+
+

रास्वपाबारे निर्वाचन आयोग : ‘कुनै दल दर्ता खारेजको माग गर्ने अधिकार अर्को व्यक्तिलाई छैन’

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २० गते १३:५१
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया । फाइल तस्वीर

२० माघ, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दल दर्ता खारेजी गर्न माग गर्दै परेको निवेदनलाई कानुन बमोजिम टुंगो लगाउने बताएका छन् ।

रास्वपाको दर्ता खारेजको माग गर्दै युवराज सफलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । सोही सन्दर्भमा प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘राजनीतिक दल दर्ता खारेजीको विषय छ, त्यसलाई कानुन बमोजिम टुंग्याउनुपर्दछ ।’

राजनीतिक दल दर्ता सम्बन्धी ऐन र संविधानले कुनै व्यक्तिलाई कुनै अर्को पार्टी खारेज गरिपाउँ भनेर निवेदन दिने अधिकार नदिएको समेत थपलियाले बताए । उनले भने, ‘राजनीतिक दल दर्ता सम्बन्धी ऐनको दफा १२, १३ र संविधानको धारा २७० लाई हेर्नुस् यी व्यवस्थाले कुनै पनि अर्को व्यक्तिलाई कुनै अर्को पार्टी खारेज गरिपाउँ भनेर निवेदन दिने अधिकार दिंदैन । यदि त्यो हुँदो हो त क भन्ने पार्टी खारेज गरिपाउँ भनेर ख भन्ने पार्टीको नेताले निवेदन दिएर हिँड्थ्यो होला नि । त्यसकारण त्यस्तो परिकल्पना गरिएन ।’

त्यस्तो परिकल्पना नगरिनुमा दलीय प्रतिस्पर्धामा आउने दल देश र जनताप्रति प्रतिबद्ध छन् र उनीहरुले बुझाउनुपर्ने कागजात पनि तदनुरुप नै छन् भन्ने विश्वास गरिएको हुनसक्ने उनको भनाइ छ । तर पनि आयोगमा परेका निवेदनलाई कानुन अनुसार समयमै निरुपण गर्ने प्रतिबद्धता उनले जनाए । ‘आयोगमा परेका निवेदनलाई तदनुसार समयमै निरुपण गर्छौं,’ उनले भने ।

विगतमा ४१ वटा दल खारेज गरेको उदाहरण दिंदै उनले भने, ‘त्यसका निश्चित क्राइटेरिया थिए । त्यो क्राइटेरियाभित्र रहेर आयोगले स्पष्टीकरण सोधेर त्यो कुरालाई अगाडि बढाउने कुरा निवेदन गर्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?