+
+

बालुवाटार बैठकपछि प्रचण्ड : गठबन्धनकै सरकार बन्छ

चुनावका बेला सानातिना असमझदारी कतै भए होलान्, तर त्यसले गठबन्धनलाई कुनै असर गर्दैन । अगाडि कसरी जाने भन्नेबारे खासै प्रश्नहरु छैनन् पनि । हामीले जे टुंगो लगाउँछौं, सहमतिमा टुंगो लगाउँछौं ।

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १९ गते १८:४०

१९ मंसिर, काठमाडौं । आम चुनावपछि बसेको सत्ता गठबन्धनको पहिलो बैठकका दुई एजेन्डा थिए : चुनाव समीक्षा र आगामी सरकार । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक दुवै एजेन्डामा निष्कर्षविहीन रह्यो ।

अहिले बालुवाटारबाट नेताहरु निस्कने क्रम जारी छ । यसै सन्दर्भमा अनलाइनखबरले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग संक्षिप्त टेलिफोन वार्ता गर्‍यो :

आजको बैठकमा तपाईंहरुले के कुरा गर्नुभयो ?

आम चुनाव सफलतापूर्वक सम्पन्न भइसकेपछि आज हामीले सम्पूर्ण किसिमले छलफल गर्ने प्रयास गर्‍यौं । सानातिना समस्याहरुको बीचमा पनि चुनाव भव्य, शान्तिपूर्ण ढंगले आयोजना भएको छ । हामीले सबै मतदातालाई धन्यवाद दिने निर्णय गरेका छौं । कर्मचारी, सुरक्षाकर्मी, निर्वाचन आयोग सबैलाई धन्यवाद दिँदै एउटा वक्तव्य पनि पास गरेका छौं । नागरिक समाज र तपाईंहरु मिडियालाई पनि हाम्रो धन्यवाद छ । चुनाव राम्रो भयो भन्ने बैठकमा कुरा भयो ।

चुनावको समग्र समीक्षा चाहिँ के रह्यो ?

त्यो चैं आज हुन पाएन । निर्वाचन आयोगले सबै नतिजा प्रकाशित गरिसकेपछि हामी एउटा टुंगोमा पुग्ने कुरा भयो । अहिलेसम्म आएको नतिजा भनेको लगभग नतिजा हो । कम्प्लिट पिक्चर अब केही दिनमा आइसक्छ होला ।

सरकार बनाउने छलफल त पक्कै सुरु भयो ?

त्यो पनि पहिले आयोगकै अन्तिम नतिजाको सूचनापछि सुरु हुन्छ । हामी जे गर्छौं सहमतिबाटै गर्छाैं । गठबन्धनकै सरकार बन्छ । आज चाहिँ मूलतः धन्यवाद दिने बैठक नै हो ।

तपाईं र शेरबहादुर देउवा दुवै प्रधानमन्त्रीका आकांक्षी देखिनुभएको छ । कति दिनमा टुंगो लगाउनुहुन्छ ?

त्यस्तो आकांक्षी भन्ने केही छैन । हामीले संविधानको रक्षाका लागि सँगै लडेको हो । यहाँसम्म सँगै आएका छौं । अगाडि पनि गठबन्धन सँगै अगाडि बढाउने हो । दुई–चार दिनमा निर्वाचन आयोगले अन्तिम नतिजा दिएर राष्ट्रपति कहाँ पठाउला । त्यसपछि स्वतः त्यो विषय अघि बढिहाल्छ ।

गठबन्धन कायम त रहन्छ ?

अवश्य कायम रहन्छ । चुनावका बेला सानातिना असमझदारी कतै भए होलान्, तर त्यसले गठबन्धनलाई कुनै असर गर्दैन । अगाडि कसरी जाने भन्नेबारे खासै प्रश्नहरु छैनन् पनि । हामीले जे टुंगो लगाउँछौं, सहमतिमा टुंगो लगाउँछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?