११ मंसिर, काठमाडौं । डोनाल्ड ट्रम्पले ट्वीटर मन पराउँछन् । सन् २०१७ मा उनले ट्वीटर बिना आफू अमेरिकाको राष्ट्रपति नहुने बताएका थिए ।
उनले भनेका थिए , ‘ट्वीटर गज्जबको चिज हो मेरा लागि किनकी मैले यहाँ आफ्ना कुरा राख्न पाएको छु। यदि मैले आफ्ना कुराहरु राख्ने यस्तो इमान्दार माध्यम फेला नपारेको भए अहिले यहाँ तपाइँसँग राष्ट्रपतिको रुपमा बोलिरहन सम्भव हुँदैनथ्यो होला ।’
ट्रम्पमाथि ट्वीटरले सन् २०२१ मा स्थायी प्रतिबन्ध लगाएको थियो । तर हालै ट्वीटरका नयाँ मालिक एलन मस्कले ट्रम्पमाथिको प्रतिबन्ध फुकुवा गरे । आफुमाथिको प्रतिबन्ध फुकुवा भएर यो प्लाटफर्ममा फर्किन पाउने भएपछि ट्रम्पले बुर्कुसी मार्छन् होला भन्ने धेरैको अनुमान थियो । तर उनले फुकुवापछि ट्वीटरमा फर्किने प्रस्ताव स्वीकार गरेनन् ।
आखिर किन त ? आखिर यसको सही उत्तर त केवल ट्रम्पलाई मात्रै थाहा छ होला । तर हामीलाई थाहा भएको कुरा के हो भने उनले ट्वीटबाट धेरै रकम गुमाउनु पर्ने थियो ।
न्युयोर्क विश्वविद्यालयका प्राध्यापक जोश टकरका अनुसार ट्रम्पले ट्वीटरमा पुनरागमन नगर्नुको एउटा मुख्य कारण पैसा नै हुन सक्दछ ।
ट्वीटरबाट गलहत्याइएसँगै ट्रम्पले ट्रुथ सोसल नामक आफ्नै सोसल मिडिया सुरुवात गरे, जुन धेरै हदसम्म ट्वीटरजस्तै छ ।
यो सोसल मिडियाको व्यवसायिक संरचना पनि यस्तो छ कि त्यसमा ट्रम्प बाँधिएका छन् ।
गतवर्ष ट्रुथ सोसलको स्वामित्वको निजी कम्पनी ट्रम्प मिडिया एण्ड टेक्नोलोजी ग्रुप र डिजिटल वल्र्ड एक्विजिसन कर्पबीच मर्जर हुने खबर सार्वज्निक भएको थियो । यो मर्जर भएसँगै ट्रम्पको उक्त संयुक्त कम्पनी ३.४ अर्ब डलरको हुनेछ जसमा करीब ८० प्रतिशत हिस्सा उनकै हुनेछ ।
साथै यो व्यवसाय ट्रम्पको जिवनकै सबैभन्दा सफल व्यवसाय हुनेछ । यद्यपि उक्त संयुक्त कम्पनीको मूल्य उच्च हुने नहुने कुराको निर्धारण ट्रुथ सोसल प्लटफर्ममा डोनाल्ड ट्रम्पको उपस्थितिले गर्नेछ ।
यदि आफैले सिर्जना गरेको ट्रुथ सोसल प्लाटफर्मलाई छाडेर डोनाल्ड ट्रम्प ट्वीटरमा प्रवेश गरेभने उनको प्लाटफर्म अरुले किन गर्लान् र ? ट्रम्पको ट्वीटर प्रवेशपछि उनको उक्त कम्पनीको शेयर मूल्य पनि तिव्र रुपमा गिरावट हुने निश्चित छ र यसबाट उनको लाखौँ डलर गुम्नेछ ।
साथै दुई कम्पनीबीचको मर्जर सम्झौताको कानूनी प्रावधानमा समेत ट्रम्पले आफ्ना कुनैपनि सोसल मिडिया पोस्ट ट्रुथ सोसलमै गर्नुपर्ने र त्यहाँ पोस्ट गरेका सामाग्रीहरु ६ घण्टासम्म अरु प्लाटफर्ममा पोस्ट गर्न नहुने उल्लेख छ । यसबाट के प्रष्ट हुन्छ भने ट्वीटर प्रयोग गर्दा ट्रुथ सोसल कम्पनीका लगानीकर्ता बिच्किएर ट्रम्पले लाखौ डलर गुमाउने मात्र होइन उनीमाथि मुद्दापनि चल्न सक्दछ ।
ट्रुथ सोसल आफैपनि प्रयोगकर्तालाइ आकर्षण गर्नका लागि संघर्ष गरिरहेको छ । गत सेप्टेम्बर महिनामा ट्रुथ सोसल प्लाटफर्मको मासिक वेबसाइट भिजिट संख्या ८० लाख थियो । जुन कुनैपनि सोसल मिडियाका लागि निकै कम हो । जबिक ट्वीटरको सेप्टेम्बर महिनामा साइट भिजिट संख्या ९ अर्ब थियो । बीबीसीको सहयोगमा
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4