२५ पुस, काठमाडौं । नेपाल टी-० लिगमा समूह चरणबाटै बाहिरिएको फारवेष्ट युनाइटेडका नेपाली खेलाडीले हालसम्म पनि अनुबन्ध रकमको पैसा नपाएको गुनासो गरेका छन् ।
उनीहरुले टिमका विदेशी खेलाडीले पैसा पाए/पाएनन् जानकारी नभएको तर नेपालका कुनै पनि खेलाडीले पैसा नपाएको बताएका छन् ।
फारवेष्ट युनाइटेडका एक खेलाडीले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘विदेशी खेलाडी र प्रशिक्षकलाई के गरे थाहा छैन तर हामीले एक पैसा पनि पाएका छैनौं ।’
टिमका मालिकले प्रतियोगिता भरीमा पैसा दिने आश्वासन दिएको उनीहरुले बताए । ‘हामीलाई टिम मालिकले नै यो प्रतियोगिताभरीमा आउँछ भन्नु भएको छ’, अर्का एक खेलाडीले भने, ‘क्यानले हामीलाई पैसा दिलाउँछु भनेको छ हामी उसकै भर परेर बसेका छौं ।’
समूह चरणमा ३ खेलमा जित र ७ खेलमा हार सहित अंक तालिकाको पाँचौं स्थानमा रहँदै प्लेअफको मौका गुमाएको फारवेष्टका खेलाडीले यति बेला क्यानको मुख ताक्ने या त मालिकले दिएको भाका कुर्ने भन्दा अर्को विकल्प पाएका छैनन् ।
अफगानिस्तानका हस्मतुल्लाह शाहिदी कप्तान रहेको फारवेष्टमा विनोद भण्डारी, करण केसी, भुवन कार्की, भीम सार्की लगायतका खेलाडी छन् ।
प्रतिक्रिया 4