१३ मंसिर काठमाडौं । नेपाल उद्योग वाणिजय महासंघले नेपाल राष्ट्र बैंकले बैंकहरुको स्प्रेड दर घटाउँदैमा कर्जाको ब्याजदर नघट्ने बताएको छ । स्प्रेड दर घटाउँदा ब्याजदर वृद्धि रोकिएपनि ब्याजदर नघट्ने महासंघले बताएको छ । महासंघले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष शेखर गोल्छाले ब्याजदर नघट्ने हो भने अर्थतन्त्र गम्भीर संकटमा जाने भन्दै तरलता बढाएर ब्याजदर घटाउन नेपाल राष्ट्र बैंक र सरकारले भूमिका खेल्नुपर्ने बताए ।
आइतबार राष्ट्र बैंकले चालु मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा मार्फत बैंकहरुले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदर बीचको औसत अन्तर (स्प्रेड दर) घटाउने बताएको छ । हाल वाणिज्य बैंकहरुको स्प्रेड दर ४.४ प्रतिशत रहेकोमा अब ४ प्रतिशतमा झार्ने भएको छ । विकास बैंक र वित्त कम्पनीको ५ प्रतिशत रहेको स्प्रेड दर अधिक्तम ४.६ प्रतिशत कायम गर्नुपर्ने भएको छ ।
‘ब्याजदर घटाउन आधार दर (बेसरेट) घट्नुपर्छ । तरलता नबढी ब्याजदर घट्दैन । ब्याजदर नघट्दा अर्थतन्त्र गम्भीर संकटतर्फ जाँदैछ,’ उनले भने, ‘तरलता बढाउन १ वर्ष पुनर्कर्जा नवीकरण सुविधा चाहिन्छ । अनिवार्य नगद मौज्दात १ प्रतिशत घटाउनुपर्छ । स्थनीयत तहमा जाने रकमलाई निश्चित समयको लागि निक्षेपमा गणना गर्नुपर्छ ।’
उनले निजी क्षेत्रले आन्दोलन गर्न नचाहेको भन्दै आफ्नो गुनासो सुनुवाई नभए आर्थिक सुधारका लागि आन्दोलनका थप कार्यक्रम घोषणा गर्न बाध्य हुने बताए ।
साधारण बचतको ब्याजदर पछिल्लो एक वर्षमा शत् प्रतिशत र मुद्दति निक्षेप ५० प्रतिशतले बढेपनि त्यसले निक्षेप नबढेको भन्दै महासंघले ब्याजदर वृद्धिको औचित्य नदेखिएको महासंघले बताएका छ ।
एक वर्षमा ब्याजदर यति धेरै वृद्धि भएपनि निक्षेप भने ८ प्रतिशतले मात्रै बढेको महासंघ अध्यक्ष गोल्छाले बताए । सरकार र राष्ट्र बैंकको नीतिका कारण आर्थिक क्रियाकलाप घटेर राजस्व प्रभावित बनेको तथा चालुखर्च भने वृद्धि हुँदा चालु खर्चकै लागि ऋण लिनुपर्ने बाध्यात्मक अवस्था आउन लागेको उनले बताए ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4