+
+

पोखरा विश्वविद्यालय र सीटीईभीटीसँग अखिल क्रान्तिकारीको ‘बार्गेनिङ’ !

उपाध्यक्षद्वय इन्द्र भुसाल र नारायण खनालले गरे विरोध

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २७ गते १३:३६

२७ मंसिर, काठमाडौं । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका उपाध्यक्षहरु इन्द्र भुसाल र नारायण खनालले आफ्नो संगठनको नामबाट सीटीईभीटी र पोखरा विश्वविद्यालयको सम्बन्धन वितरणमा पैसाको बार्गेनिङ भएको बताएका छन् ।

भुसाल र खनाल दुवैले संगठनले आधिकारिक रुपमै रकमको बार्गेनिङ गरेको सामाजिक सञ्जालमा लेखेका हुन् । अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहको प्यानलबाट उपाध्यक्ष बनेका खनालले आर्थिक चलखेल गरेर संगठनलाई बदनाम नगर्न पटक-पटक गराइएको ध्यानाकर्षण बेकार भएपछि सामाजिक सञ्जालमा लेख्न बाध्य भएको उल्लेख गरेका छन् ।

पोखरा विश्वविद्यालयले विभिन्न कलेजहरुलाई सम्बन्धन दिने र सीटीईभीटीले कोर्सहरु थप्ने तयारी गरिरहेको छ । पोखरा विश्वविद्यालयका रेक्टर दीपकबहादुर भण्डारीका अनुसार गत भदौमा सम्बन्धनका लागि आवेदन आह्वान गर्दा करिब १५० कलेजले आवेदन दिएका छन् । अब सम्बन्धन दिनका लागि प्रक्रिया अघि बढेको उनले बताए ।

‘विभिन्न संघ संगठनले विभिन्न माग राखेर तालाबन्दी गर्ने गर्नुभएको छ । तर ताला लगाएकै कारण, बार्गेनिङ गरेकै कारण हामीले रकम दिने भन्ने कुरा हुँदैन’ उनले अनलाइनखबरसँग भने ।

यसैगरी सीटीईभीटीले कोर्सहरु थप्ने तयारी गरेको छ । सम्बन्धन दिंदा विद्यार्थी संगठनहरुले विरोध नजनाउन् भनेर मोटो रकमको चलखेल हुने गरेको सम्बद्ध स्रोतहरु बताउँछन् । यसअघि अखिल क्रान्तिकारीकै नेतृत्वमाथि पोखरा विश्वविद्यालयबाट ११ लाख रुपैयाँ असुलेको आरोप लागेको थियो । यद्यपि त्यसको पुष्टि हुन भने सकेन । अहिले फेरि सोही संगठनका नेताहरुले पोखरा विश्वविद्यालयका पदाधिकारीसँग बार्गेनिङ भइरहेको विषय सार्वजनिक गरेका छन् ।

अखिल क्रान्तिकारीका उपाध्यक्ष भुसालले पोखरा विश्वविद्यालयका पदाधिकारीहरुले आफूलाई टेलिफोन गरी क्रान्तिकारीकै नेताले रकमको बार्गेनिङ गरेको बताएको जानकारी दिए । ‘मलाई पोखरा विश्वविद्यालयबाट फोन आएको थियो, फोन गर्ने व्यक्तिले तपाईंको संगठनका नेताले रकमको बार्गेनिङ गरिरहेका छन्, त्यो त राम्रो भएन है भन्नुभयो’, भुसालले भने । यसबारे आफूले संगठनमा कुरा राखेको र औपचारिक बैठकमा छलफल गर्ने भुसालले बताए ।

अखिल क्रान्तिकारीका अर्का उपाध्यक्ष नारायण खनालले पनि पोखरा विश्वविद्यालय र सीटीईभीटीमा अखिल क्रान्तिकारीकै जिम्मेवार नेताले रकमको बार्गेनिङ गरेको पाइएको बताए । यसबारे आफूले अध्यक्ष पञ्चा सिंहको ध्यानाकर्षण गराएको तर ‘रेस्पोन्स’ नपाएपछि सामाजिक सञ्जालमा लेखेको बताए ।

उनका अनुसार पोखरा विश्वविद्यालय र सीटीईभीटीमा विभिन्न माग राख्दै अखिल क्रान्तिकारीले तालाबन्दी गरेको थियो । त्यो ताला सीटीईभीटीले फुटाएको थियो । तर पछि फेरि अखिल क्रान्तिकारीले तालाबन्दी गरेको थियो । यसबारे संगठनमा एकपटक पनि औपचारिक छलफल नहुनु र आर्थिक लेनदेनको कुरा आउनुलाई संयोगमात्र मान्न नसकिने खनालको भनाइ छ ।

‘सीटीईभीटीमा तालाबन्दी गर्ने, फुटाउने र फुटाएको २०-२२ दिनपछि फेरि तालबन्दी गर्ने क्रम चलेको थियो । यसबारे अखिल क्रान्तिकारीमा एकपटक छलफल पनि भएन,’ खनालले भने ।

उनका अनुसार दशैंताका पनि संगठनका जिम्मेवार नेताहरुले आर्थिक लेनदेन गरेको सूचना आएको थियो । पार्टी र संगठनलाई बदनाम बनाउने यस्ता गतिविधि रोकिनुपर्ने उनको भनाइ छ ।

अखिल क्रान्तिकारीको संगठनमा त्रिभुवन विश्वविद्यालय बाहेकका अन्य विश्वविद्यालय हेर्ने गरी राष्ट्रिय समिति छ । राष्ट्रिय समितिको अध्यक्ष संगठनको केन्द्रीय सचिवालय सदस्य सरह रहने व्यवस्था छ ।

पोखरा विश्वविद्यालयमा राष्ट्रिय समितिको अध्यक्ष जीवन खड्का छन् । खड्काले थप कलेजलाई सम्बन्धन दिनु हुँदैन भनेर र एकैपटक बढाइएको ४५ प्रतिशत शुल्क वृद्धि लागू हुनु हुँदैन भनेर आफूहरुले पोखरा विश्वविद्यालयमा तालाबन्दी गरेको बताए । तर रकमको बार्गेनिङ गरेको कुरा सत्य नभएको उनले बताए ।

खड्काले अनलाइनखबरसँग भने, ‘अहिले सम्बन्धन प्राप्त ६० भन्दा बढी कलेज छन् । ती धरासायी अवस्थामा रहेको बेला थप २० कलेजलाई सम्बन्धन बाँड्न लागिएकाले त्यसो गर्न हुँदैन भनेर केन्द्रको निर्देशन अनुसार हामीले तालाबन्दी गरेका हौं । तालाबन्दीका कारण विश्वविद्यालय बन्द छ, कोसँग बार्गेनिङ गर्ने ?’ संगठन भित्रको आन्तरिक विवादको कारण झुटो प्रचार भएको उनको दाबी छ ।

अखिल क्रान्तिकारीको नेतृत्वमा पञ्चा सिंह छिन् । तर नेतृत्व चयन प्रक्रिया र संगठनको गतिविधिप्रति विरोध जनाउँदै पवन कार्की नेतृत्वको समूहले समानान्तर गतिविधि गर्दै आएको छ ।

कार्कीले आफूहरुले संगठनमा गलत भइरहेको छ भन्ने कुरा उठाउँदै आएको अहिले पोखरा विश्वविद्यालय र सीटीईभीटीमा बार्गेनिङ भइरहेको विषय सार्वजनिक हुनुले त्यसलाई पुष्टि गरेको बताए । ‘उहाँहरु (पञ्चा सिंह नेतृत्वको कमिटी) संगठनलाई बलियो बनाउन होइन, यस्तै चलखेलमा हुनुहुन्छ, यो गलत भयो भनेर कुरा राख्दै हामीले हाम्रो छुट्टै गतिविधि गरेका हौं । अहिले त्यो कुराको पुष्टि उहाँहरुकै संगठनका नेताहरुले गर्नु भयो,’ कार्कीले भने ।

उनले आफ्ना गल्ती लुकाउने प्रयासमा अरुमाथि दोष थोपर्न खोजिएको बताउँदै भने, ‘हामी चन्दा असुली, रकमको बार्गेनिङ लगायतका गतिविधिमा संलग्न छैनौं, हुदैनौं । पोखरा विश्वविद्यालय, सिटीईभीटी लगायतका संस्थाहरुलाई त्यस्ता काममा संलग्न नहुन अनुरोध गर्छौं ।’

कार्की समूहका प्रवक्ता उपदेश यादवले विश्वविद्यालयको गुणस्तरीयता, विश्वसनीयता बढाउनको निम्ति आन्दोलन गर्नुको सट्टा उपकुलपति, रजिष्ट्रारलाई भेटेर आर्थिक बार्गेनिङ गर्ने कार्यले सिंगो संगठनको बद्नाम भैइरहेको बताए ।

अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनले यसबारे आफू नबोल्ने बताउँदै अध्यक्ष पञ्चा सिंहलाई सम्पर्क गर्न आग्रह गरे । अध्यक्ष सिंहलाई सम्पर्क गर्न खोज्दा उनको मोबाइल फोन ‘स्वीच अफ’ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?