटी भएको र गाडी सेनाको नभएको दाबी गर्नुभएको छ।
  • आरपीए भ्लगका सन्चालक राजन आचार्यले भिडियो हिजो चितवनमा खिचिएको र निगुरो जफत गर्नेहरु नेपाली सेना नै भएको बताएका छन्।

३१ वैशाख, काठमाडौं । चितवनको टिकौली जंगल नजिकको सडक छेउमा एक महिला निगुरो बेचिरहेकी हुन्छिन् । उनका हातमा सानो जेब्रा झोला, पँहेलो बोरा अनि केही मुठा निगुरो देखिन्छ ।

त्यत्तिकैमा एउटा सुनौलो रंगको गाडी सडक छेउमा रोकिन्छ । गाडीबाट नेपाली सेनाको युनिफर्म लगाएका व्यक्तिहरु झर्छन् । उनीहरु महिलातर्फ अघि बढ्छन् । उनी ‘आर्मी आयो,’ भन्दै आत्तिन्छिन् । अनि आफूसँग भएको निगुरो जोगाउन खोज्छिन् ।

तर ती आर्मीले निगुरो भुइँमा राख्न लगाउँछन् । अनि ती निगुरो गाडीमा हालेर हिँड्छन् ।

निगुरो बेचेर दैनिक खर्चको जोहो गर्ने महिला निराश देखिन्छिन् । ती महिलासँगै देखिएका अर्का एक पुरुष पनि सेनाबाट दु:ख पाएको गुनासो गर्छन् ।

भिडियोमा देखिएका आर्मीले कुममा निकुञ्जको ब्याच लगाएको देखिन्छ, जसकारण यो भिडियो राष्ट्रिय निकुञ्ज क्षेत्रको रहेको आकलन गर्न सकिन्छ ।

आर्मी भन्छ– भिडियो बनावटी जस्तो देखिन्छ, तर भिडियो खिच्ने व्यक्ति भन्छन्– रियल हो

आरपीए भ्लग’मा सार्वजनिक भएको सो भिडियो अहिले भाइरल छ । कमेन्ट गर्नेहरुले नेपाली सेनाको आलोचना र ती महिलाप्रति सहानुभूति व्यक्त गरेको देखिन्छ ।

तर नेपाली सेनाले भने सो भिडियो ‘फेब्रिकेटेड’ अर्थात् बनावटी रूपमा प्रस्तुत गरिएको दाबी गरेको छ । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले भिडियोमा देखिएको गाडी सेनाको नभएको बताएका छन् । भिडियो कुनै निकुञ्ज क्षेत्रको दृश्य जस्तो देखाएर फरक ढंगले प्रस्तुत गरिएको उनको भनाइ थियो ।

तर अनलाइनखबरको सम्पर्कमा आएका आरपीए भ्लगका सन्चालकले भने आफैंले हिजो त्यो भिडियो चितवनमा खिचेको बताएका छन् । टेलिफोन कुराकानीको क्रममा आफूलाई राजन आचार्य नामबाट चिनाएका उनले भने, ‘यो भिडियो हिजो चितवनमा खिचेको हुँ, यो रियल हो,’ आचार्यले भने, ‘निगुरो खोस्नेहरु नेपाल आर्मीहरु नै हुन् ।’

आरपीए भ्लग चलाउने राजन आचार्य ।

उनले थपे, ‘निगुरो टिप्न जंगल जाँदा सेनालाई तीन सय रुपैयाँ बुझाउनुपर्छ रे, सेनालाई रकम बुझाएर संकलन गरेको चिज पनि सेनाले नै जफत गरेको देखियो ।’

उनका अनुसार ती महिला सुकुमवासी बस्ती क्षेत्रकी हुन् । सो क्षेत्रका बासिन्दाले जंगलबाट निगुरो संकलन गरेर सडक किनारमा ल्याएर बेच्ने गर्छन् । त्यही आम्दानीले उनीहरूको दैनिक गुजारा चल्छ ।

आचार्यले पनि ती महिलाबाट दुई मुठा निगुरो किनेका थिए । तर सेनाबाट पीडित भएको देखेपछि आफूले किनेको निगुरो फिर्ता दिएको उनले बताए । ‘मैले फिर्ता गरेर बेच्न भनेको त्यो निगुरो समेत पछि सेनाले जफत गरिदियो रे,’ उनले अनलाइनखबरलाई सुनाए ।

सैनिक प्रवक्ता बस्नेतका अनुसार निकुञ्जको हकमा सेनाले सुरक्षा गर्ने र बाँकी काम निकुञ्ज प्रशासनले हेर्ने गर्दछ र अनुमति बिना निकुञ्जको निगुरो समेत टिप्न नपाइने कानुनी व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?