+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

भूकम्पपछि गाउँ फर्किएर कृषिमा रमाउँदै राई दम्पती

रासस रासस
२०७९ फागुन २४ गते १६:३९

२४ फागुन, खोटाङ । लामो समयदेखि काठमाडौँको सिनामङ्गलमा ‘होटल कल्पवृक्ष’ सञ्चालन गरी राम्रो आम्दानी गरिरहेको खोटाङ दिक्तेलका सुमन राईको परिवारलाई विसं २०७२ को भूकम्प गाउँ फर्कने बाहना बन्यो । भूकम्पको धक्का व्यवसायमा पनि पर्‍यो । त्यसैकारण भूकम्पपछि गाउँ फर्किएका राई दम्पतीलाई फेरि काठमाडौँ पस्ने रहर जागेन ।

‘होटलबाट मासिक औसतमा एक लाख रुपैयाँ आम्दानी हुन्थ्यो”, राईले भने, ‘तर भूकम्पका कारण गाउँ फर्किएपछि फेरि काठमाडौँ जान मन लागेन, बरु यतै केही गरौँ भन्ने सोच बन्यो ।’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपाका सुमन र श्रीमती सविताको परिवारले काठमाडौँमा नौ वर्ष बिताएपछि यतिबेला भने गाउँमै व्यावसायिक कृषिमा रमाइरहेको छ ।

‘काठमाडौँ जानुको उद्देश्य छोराछोरीलाई सुविधा सम्पन्न विद्यालयमै पढाऔँ भन्ने पनि थियो, होटल पनि चलायौँ, तर भूकम्पले हामीलाई गाउँ फर्कन प्रेरित गर्‍यो’, सुमन राईले भने । हाल यो दम्पतीले बुइपास्थित छिप्तीमा ‘यलम्बर नमुना कृषि फार्म’ दर्ता गरी कागती खेतीका साथै पशुपालनमा रमाइरहेको छ ।

करिब २० लाख रुपैयाँ लगानीबाट सुरु भए पनि हाल फार्ममा करिब रू एक करोड लगानी भइसकेको छ । कुल ७२ रोपनीमा कागती खेती सुरु गरेका राई दम्पतीले अहिले यसबाट आम्दानी लिन थालिसकेका छन् । छिप्तीमा रहेको खाली जमिनमा राई दम्पतीले उन्नत जातका एक हजार एक सय बोट कागतीका बिरुवा रोपेका छन् ।

यस वर्षदेखि थप २५ रोपनी क्षेत्रफलमा कागतीको नयाँ विरुवा रोप्ने समेत उनीहरुको तयारी छ । कागतीसँगै लिची र कफीको समेत व्यावसायिक खेती उनीहरुले सुरु गरिसकेका छन् । तीन वर्षअघि २२ रोपनीमा क्षेत्रफलमा रोप्नुभएको लिचीले उत्पादन दिन सुरु गरिसकेको छ ।

राई दम्पतीले कागती खेतीमा कामदारका रुपमा गासबासको व्यवस्थासहित मासिक १५ हजार रुपैयाँ तलबमा एक दम्पतीलाई राखेका छन् । ‘निरन्तरको कामका लागि हामीसँगै एक जना दम्पती हुनुहुन्छ भने आवश्यक परेको खण्डमा थप कामदार पनि ल्याउछौँ’, सुमनले भने ।

राई दम्पतीले कागती प्रतिकेजी एक सय ५० देखि दुई सय रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन् । ‘कागतीले उत्पादन दिन थालेको पहिलो वर्ष एक हजार दुई सय केजी बिक्री गर्यौंर’, सुमनले भने, ‘यसवर्ष उत्पादन अझ राम्रो छ, तर कति फलेको छ भन्ने टिपिसकेपछि मात्र थाहा हुन्छ ।’

राई दम्पतीको कागती बगानमा यतिबेला केही बोटमा फूल फुलेका छन् भने केहीमा कागती टिप्न अझै बाँकी छ । दुईजना कर्मचारी फल टिप्न, गोडमेल गर्न र पानी तथा मल हाल्नमै व्यस्त छन् ।

दिक्तेल बहुमुखी क्याम्पसबाट आईएसम्म अध्ययन गर्नुभएका राई दम्पतीले उत्पादन गरेका कागती दिक्तेल बजार र काठमाडौँमा पुग्ने गरेको छ । राई दम्पतीले कागती खेती मात्रै होइन, व्यावसायिकरुपमा राँगा, सुङ्गुर र बाख्रासमेत पालेका छन् ।

‘यस वर्ष चार हजार कफीका बिरुवा रोप्ने तयारी छ’, हिमाली कफी उत्पादक किसान समूहका अध्यक्षसमेत रहेका सुमनले भने, ‘छिप्तीका सबै घरमा कफी उत्पादन गर्ने उद्देश्यले यसवर्ष २५ हजारभन्दा बढी कफीको बिरुवासमेत उत्पादन गरिएको छ ।’

एकजनाले मात्र उत्पादन गरेर आम्दानी लिन सम्भव नभएकाले १५ घरधुरी आवद्ध भएको उनको भनाइ छ । ‘सबैले उत्पादन गरियो भने कम्तीमा एउटा सानो उद्योग सञ्चालन गर्न सकिन्छ’, उनले भने, ‘प्रशोधन नगरी बेच्दा बजार अभाव हुन्छ । थोरै उत्पदन बाहिर पुर्यासउन सकिन्न । त्यसैले सबै घर मिलेर उत्पादन गर्ने उद्देश्यका साथ यसपटक निःशुल्क बिरुवा वितरण गर्ने तयारी गरेका छौँ ।’

एक छोरा र एक छोरीका बुबआमा सुमन र सविताले सन्तानलाई भने काठमाडौँमै राखेर अध्यापन गराइरहेका छन् । छोरी बीबीए अध्ययनरत छिन् भने छोरा पढाइ सकेर रोजगारीका लागि बाहिर जाने तयारीमा छन् ।

एक हजार एक सय ३७ घरधुरी रहेको बुइपाका स्थानीय लिची, कागती, चिया खेती तथा बङ्गुर, कुखुरा, बाख्रा एवम् भैँसीपालन व्यवसायमा आबद्ध छन् । कृषि उत्पादनलाई प्राथमिकतामा राखेर बुइपाका सबै सामुदायिक वनमा व्यवसायिकरुपमा कफी र एभोकाडो खेती गर्ने तयारी गरिएको वडा नं १४ का वडाध्यक्ष दिनेश राईले बताए ।

कृषिलाई पहिलो प्राथमिकता दिएको नगरपालिकाले व्यावसायिक कृषि पेसा अपनाउने किसानलाई अनुदान दिने व्यवस्था गरेको छ । कूल १५ वडा रहेको यस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पकेटक्षेत्र निर्धारण गरेर कृषिमा लगानी गर्ने नगरसभाबाटै नीति तथा कार्यक्रम पारित गरेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?