 
																			१ माघ, जनकपुरधाम । पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निकालेका सांसद जंगीलाल राय यादव अन्तत: कांग्रेसबाटै मधेश प्रदेशको सभामुखको उम्मेदवार बनेका छन् ।
कांग्रेस संसदीय दलको बैठकले जंगीलाललाई मधेश प्रदेश सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।उनले शनिबार नै सभामुखको लागि मनोनयन दर्ता गराइसकेका छन् ।
कांग्रेस सांसद कुमरकान्त झाको प्रस्ताव र जिवछी देवीको समर्थनमा उनले उम्मेदवारी दर्ता गराएका हुन् । मधेश प्रदेशमा सभामुखका लागि सोमबार मतदान हुँदैछ ।
सर्लाही क्षेत्र नं. २ (क)बाट प्रदेश सभा सदस्यमा चुनाव जितेका जंगीलाललाई कांग्रेसले मंसिर २ गते अनुशासनको कारबाही गरी साधारण सदस्यसमेत नरहने गरि पार्टीबाट निकालेको थियो ।
पाँच दलीय गठबन्धनमा पहिला कुरा नमिल्दा सर्लाही-२ (क) प्रदेश सभामा कांग्रेसबाट जंगीलाल र माओवादी केन्द्रबाट सुनिलकुमार साह उम्मेदवार थिए । पछि गठबन्धनमा भागबन्डा टुंगो लाग्दा माओवादीका उम्मेदवारलाई छाड्नु पर्ने भयो । तर जंगीलाल पछि हटेनन् । जंगीलाललाई कांग्रेसले स्पष्टीकरण सोधेको थियो । तर कुनै जवाफ र ब्याक नभएपछि चुनावको दुई दिनअघि पार्टीले अनुशासनको कारबाही गर्दै पार्टीबाट निकालेको थियो ।
कांग्रेसको केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द प्रसाद ढुंगानाले जंगीलाललाई कारबाही गरी निकालेको विज्ञप्तिमा लेखिएको थियो, ‘आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २००९ मा सलाही जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा १ मा नेपाली कांग्रेस र गठबन्धनबीच भएको सहमती बमोजिमको कार्य नगरेको सम्बन्धमा तपाईलाई स्पष्टीकरण सोधिएकोमा समयभित्र आफ्नो रायसहितको स्पष्टीकरण प्राप्त हुन नआएकोने, तपाईंलाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम पार्टी सदस्यतासमेत नरहने गरी कार्बाही गरिएको व्यहोरा जानकारी गराइन्छ ।’
यद्यपि उनी उम्मेदवार कायमै रहे र जित्न सफल भए । पार्टीले उनको कारबाही समेत फुकुवा गरेको छैन । तर शनिबार उनलाई कांग्रेसले सभामुखको उम्मेदवार बनाएको हो । संसदीय दलको बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
कांग्रेस मधेश प्रदेश सभापति समेत रहेका संसदीय दलका नेता कृष्णप्रसाद यादवले जंगीलालमाथिको कारबाही फुकुवा प्रक्रियामा रहेको बताए । ‘त्यतिबेला रायलाई गठबन्धनको आधारमा कारबाही गर्यो । तर अब गठबन्धन नै रहेन । त्यसले केही फरक पर्दैन । पार्टीभित्र कुराकानी भइसकेको छ,’ नेता यादवले भने, ‘पार्टीले त्यतिबेला निर्वाचन आयोग समक्ष पत्रै पठाएन । त्यो पत्र भए केही समस्या हुनसक्थ्यो । पार्टीले त्यतिबेला गठबन्धनको हिसाबले कारबाहीको प्रकृया मात्र पार्टीले पुरा गर्यो । त्यसले केही फरक पर्दैन ।’
सभामुख पदका लागि रायको प्रतिस्पर्धा सत्ता गठबन्धन घटक नेकपा एमालेका रामचन्द्र मण्डलसँग हुने छ । रामचन्द्र गठबन्धनबाट सभामुखका उम्मेदवार हुन् । कांग्रेस र एकीकृत समाजवादीको समर्थन जंगीलाललाई छ भने त्यस बाहेकका समर्थन मण्डललाई छ ।
प्रदेश सभामा एमालेका २३, कांग्रेस २२, जसपा १६, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका ९/९, एकीकृत समाजवादीका सात सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक जना सांसद छन् । यस्तै पाँचजना स्वतन्त्र सांसद छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4