+
+

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

जनक विष्ट जनक विष्ट
२०७९ फागुन २१ गते २०:०१

२१ फागुन, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् ।

आइतबार बसेकाे प्रदेशसभाकाे बैठकमा मुख्यमन्त्री शाहले पेश गरेकाे विश्वासकाे मत सम्बन्धी प्रस्तावकाे पक्षमा ४१ र विपक्षमा ११ मत परेकाे हाे ।

सभामुख भीमबहादुर भण्डारीले शाहले पेश गरेकाे प्रस्तावकाे पक्षमा बहुमत सदस्यले मतदान गरेकाे भन्दै प्रस्ताव बहुमतले स्वीकृत भएकाे घाेषणा गरेका हुन् । याे मत ५३ सदस्यीय प्रदेशसभाकाे दुई तिहाइ भन्दा बढी हाे ।

२६ माघमा संविधानकाे धारा १६८ काे उपधारा(३) अनुसार ठूलाे दलकाे हैसियतमा मुख्यमन्त्रीमा नियुक्त भएका शाहलाई कांग्रेसका १९, माओवादी केन्द्रका (सभामुख बाहेक) १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र सांसद डा.तारा जाेशीले विश्वासकाे मत दिएका हुन् ।

२७ पुसमा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि शाह २६ माघमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतमा शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

शाहले विश्वासको मत लिनु भन्दा केही घण्टा अघिसम्म मुख्यमन्त्रीमा आलोपालो र मन्त्रालय भागबण्डामा लिखित सहमती हुने अडान राखिरहेको माओवादी केन्द्र केन्द्रीय कमिटिको निर्देशनपछि मौखिक समझदारीमै विश्वासको मत दिने पक्षमा उभिएको थियो भने भागबण्डामा लिखित प्रतिबद्धता खोजेको नागरिक उन्मुक्ति पार्टीले प्रदेशसभा सदस्यहरुले समेत अन्ततः मौखिक समझदारीमै विश्वासको मत दिएका छन् ।

‘हामीले पार्टीको केन्द्रीय निर्देशनअनुसार मुख्यमन्त्री ज्यूलाई विश्वासको मत दिएका छौं,’ माओवादी संसदीय दलका नेता खगराज भट्टले भने, ‘सरकारको नेतृत्व र भागबण्डाका सम्बन्धमा पनि केन्द्रमा हुने सहमतीअनुसार नै हुन्छ ।’
नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले शाह नेतृत्वको सरकारबाट केही आश पाएकाले विश्वासको मत दिएको बताए ।

‘यो भन्दा अघि हामी फरक गठबन्धनमा थियौं । माननीय रेशम चौधरी लगायतका राजबन्दीको रिहाइ हाम्रो मुख्य माग थियो, अहिले पनि छ तर त्यो बेला सरकारले उल्टै माननीय अरुणकुमार चौधरीलाई पक्राउ गरेर थुन्ने काम गर्‍यो,’ चौधरीले भने, ‘सोही कारण हामीले विश्वासको मत नदिएपछि सरकार ढल्यो । अहिलेको मुख्यमन्त्री ज्यूसँग केही आश भएकाले मत दिएका छौं ।’

चौधरीले यसअघि पार्टीको मागअनुसार मन्त्रालयको भागबण्डाका सम्बन्धमा लिखित सहमती नभए पनि मुख्यमन्त्रीप्रती विश्वस्त भएर मत दिएको बताए । प्रमुख प्रतिपक्षी दलको हैसियतमा पुगेको नेकपा एमालेले भने गुण र दोषका आधारमा सरकारलाई खबरदारी गर्ने बताएको छ ।

‘हामी केही हप्ता अघिसम्म सरकारमा थियौं तर परस्थिती फेरिदा प्रतिपक्षमा पुगेका छौँ । प्रतिपक्षमा पुग्यौ भन्दैमा निराश छैनौं,’ एमालेका प्रदेशसभा सदस्य चक्र मल्लले भने, ‘सत्ता बाहिर भएपनि यो देश र जनताका पक्षमा काम गर्छौँ । यो सरकारलाई गुण र दोषका आधारमा खबरदारी गर्छौँ ।’ मल्लले आफ्नो नेतृत्वको सरकारका नीति तथा योजना अघि बढाउन समेत आग्रह गरेका छन् ।

प्रदेशसभाबाट विश्वासको मत पाएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिएका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो कार्यकालमा जनताले भरोसा र विश्वास दिलाउनेगरी काम गर्ने बताएका छन् । ‘संवैधानिक व्यवस्थाअनुसार मैले विश्वासको मत लिएको छु । विश्वासको मतमा पक्ष र विपक्ष सहभागी हुनुभएका सबै माननीय ज्यूहरुलाई धन्यवाद दिन चाहान्छु,’ शाहले भने, ‘यो बीचमा मैले यहाँका समग्र समस्याका बारेमा बुझ्न अवसर पाएको छु । अहिले यति भन्छु की यहाँका जनतालाई भरोसा र विश्वास दिलाउने गरी काम गर्नेछु ।’

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?