
अमेरिकाको मिचिगनमा रहेको पिनट नामक पोथी कुखुरा संसारकै सबैभन्दा बुढो कुखुराको रुपमा गिनिज बुकमा दर्ज भएको छ ।
चल्ला अवस्थामै आमाले छाड्दा झण्डै मृत्युको मुखमा पुगेको पिनटले आफ्नो जीवजनका २ दशक सफलतापूर्वक पार गरेको हो ।
सन् २००२ को वसन्त याममा जन्मिएको यो कुखुराको उमेर गत मार्च १ गते कम्तिमा २० वर्ष ३०४ दिन पुगेको छ ।
मार्सी डार्विन नामकी अवकाशप्राप्त लाइब्रेरियनले आफ्नो घरमा जन्मदेखि नै पालिरहेको यो कुखुरा बान्टाम नश्लको हो । यो नश्लका कुखुराहरु अरु आम कुखुराभन्दा आकारमा केही सानो हुने भएपनि अन्य सबै कुरा समान हुन्छन् ।
कुखुरा पालक मार्सी भन्छिन् -पिनट अहिले कमजोर वृद्ध पोथी बनिसकेकी छिन् तर उनी जिवन्त छिन् ।
उक्त कुखुराको उमेर पशुचिकित्सक डाक्टर जुलिया पार्करले प्रमाणित गरेकी हुन् । पार्कर सन् २००३ देखि नै सो कुखुराको पशु चिकित्सकको रुपमा रहेकी छिन् ।
हाल सबैभन्दा धेरै उमेरको जिवित कुखुराको रुपमा पिनटले गिनिज बुकमा नाम लेखाएको भएपनि पिनट अझै इतिहासमा सबैभन्दा धेरै उमेरसम्म बाँच्न सफल कुखुरा बनिसकेको छैन ।
अहिलेसम्म सबैभन्दा धेरै उमेरसम्म बाँच्ने कुखुराको नाम मफी हो । उक्त अमेरिकन कुखुरा २३ वर्ष १५२ दिन बाँचेको थियो । सन् १९८९ मा जन्मिएको मफीको मृत्यु सन् २०१२ मा भएको थियो ।
हाल गिनिज बुकमा नाम लेखाएको पिनटको बाल्यकाल सुखद रहेन । पिनट बसको अण्डा कोरल्नै छाडेर उसकी आमा अरु चल्ला लिएर गुँडबाट निस्किएको थियो ।
पोथीले छाडेको उक्त चिसो अण्डा सायद मरेको भन्ठानेर मार्सीले त्यसलाई पोखरीमा फ्याँक्नै थालेकी थिइन् । तर त्यसबेला उनले अण्डाभित्रबाट आवाज आएको सुनिन् ।
मार्सी भन्छिन् – मलाई लाग्छ पिनटसँग बलियो बाँच्ने आकांक्षा थियो र मलाई बोलायो ।
उनी आफैले अण्डाको बोक्रा छिलिन् त्यसभित्रबाट उक्त चल्ला निकालिन् । तर मार्सीले कोरलिदिएको त्यो चल्लालाई आफ्नो मान्न पोथी कुखुरा तयार भएन । त्यसैले सुरुका २ वर्षसम्म मार्सीले उक्त चल्लालाई आफ्नो डाइनिङ रुममा सुगाको पिँजडाभित्र राखिन् ।
त्यसपछि पिनट आफै बाहिर निस्किएर अन्य कुखुराहरुसँगै खेल्न तथा बस्न थाल्यो ।
पिनटले आफ्नो ८ वर्षको हुँदासम्म अण्डा पारेको थियो । त्यो भनेको आम पोथी कुखुराले भन्दा १/२ वर्ष बढी हो ।
अहिले पनि मार्सीले घरमा पालेका कुखुराहरु मध्ये धेरै पिनटकै नाती तथा पनाती पुस्ताका कुखुरा हुन् ।
मार्सीका अनुसार प्रजनन उमेरमा रहँदा पिनट निकै आकर्षक थियो र उसलेे लेन्स नामको भालेलाई निकै कम पराउँथ्यो ।
पछिल्ला धेरै वर्षदेखि पिनटलाई बेन्नी नामक एकआँखे भालेले रेखदेख गर्दै आएको छ ।
जाडो याममा पिनट घरभित्र रहेको पिँजडामा आफ्नी १५ वर्षीया छोरी मिल्लीसँगै बस्दछ । पिनटको दैनिकी धेरैजसो खानपिन र सुताईमै जाने गरेको छ ।
पिनट र मिल्लीले मार्सीको काखमा बसेर टेलिभिजन हेर्न समेत मन पराउँछन् ।
guinnessworldrecords.com को सहयोगमा
प्रतिक्रिया 4