१० मंसिर, काठमाडौं । नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकालले देशमा कम्पनी, उद्यमशिलता र उद्योग खोल्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।
राष्ट्रिय युवा परिषद्ले बुधवार आयोजना गरेको कार्यक्रममा उनले हाल देशमा राजनितिक दलहरू खुले जसरी उद्योग खोल्ने वातावरण निर्माण गर्नुपर्ने बताएका हुन् ।
हाल देशमा दिनहुँ नयाँ राजनितिक दल खुलिरहेको उल्लेख गर्दै जेनजी आन्दोलनपछि नेपालमा नयाँ राजनीतिक दल खोल्ने प्रतिष्पर्धा नै चलेको बताए । राजनीतिक दल खोल्ने प्रतिस्पर्धालाई व्यङ्ग्य गर्दै उपाध्यक्ष ढकालले कम्पनी, उद्यमशिलता र उद्योग खोल्ने प्रतिस्पर्धा हुनुपर्ने पनि बताए ।
‘जसरी अहिले देशमा दलहरू खोल्नको लागी प्रेरित भइरहेको छ । दिनानुदिन नयाँ दलहरू खोलिराख्नुभएको छ । आगामी यहाँहरूको मेनिफेष्ट्रोमा दिनानुदिन कम्पनी, उद्यमशिलता र उद्योग खोल्नको लागी तपाईहरूको मेनिफेष्ट्रोमा राख्नुपर्छ । किनभने हामीले संचारमा हेर्र्यौं भने कुनैपनि देश पोलिटिक्सले मात्र समृद्धि हुन सक्दैन,’ ढकालले भने, ‘जबसम्म हामीले पोलिटिक्सलाई इकोनोमीसँग सँगसँगै हाल्न सक्दैनौं । कुनैपनि देश समृद्ध हुन सक्दैन भन्ने मलाई लाग्छ । त्यसलेगर्दा म यही मञ्चबाट युवाहरूको आवाजलाई मैले आफ्नो बनाउँदै माननीय मन्त्रीज्यूलाई के भन्न चाहे भने आगामी दिनमा जुन पोलिसि बनाउँछौं ।’
उद्यमशिलता, उद्योग र आर्थिक सुधारलाई राजनीतिक एजेण्डाको मुख्य प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ । उनले आगामी निर्वाचनका लागि राजनीतिक दलहरूले तयार गर्ने घोषणापत्रमा कम्पनी दर्ता, उद्यम सञ्चालन र उद्योग विस्तारलाई सहज बनाउने स्पष्ट नीति समावेश गर्नैपर्नेमा जोड दिए ।
राजनीति केन्द्रित सोचले मात्रै देश विकास गर्न नसक्ने भन्दै उनले राजनीति र अर्थतन्त्रलाई समानान्तर रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।
‘पहिलाको सिष्टम र अहिलेको सिष्टम, अहिलेको थर्ड प्रोसेस चेन्ज भइसकेको कारणले गर्दा यो जेनेरेशनको जुन सिफ्ट छ, जेनेरेशनको ग्याप छ, यो जेनेरेशनलाई आउने हिसाबले हामीले कानून निर्माण गर्नसक्यौं र उनीहरूलाई एक्सेस दिनसक्यौं भने हामी समृद्धिको हिसाबमा धेरै टाढा छैनौं,’ उनले भने, ‘हामीसँग अथाहा सम्भावना छ । दुई ठूला मुलुकको बीचमा हामी जुन लोकेसनबाइ बसिराखेका छौँ । हाम्रो लागी त्यो एउटा सौभाग्य हो । हाम्रो लागि अपरच्युनिटि हो, त्यसले गर्दाखेरी हामी सबैजना मिलेर हाम्रो देशलाई समृद्ध बनाउनपर्छ ।’
प्रतिक्रिया 4