 
																			२८ पुस, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पद तथा गोपनीयताको शपथ आज लिंदैछन् ।
बुधबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा मुख्यमन्त्री नियुक्त भएका गिरीले आज (बिहीबार) दाङ देउखुरीस्थित प्रदेश प्रमुखको सम्पर्क कार्यालयमा दिउँसो १ बजे शपथ लिने कार्यक्रम तय भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।
एमाले संसदीय दलका नेता गिरी प्रदेश सभाका १० दल मध्ये ७ दल र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।
मुख्यमन्त्रीसँगै सत्ता साझेदार दल माओवादी केन्द्रलाई समेटेर आजै सानो आकारको मन्त्रीमण्डल गठन हुने नेकपा एमाले संसदीय दलका एक सांसदले जानकारी दिए ।
सत्ता साभेदार दलहरुबीच कुन दलले कति मन्त्रालय लिने भन्ने टुंगो नलागेकाले आज विनाविभागीय मन्त्रीहरुले शपथ लिने सम्भावना रहेको ती नेताले बताए । ‘आज मुख्यमन्त्रीसहित एमाले र माओवादी केन्द्रका एक-एकजना मन्त्रीले विना विभागीय मन्त्रीका रुपमा शपथ लिनुहुन्छ,’ उनले भने, ‘यसपछि मन्त्रीमण्डलको विस्तार संभवतः विश्वासको मत लिएपछि हुन्छ होला ।’
स्रोतका अनुसार आज नेकपा एमालेबाट संसदीय दलका उपनेता अर्घाखाँचीका चेतनारायण आचार्य र माओवादी केन्द्रबाट संसदीय दलका नेता जोखबहादुर महराले शपथ लिने छन् ।
नेकपा माओवादी केन्ऽका तर्फबाट मुख्यमन्त्रीका दाबेदार रहेका महरालाई आन्तरिक मामिला तथा कानूनमन्त्री बनाउने एमालेको तयारी छ ।
आचार्यले ग्रामीण, पर्यटन तथा सहरी विकास मन्त्रालय पाउने सम्भावना रहेको स्रोतको दाबी छ । तर माओवादी केन्द्रले अर्थमन्त्रीमा पनि दाबी गरिरहेका कारण अन्तिम टुंगो नलागेको पार्टी प्रदेश कमिटीका एक पदाधिकारीले बताए ।
मुख्यमन्त्री गिरीले यसअघि कायम १४ वटा मन्त्रालय घटाएर ११ भन्दा बढी बनाउन तयार छैनन् ।
एमालेले आफूलाई ४, माओवादीलाई २ र साना दललाई एकएक गरी ११ सदस्यीय मन्त्रीमण्डल बनाउने अडान राखेको छ । तर माओेवादीले सरकारको नेतृत्व छाडेकाले चार मन्त्रालय दावी आफूहरुले पाउनुपर्ने अडान राखेको छ ।
चार सिट रहेको नागरिक उन्मुक्ति तथा ३-३ सिट रहेका जसपा र जनमत पार्टीले संयुक्त मोर्चाबन्दी गरेर धेरै मन्त्रालय हात पार्ने रणनीति अख्तियार गरेकाले मन्त्रालय भागबन्डामा कठिनाइ भएको एमालेका नेताहरु बताउँछन् ।
लुम्बिनीमा नेकपा एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, जनमत पाटी, लोकतान्त्रिक समाजवादी पार्टी र दुई जना स्वतन्त्र सांसद सत्ता साझेदार छन् ।
८७ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक/एक जना गरी २९ जना सांसद प्रतिपक्षमा छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4