+
+

महासंघको उपाध्यक्ष पदमा ढकालले गरे उम्मेदवारी घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १४ गते १३:५१

१४ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फका उपाध्यक्षमा हेमराज ढकालले उम्मेदवारी घोषणा गरेका छन् । अहिले देखिएका व्यावसायिक समस्या समाधान र महासंघ भित्र वस्तुगत संघलाई बलियो बनाउनका लागि आफूले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको उनले बताए ।

‘अहिले उद्योगी व्यवसायी जटिल अवस्थामा पुग्दा पनि महासंघले उठाएको जायज मागलाई सम्बोधन गर्न सरकारले चासो दिएन,’ वस्तुगत संघका अध्यक्षहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘महासंघको पुरानो साख जोगाएर उद्योगी व्यवसायीको समस्या सम्बोधन गर्नका लागि मैले वस्तुगततर्फको उपाध्यक्षमा उम्मेदवारी दिएर अघि बढेको छु ।’

महासंघ संचालनमा वस्तुगत संघ र वस्तुगततर्फबाट निर्वाचित भएर गएका केन्द्रीय सदस्यहरुको ठूलो भूमिका रहेको भन्दै सोही अनुरुप सम्मानजनक व्यवहार गरिनुपर्ने उनको भनाइ छ ।

‘प्रायःजसो वस्तुगत संघ केन्द्रमा भएका कारणले पनि महासंघको हरेक गतिविधिमा वस्तुगततर्फबाट निर्वाचित भएर गएका केन्द्रीय सदस्यहरुको ठूलो भूमिका रहँदै आएको छ,’ उनले भने, ‘तर महासंघमा वस्तुगत परिषद्लाई एसोसिएट्सभन्दा कम अर्थात २० प्रतिशतमात्रै मतभार तथा सोही अनुरुप कम अधिकार दिइएको छ ।’

हाल महासंघले वस्तुगत संघहरुको क्षमता अभिवृद्धिमा चासो नदिएको भन्दै आफू उपाध्यक्षमा निर्वाचित भएर गएसँगै सो विषयमा समेत काम गर्ने उनले बताए ।

महासंघमा वस्तुगत तर्फबाट केन्द्रीय सदस्य भएर विभिन्न समितिको जिम्मेवारी लिँदा वस्तुगत संघको हकहितमा थुप्रै काम गरेको जानकारी दिँदै उनले उपाध्यक्ष निर्वाचित भएमा वस्तुगत संघको अधिकार र दायरा ठूलो बनाउने काम गर्ने प्रतिवद्धता जनाए ।

‘नेपालमा वास्तविक रुपमा उद्योग व्यवसाय संचालन गरेर देशको अर्थतन्त्र चलायमान बनाउने भनेको बस्तुगत संघमा आवद्ध रहेका साथिहरुले हो,’ उनले भने, ‘महासंघको ब्रेन भनेको बस्तुगत संघ हो तर त्यसको सदुपयोग गर्न सकिएको छैन ।’ नेपालमा मौलिक वस्तुहरु उत्पादन गरी निर्यात गरेर देशमा डलर भित्र्याएर अर्थतन्त्रमा योगदान दिने काम वस्तुगतसँगले गर्दै आएको भन्दै यसको विकास र प्रवर्द्धनमा सरकारले विशेष चासोका साथै सोही अनुरुप सुविधा दिनुपर्ने उनको तर्क थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?