
२४ मंसिर, भोजपुर । पहाडी जिल्ला भोजपुरको जनोदय मावि टेम्के मयुङमा अत्ति विपन्न, असहाय र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उदेश्यले एक अक्षय कोष स्थापना गरिएको छ ।
समाजसेवी तथा शिक्षासेवी स्वर्गीय दानबहादुर कटवाल स्मृति कोष र विद्यालयका वीच विहिवार सो अक्षय कोष स्थापना सम्बन्धि कागजातमा हस्ताक्षर गरिएको हो ।
समाजसेवी स्वर्गीय कट्वालकी श्रीमती रत्नादेवी, छोराहरु जीवन र मिलन कट्वाल, छोरीहरु सावित्रा, भगवती र वुहारीहरु लेखा, रञ्जनाको पहलमा सो अक्षय कोष स्थापना गरिएको हो ।
एक लाख राशीको अक्षय कोषबाट वार्षिकरुपमा कक्षा ११ र १२ का विद्यार्थीमध्येबाट ४ जनालाई विद्यालयले विद्यालय स्थापना दिवसको अवसर पारेर छात्रवृति प्रदान गर्नेछ ।
विद्यालयका प्रधानाध्यापक अरुणकुमार चौधरीले पहाडी जिल्लाका विपन्न, असहाय र जेहेन्दार विद्यार्थीका लागि यस्ता अक्षय कोषहरु महत्वपूर्ण हुने बताए ।
प्रधानाध्यापक चौधरीले भने, ‘अकंमा यो कोष त्यति ठूलो होइन, तर यसले यस भेगका विपन्न र जेहेन्दार विद्यार्थीका लागि ठूलो महत्व राख्छ ।’
प्रतिक्रिया 4